Logo
  • आइतवार, मंसिर १४ २०७७Nov 29 2020

images

भारतीय सेनापतिलाई किन दिने महारथीको उपाधि ?

भारतीय सेनापतिलाई किन दिने महारथीको उपाधि ?

महादीप पोखरेल

१५, कार्तिक २०७७
  • 11.9K
    SHARES

  • भारतीय सेनापतिलाई किन दिने महारथीको उपाधि ?

    महादीप पोखरेल

    सन् १९५० पछि नेपाल–भारतबीच एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको उपाधीबाट बिभूषित गर्ने चलन रहेछ । विशेषगरी भारतमा ४० हजार गोर्खा सैनिक फ्रन्टलाइनमा रहने हुनाले ती सेनाले कहिल्यै बिद्रोह नगरुन् भन्ने भारतको चाहना हुन्छ । अनि नेपालको सेनासँग पनि युद्ध नहोस् भन्ने हेतुले हाम्रा गाउँघरमा टाठाबाठाले सोझो जनजातिसँग मीत लगाएर फाइदा लुटेजस्तै भारतीय सेना चिफले नेपाली सेना चिफलाई पनि मानार्थ दिएर मीत लगाए जस्तै गर्दैआएका हुन् । यो संस्कार चलिरहँदा नेपाली सेना भारतीय सेनाको साँस्कृतिक दास हुने सम्भावना टड्कारो छ । यसमा नेपालले फाइदा लिने भन्दा पनि भारतीय सेनाले नेपालको भूमिमा अड्डा जमाएर बस्दा पनि केही गर्न नसक्ने लाजमर्दो स्थिति छ ।

    यहाँ प्रश्न उठ्छ, अहिलेका भारतीय स्थल सेना चिफले नेपाल र नेपालीलाई हेपेको हुनाले मात्र उनको भ्रमण र मानार्थ उपाधिको बिरोध भएको होइन । बास्तवमा यो चलन नै ठिक होइन । किनभने नेपाल र भारत अलग अलग राष्ट्र हुन् । नेपाल र नेपालीको अपमान गर्ने अहिलेका भारतीय सैनिक चिफलाई त उपाधी त के कुरा नेपाली माटोमा टेक्नै दिन हुन्न । किनकि उनले नेपालको सरकारलाई टेलिभिजनमै चिनियाँ एजेन्टको संज्ञा दिएर अशिष्ट र अमर्यादित गाली गरेको ३ महिनामात्र भएको छ । अन्त्यमा भारतीय हस्तक्षेपबाट नेपाललाई जोगाउने सात सूत्र पेश गर्दछुः

    १. नेपालको सेनापति भारतीय स्थलसेनाको मानार्थ सेनापति र भारतीय स्थलसेनाको प्रमुख नेपालको मानार्थ सेनापति हुने चलन बन्द गरियोस् ।

    २. नेपालका भूतपूर्व सेनापतिलाई भारत सरकारले अवकाशपछिको जीवन बिताउन दिल्लीमा घर वा फ्ल्याट दिने चलन छ । त्यस्तो दान स्वीकार नगरियोस् ।

    ३. गोर्खा भर्तिकेन्द्र तुरुन्त बन्द होस् र त्यहाँ भएका गोर्खा सेनालाई फिर्ता बोलाइयोस् ।

    ४. हतियार र युद्ध सामग्री, रासन र लत्ताकपडाको उच्च ब्यवस्थापनसहित  कम्तीमा २५ हजार नेपाली सेना तत्काल कालापानी, लिपुलेक क्षेत्रमा खटाइयोस् ।

    ५. नेपालले आफ्नो भूमि मिचिएको बिषय ग्राउन्डको बास्तविकता, पुराना लिखत र सन्धिका कागजातसहित अन्तर्राष्ट्रियकरण गरोस्, अन्तर्राष्ट्रिय अदालत जाओस् ।

    ६. भारतीय दूतावासबाट सिधै हुने आर्थिक सहयोग बहिष्कार गरियोस् । नेपालमा रहेर शंकास्पद गतिविधि गरिरहेका भारतीयहरुलाई देश निकाला गरियोस् ।

    ७. पञ्चशीलको सिद्धान्त र असंलग्न नीतिमा आधारित अन्तर्राष्ट्रिय सम्बन्धको बिकास गरियोस् ।

    यो कुटनैतिक प्रयास भनेको नेपालको सन्दर्भमा झूटनैतिक प्रयास हो, प्रधानमन्त्री केपी ओलीको खोक्रो राष्ट्रवाद ‘रअ’ प्रमुख सामन्त गोयल र सेनापति मनोजमुकुन्द नरभणेको रहस्यमय भ्रमणबाट उदांगो भइसकेको छ । ओलीको कूटनैतिक हैसियतबारे धेरै भ्रममा थिए, त्यो भ्रमको पर्दा गोयल र नरभणेको भ्रमण र उनले गरेको खातिरदारीबाट च्यातिएको छ । भारतसँग ओलीको भित्रभित्रै कुरो मिलिसकेको छ । भारतीय खुफिया चिफको नेपाल भ्रमण, प्रधानमन्त्री लगायत केही अमुक नेताहरूलाई भेटघाटले पनि त्यो पुष्टि गर्दछ । अमेरिकी बिदेश मन्त्रीको भारत भ्रमणपछि नै मोदीले नेपालसँग संवाद गर्न कूटनीतिक माध्यम प्रयोग नगरी सेना र खुफिया संयन्त्रलाई अगाडि बढाएका छन् ।

    कालापानी, लिपुलेक क्षेत्रमा अमेरिकी नेतृत्वमा बहुराष्ट्रिय सेनाको अखडा राख्ने गाईगुई हल्ला चलेको कुरा पनि यहाँ हेक्का राख्नुपर्ने हुन्छ । एमसीसी पास गराउनका लागि भएको चलखेल पनि यहाँनेर जोडिन आएको छ ।

    यसबीचमा नेपाल सरकारले भारतीय दूतावासलाई प्रत्यक्ष आर्थिक सहयोग सुबिधा दिएको,,पाठ्यक्रममा वास्तविक नक्सा नछाप्न निर्देशन र कार्यकारी प्रमुखको दशै शुभकामनामा चुच्चे नक्सा गायब भएको कुरा पनि सार्वजनिक भएका छन् । यी कुरा संयोगमात्र त होइनन् होला ?
    यसरी भित्रभित्रै सबै बिषय मिलाइएको भान हुन्छ,तर नेपाली जनता वास्तविकतासँग बेखबर छन् । पक्कै पनि गडबडी भएको छ ।,आशंकाका बादलहरु उत्पात मच्चाउन मडारिरहेको भान हुन्छ ।

    देशलाई अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको खुनी, पाशविक द्वन्द्वमा लैजाने खतरा पैदा भएको छ । मुख्यतः नेपाली जनताले परेपछि चेत्ने हो कि, अहिले नै केही गर्ने हो अह्म सबाल खडा भएको छ ।

    शनिवार, कार्तिक १५ २०७७०७:५४:०७

    महादीप पोखरेल

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]