Logo
  • बिहिवार, मंसिर ११ २०७७Nov 26 2020

images

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

नेपाल फेस

७, कार्तिक २०७७
  • 2.1K
    SHARES

  • गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

    गोरखा । झन्डै चार सय वर्षदेखिको परम्परालाई निरन्तरता दिँदै गोरखा दरबारको दशैंघरबाट काठमाडौंस्थित हनुमानढोकामा फूलपाती पठाइएको छ ।

    शुक्रबार बिहान गोरखा दरबारका कर्मचारी चूडामणि तिवारीले बा२झ ३३२१ नम्बरको गाडीमार्फत फूलपाती हनुमानढोका लगेका हुन् ।

    हनुमानढोका पठाउन तथा गोरखा दरबारको दशैंघरमा भित्र्याउन शुक्रबार बिहानै गोरखा दरबारका सुसारेहरुले अमराई, ठूलो वनलगायत जंगलबाट ९ प्रकारका फूलपाती संकलन गरेका थिए । ‘परपम्परालाई निरन्तरता दिँदै फूलपाती काठमाडौंस्थित हनुमानढोका पठायौँ,’ गोरखा दरबारका पुजारी शारदाप्रसाद भट्टराईले भने, ‘यस वर्ष कोभिड त्रासका कारण धूमधामका साथ कार्यक्रम भएन, विधि पूरा गरी परम्परालाई निरन्तरता दिएका हौँ ।’

    तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरेर हनुमानढोकाबाट राजकाज सुरु गरेसँगै गोरखा दरबारको फूलपाती हनुमानढोका भित्र्याउने प्रचलन सुरु भएको हो । विगतमा तामझामपूर्वक फूलपाती काठमाडौं पठाइने गरे पनि यस वर्ष कोरोना महामारीका कारण सामान्य तबरले पठाइएको हो ।

    सडक सञ्जाल नखुल्दासम्म गोरखाबाट धादिङको केवलपुर–जीवनपुरको पैदलमार्ग हुँदै लैजाने प्रचलन थियो । पहिले एकीकरण पदमार्गबाट काठमाडौं पुर्‍याइने फूलपाती सडक सञ्जाल विस्तार भएसँगै गाडीमार्फत पठाउने गरिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले बताए ।

    शुक्रवार, कार्तिक ७ २०७७११:४१:४४

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]