Logo
  • शनिवार, कार्तिक ८ २०७७Oct 24 2020

images

आजबाट महान चाड दशैं सुरु, घर घरमा जमरा राखिंदै

आजबाट महान चाड दशैं सुरु, घर घरमा जमरा राखिंदै

नेपाल फेस

१, कार्तिक २०७७
  • 1.6K
    SHARES

  • आजबाट महान चाड दशैं सुरु, घर घरमा जमरा राखिंदै

    काठमाडौं । आज घटस्थापना । आजबाट नेपालीको महान पर्व बडादशैं सुरु भएको छ । बडादसैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको उत्तम साइत ११.४६ मा रहेको पंचांग निर्णायक समितिले जनाएको छ ।  आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

    आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जौ (यव) रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ । जौको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

    आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ । दुर्गादेवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवम् आराधना गर्ने परम्परा नेपाली समाजमा छ ।

    दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज लगायत राक्षसलाई बध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना हुन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ । यो बर्ष विश्वब्यापी कोरोना महामारीका कारण नवरात्रीमा हुने शक्तिपीठहरुको पूजाआराधनामा सहभागी हुन भने रोक लगाइएको छ । कोराना महामारी फैलिन सक्ने भएकाले पनि शक्तिपीठहरुमा सहभागी हुन रोक लगाइएको हो ।

    शनिवार, कार्तिक १ २०७७०८:०८:०९

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]