Logo
  • शनिवार, कार्तिक ८ २०७७Oct 24 2020

images

सचिवहरुको एक बर्षमा ३ पटकसम्म सरुवा  

सचिवहरुको एक बर्षमा ३ पटकसम्म सरुवा  

नेपाल फेस

३०, आश्विन २०७७
  • 16.2K
    SHARES

  • सचिवहरुको एक बर्षमा ३ पटकसम्म सरुवा  

    काठमाडौं । पाँच बर्षका लागि जनादेश पाएको केपी ओली नेतृत्वको सरकारले स्थायी सरकार मानिने कर्मचारीतन्त्रको नेतृत्प गर्ने सचिवहरुको सरुवा भने एक बर्षमा तीन पटक गर्दैआएको छ । एउटा मन्त्रालय राम्रोसँग बुझ्नै नपाई सचिवहरुको सरुवा गर्ने क्रमलाई विगतका सरकारको जस्तै अहिलेको सरकारले पनि निरन्तरता दिएको छ ।

    यसको ज्वलन्त उदाहरण हुन्, सचिव यादव कोइराला । प्रधानमन्त्री कार्यालयका सचिव कोइराला ७ महिनाको बीचमा ३ पटक सरुवा भएका छन् । बिहीबार बसेको मन्त्रिप्रिषद बैठकले ९ सचिवको सरुवा गर्दा उनी पुनः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आएका छन् । २०७६ फागुन १८ मा उनी संघीय मामिला मन्त्रालयबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएका थिए । स्वास्थ्य मन्त्रालयबाट २०७७ जेठ १२ मा उनी प्रधानमन्त्री कार्यालयमा सरुवा भएका थिए । प्रधानमन्त्री कार्यालयबाट ७ महिनापछि पुनः उनी संघीयमै पुगेका छन् । कोइरालाले लामो समय विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीका रुपमा अनुभव हासिल गरे पनि उनले कार्यक्षमता देखाउने गृहमन्त्रालयमा भने काम गर्ने मौका पाएका छैनन् ।

    उपराष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएका खगराज बराल पनि एक बर्षको बीचमा ३ पटक सरुवा भएका छन् । उनी २०७६ भदौ २ मा शिक्षा मन्त्रालयबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएका थिए । साढे ६ महिनापछि स्वास्थ्य मन्त्रालयबाट उनी २०७६ फागुन १८ मा उपराष्ट्रपति कार्यालय सरुवा भए । बिहीबार उनी प्रधानमन्त्री कार्यालयमा पुर्याइएका छन् । उनी शिक्षाका क्याडर हुन् ।   

    संघीय मामिला मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमको पनि एक बर्षमा तीन पटक सरुवा भएको छ । उनी २०७६ भदौ २ मा महालेखा नियन्त्रक कार्यालयबाट भूमिब्यवस्था मन्त्रालयमा सरुवा भएका थिए । २०७६ फागुन १८ मा संघीय मामिला मन्त्रालयमा सरुवा भएका थिए । बिहीबार युवा तथा खेलकुद मन्त्रालयमा पुर््याइएका छन् । युवा तथा खेलकुद मन्त्रालयबाट सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका रामप्रसाद थपलियालाई शिक्षा मन्त्रालयमा सरुवा गर्ने निर्णय सरकारले गरेको थियो । तर शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उनलाई मन्त्रालयमा टेक्नै नदिने भनेपछि उनी युवामै थिए । बिहीबार सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएको छ ।  

    त्यस्तै साउन ५ मा भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवबाट अतिरिक्त समूहमा लगिएका केदार न्यौपानेलाई प्रधानमन्त्री कार्यालयमा डेढ महिनापछि कुर्सी दिइएको थियो । कुर्सी पाएको १ महिनामा उनी उपराष्ट्रपति कार्यालयमा पुगेका छन् । लोभी स्वभावका उनी कुनै पनि मन्त्रालयमा लामो समय नटिक्ने सचिवका रुपमा चिनिन्छन् । सहकारी विभागको रजिष्टारदेखि अध्यागमन विभागको महानिर्देशक र सचिव बढुवापछि काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसम्म जहाँ जहाँ कार्यरत रहे, उनको दिलचस्पी मुद्रामा मात्र केन्द्रित हुने गरेकाले पनि उनलाई कुनै पनि मन्त्रीले भरिसक्य रुचाउँदैनन् ।

    भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा उर्जा आयोगका सरुवा गरिएको छ भने सो आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंहलाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । कार्की १७ महिनाअघि भौतिक पूर्वाधारमा सरुवा भएका थिए भने सिंह २०७६ साउनमा सरुवा भएका थिए । काठमाडौं महानगरपालिका सचिव एकनारायण अर्याललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाइएको छ । उनी सचिव बढुवा भएपछि महानगरमा पदस्थापन भएका थिए ।

    सिञ्चाई सचिव रविन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वधार मन्त्रालयमा लगिएको छ । सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी सिंचाई मन्त्रालयमा सरुवा भएका छन् । उनी आगामी २०७७ चैतमा अवकाश हुँदैछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयमा सचिव रिक्त थिए । पर्यटन र खरिद अनुगमन कार्यालय केदारबहादुर अधिकारी र मोहनकृष्ण सापकोटा अवकाशपछि रिक्त भएका हुन् ।   

    शुक्रवार, आश्विन ३० २०७७०९:०१:४१

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]