Logo
  • आइतवार, मंसिर १४ २०७७Nov 29 2020

images

मुटुरोगीहरु किन कोरोनादेखि सतर्क हुनुपर्छ ?

मुटुरोगीहरु किन कोरोनादेखि सतर्क हुनुपर्छ ?

नेपाल फेस

१९, आश्विन २०७७
  • 18.2K
    SHARES

  • मुटुरोगीहरु किन कोरोनादेखि सतर्क हुनुपर्छ ?

       डा. उज्वल न्यौपाने 

    कोरोना भाइरस समूहको सार्स–कोभि–२ (SARS-COV-2) नामक भाइरसले उत्पन्न गराउने कोरोना भाइरस रोग २०१९ अथवा कोभिड–१९ (COVID-19)  हाल विश्वभर फैलिएर करोडौंलाई असर गरिसकेको छ । गतवर्षको डिसेम्बर दोस्रो साता उत्पन्न भएको यस रोगको असरलाई ध्यानमा राखेर विश्व स्वास्थ्य संगठन (WHO) ले २०२० मे महिनामा यो रोगलाई महामारी घोषणा गरेको थियो । यो रोग देखापरेको  झण्डै १ वर्ष हुनै लाग्दासम्म ३ करोड ५० लाख भन्दा बढीलाई प्रत्यक्ष असर गरिसकेको छ भने १० लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

     त्यस्तै यो सामग्री तयार पार्दासम्म नेपालमा समेत ८३ हजार बढी संक्रमित हुँदा ५ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् । कुनै पनि उमेर समूहका व्यक्तिलाई लाग्न सक्ने यो रोग कतिपय जोखिम कारकहरु भएका व्यक्तिमा जटिल रुप लिन सक्छ । यी जोखिम कारकहरुमा बृद्धावस्था, मोटोपन, मधुमेह, उच्च रक्तचाप, विभिन्न खाले मुटुरोग, दम आदि पर्दछन् ।

     के हो मुटुरोग ?

    मुटुरोग आफैंमा विश्वभर मृत्युको प्रमुख कारकमध्ये एक हो । मुटुरोग भन्नाले हृदय तथा रक्तवहिनीनलीमा उत्पन्न हुनसक्ने विभिन्न समस्याहरुलाई भन्ने गरिन्छ । यो रोगमा मुख्यतया प्रमुख रक्तवहिनीनलिहरुमा चिल्लो पदार्थ जम्मा हुने र उक्त नलीमा रगतका चोक्टा बन्नसक्ने खतरा रहन्छ । त्यस्तै अन्य प्रमुख अंगहरु जस्तैः– दिमाग, मृगौला तथा आँखामा जाने नलीहरुमा समेत असर पु¥याउन सक्छ ।

    mutu.jpg

    प्रमुख मुटुरोगहरुमा कोरोनरी धमनी (Coronary Artery) अर्थात हृदयघात, मष्तिष्कघात, परिधीयधमनी रोग (Peripheral Arterial Dissease) तथा महाधमनी रोग (Aortic Disease) पर्दछन् । मुटुरोग उत्पन्न गराउन प्रमुख भूमिका खेल्ने कारकहरु उच्च रक्तचाप, धुम्रपान, उच्चचिल्लोपना, मधुमेह, मोटोपना आदि हुन् । यी प्रमुख कारकहरुमा ध्यान पु¥याउन सकियो भने मुटुरोगको जोखिमलाई नियन्त्रण गर्न सकिन्छ । मुटुरोगमा शरीरको मुख्य अंगहरुमा रगत संचालन गर्ने धमनीहरु साँघुरो भएर अथवा थुनिएर रगत संचालन बन्द हुन्छ र शीघ्र उपचार नपाए मृत्यु हुने जोखिम ज्यादा हुन्छ ।

    मुटुरोगीलाई कोरोनाको असर

    मुटुरोग कोरोना संक्रमणको प्रमुख जोखिम कारकमध्ये एक हो । तथ्यांकअनुसार कोरोना भाइरस समूहले गराउने सार्स (SARS) र मर्स (MERS) रोगहरु लागेका व्यक्तिमा क्रमशः १० प्रतिशत र ३० प्रतिशतमा मुटुरोग देखिएको छ ।

     त्यस्तै बिभिन्न देशहरुमा गरिएको अनुसन्धानअनुसार कोभिड–१९ रोगमा पनि ५–३० प्रतिशतमा मुटुरोग देखिएको छ भने कोरोनाका कारण मृत्य हुनेहरुमा मुख्यतया मुटुरोगी हरु नै रहेका छन् । मुटुरोग लागेका व्यक्तिलाई कोरोना संक्रमणको उच्च जोखिम देखिएको छ तथा जटिल समस्या आउन सक्ने जोखिम पनि त्यति नै धेरै हुन्छ ।

    त्यसैगरी कोरोनाको संक्रमणको क्रममा मुटुको मांसपेशीमा असर पुगेर मुटुरोग उत्पन्न हुनसक्ने जोखिम पनि रहन्छ । साथै कोरोनाका रोगिहरुमाउच्च रक्तचाप पनि मुख्य समस्या रहेको पाइएको छ जुन १५–३५ प्रतिशत संक्रमितमा हुने गरेको देखिन्छ ।

    कोरोना संक्रमित मृतकहरुको मुटुको मांसपेसीमा संक्रमणका तत्वहरु भेटिएको पाइन्छ जसले मायोकार्डियम अर्थात् मुटुको मांसपेसिमा असर गर्छ । त्यस्तै कोरोना संक्रमितमा मुटुमा असर पर्दा बढ्ने तत्वहरुसमेत रगतमा बढेको पाइन्छ । यस्तो अवस्थामा मुटुको चालमा अनियमिततासमेत हुनसक्ने देखिएको छ । यस्ता समस्याहरु देखिने कारण कोरोनाले मुटुबाट उत्पादन हुने एन्जाइममा असर पार्ने तथा रोग प्रतिरक्षा प्रणालीमार्फत् विभिन्न हानिकारक तत्वहरु उत्पादन गरेको हुनसक्छ । साथै कोरोनाले फोक्सोमा हानी गरेपश्चात् मुटुको कार्यक्षमतामा ह्रास आई विभिन्न समस्या उत्पन्न हुनसक्छ । रोग प्रतिरक्षा क्षमता कम भएका व्यक्तिहरुमा संक्रमणको जोखिम बढी हुन्छ । त्यसअन्तर्गत मुटु प्रत्यारोपणमा पनि जोखिम रहेको देखिन्छ । प्रत्यारोपण गरेका व्यक्तिमा रोग प्रतिरक्षा क्षमता कम हुने गर्छ जसका कारण कोरोनाको जोखिम उत्पन्न हुनसक्ने जटिलता तथा मृत्युदर धेरै हुनसक्छ । 

    मुटुरोगका लक्षण

    मुटुरोगका मुख्य लक्षणहरुमा छाती दुख्ने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, मुटुको चाल तीब्र हुने आदि हुन् । कोभिड–१९ ले मुख्यतया फोक्सोमा असर गर्ने हुनाले स्वासप्रस्वासमा समस्या, खोकी आदि अधिकतम देखिन्छ भने केहीमा छाती दुख्ने समस्या नै मुख्य रुपमा देखिन सक्छ । मुटुको चालमा अनियमितता एक मुख्य खतरा हुनसक्ने भएकोले यस महामारीको अवस्थामा स्वास्थ्यकर्मीहरुले मुटुको चाल कम वा बढी हुँदा हुने लक्षणहरु ध्यानमा राख्नुपर्ने हुन्छ । साथै स्वास्थ्य निकायहरुले चालको अनियमिततालाई समयमै एकीन गरि उपचार गर्न योजना बनाउनु जरुरी हुन्छ ।
     त्यस्तै न्यूमोनियालागेका कोरोना संक्रमितमा पनि मुटुरोगको खतरा धेरै रहन्छ । त्यसैले न्यूमोनिया तथा पुरानो मुटुरोगीको उपचारमा पनि हुनसक्ने जटिलता कम गर्न जोखिम निर्धारण गरी उचित उपचार पद्धति अपनाउनु जरुरी छ ।

    कोरोना संक्रमितमा मुटुरोग भएको नभएको एकीन गर्न विभिन्न जाँचहरु सहयोगी हुनसक्छन् । इ.सी.जी.( E.C.G.) बाट प्रायः जसो मुटुरोग पत्ता लाग्न सक्छ भने रगतमा मुटुको क्षति हुँदा बढ्ने तत्वहरुको मात्रा मापन गरेर पनि मुटुमा क्षति भएको पत्ता लाग्छ । मुटुको मांसपेसी टुक्रेर उत्पन्न हुने यी मुटुरोगका तत्वहरु हृदयघातको खतरा एकीन गर्न समेत प्रयोग हुन्छ । त्यस्तै मुटुमा केही क्षति भए नभएको हेर्न इको–कार्डियोग्राफी (ECHO) सहयोगी हुन्छ । यसले मुटुको संरचना र कार्यक्षमतामा समस्या भए नभएको देखाउँछ ।

    उपचार पद्धतिः

    मुटुरोगीको उपचार गर्नुअघि कोरोनाको जाँच गर्नु जरुरी हुन्छ । जसमार्फत् स्वास्थ्यकर्मीले उपचारको क्रममा उचित बचावटका उपायहरु अपनाउन सक्छन् र विरामीको उपचारको पद्धति एकीन गर्न सक्छन् । हृदयघातका बिरामीहरुमा जोखिमको निक्र्योल गर्नुपर्छ र उच्च जोखिममा रहेका बिरामीलाई कोभिड–१९ उपचारमा संलग्न अस्पतालमा इन्भेसिभ (Invasive) उपचारको लागि व्यबस्था मिलाउनुपर्छ । उच्च जोखिममा रहेका बिरामीलाई तुरुन्त उपचार चाहिने हुनाले उनीहरुलाई कोभिड संक्रमित अन्दाज गरी उचित बचावटका तरिका अपनाएर रक्त नलीमा रगतप्रवाह वढाउने उपचारको थालनी गर्नुपर्छ ।

    त्यस्तै मुटुको असफलता भएमा उचित वातावरण र आवश्यक अनुसार आइ.सी.यु. मा राखेर मुटुको चाल, तीब्रता आदिमा परिवर्तन गराउने औषधिहरु प्रयोग गरी सामान्यतया गरिने उपचार गर्न सकिन्छ । त्यस्तै मुटुको चाल स्थीर राख्ने यन्त्रहरु मुटुमा जडान गर्दा संक्रमण हुने जोखिम धेरै हुन्छ तसर्थ उपयुक्त सावधानी अपनाउनु जरुरी छ ।

     त्यस्तै मुटुरोगको उपचारमा प्रयोग हुने अन्य उपायहरु प्रयोग गर्नुअघि जोखिम निर्धारण गरी अत्यावश्यक परिस्थितिलाई प्राथमिकता दिने गर्न सकिन्छ ।

     त्यस्तै उच्च रक्तचापका बिरामीलाई समेत आवश्यकताअनुसार औषधिउपचार गर्न सकिन्छ । अस्पताल सेवाआवश्यक नभएका बिरामीलाई घरमै औषधिमार्फत् रक्तचाप नियन्त्रण गर्न सकिन्छ । त्यस्तै लामो समयदेखि रक्तचाप उच्च रहेका बिरामीमा मुटुरोग र चालसम्बन्धी समस्या आउने हुनाले रगतमा इलेक्ट्रोलाइट्स (Electrolytes) को मात्रा नियन्त्रणमा राख्नुपर्छ । त्यस्ते संक्रमित तथा उच्च रक्तचाप भएका व्यक्तिमा तीब्र मृगौला क्षति भएको पाइएमा रक्तचाप नियन्त्रण गर्ने औषधिहरु रोक्नुपर्ने हुन्छ । तसर्थ उच्च रक्तचाप भएका बिरामीले केही समस्या आएमा स्वास्थ्यकर्मीसंग छलफल गरी उचित उपचार योजना बनाउनुपर्छ ।

    त्यस्तै कोरोना संक्रमितमा रगत नलीमा जम्ने क्षमतामा परिवर्तन हुनसक्ने हुनाले भर्ना भएका बिरामीमा रगत नजम्ने औषधिको प्रयोग पनि गर्न सकिन्छ । यी बिरामीमा फोक्सोमा रगत जम्ने हुनसक्छ जसलाई इ.सी.जी. जाँचबाट पत्ता लगाई उचित औषधि प्रयोग गर्न सकिन्छ । औषधिहरुको प्रयोग गर्नुअघि एन्टिभाइरल औषधिहरुको मुटुरोगमा प्रयोग हुने औषधिहरुसँग के कस्तो अन्तरक्रिया हुन्छ अध्ययन गर्नु जरुरी हुन्छ ।

          कोरोनाका बिरामीमा नयाँ मुटुरोग उत्पन्न हुनसक्ने हुनाले कोरोनाको लक्षण लक्षित उपचार तथा एन्टिभाइरल औषधिहरु जस्तै रेम्डेसिभर (Remdesivir), लोपिनाभिर–रीटोनाभिर (Lopinavir-Ritonavir) को प्रयोग गर्न सकिन्छ ।

     त्यस्तै कोरोनाको जोखिमका कारण बढ्नसक्ने मृत्युदर नियन्त्रण गर्न सरकार तथा विभिन्न निकायले स्वास्थ्य सेवा, आई.सी.यु. सेवा, भेन्टीलेटर सेवा आदिको गुणस्तर तथा उपलब्धता बनाइराख्न उचित उपाय अपनाउन जरुरी हुन्छ ।

    मुटुरोगीले अपनाउनुपर्ने सावधानी

       मुटुरोगीमा कोरोनाका असरहरु धेरै रहेको र जटिलतासमेत रहेका कारण मुटुरोगीले कोरोना लाग्न नदिन बिशेष सतर्कका अपनाउनु जरुरी छ । कोरोनाबाट बच्न बेलाबेलामा हात धुने, मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, लकडाउनको पालन गर्ने जस्ता प्रमुख उपायका साथै आफ्नो रोगको उचित नियन्त्रणको उपाय अपनाउनुपर्छ । स्वास्थ्यकर्मीसँग सहकार्य गरी आफ्नो रोगको उपचारमा के कस्तो सुधार ल्याउने तथा के कस्तो परिस्थितिमा आकस्मिक उपचारको उपयोग गर्ने आदि जान्नु जरुरी छ । त्यस्तै स्वास्थ्यकर्मीले पनि बिरामीको रोग अनुसार जोखिम निर्धारण गरी के कस्तो उपचार प्रणाली उपयोग गर्ने सल्लाह दिनुपर्ने हुन्छ । साथै उच्च रक्तचापतथा मुटुरोगका बिरामीले जटिल समस्या आउन नदिन जीवनशैलीमा सुधार गर्ने, व्यायाम गर्ने, खानपानमा ध्यान पु¥याउने, धुमपान नगर्ने चिल्लो कम खाने आदि गर्नुपर्छ ।

        मुटुरोगीमा कोरोनाले निम्त्याउन सक्ने समस्याहरु भयावह त छन् तर आफ्नो उचित तयारी, उपचारमा नियमितता र समयमै स्वास्थ्यकर्मीको उचित सल्लाहअनुसार दैनिक जीवन पद्धति विकास गर्न सकियो भने समस्याहरुलाई मुख्यतया नियन्त्रण गरी स्वस्थ जीवनयापन गर्न सकिन्छ । 

    (लेखक के.एम.सी. मा प्रशिक्षार्थी चिकित्सकको रुपमा कार्यरत छन्)

    सोमवार, आश्विन १९ २०७७०८:४२:११

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]