Logo
  • बिहिवार, मंसिर ११ २०७७Nov 26 2020

images

ललितपुर महानगरको इन्जिनियर भर्नामा सेटिङः प्रमुख निर्वाचन आयुक्त थपलियाका छोरादेखि शक्तिशालीका आफन्तसम्म

ललितपुर महानगरको इन्जिनियर भर्नामा सेटिङः प्रमुख निर्वाचन आयुक्त थपलियाका छोरादेखि शक्तिशालीका आफन्तसम्म

नेपाल फेस

८, आश्विन २०७७
  • 80.0K
    SHARES

  • ललितपुर महानगरको इन्जिनियर भर्नामा सेटिङः प्रमुख निर्वाचन आयुक्त थपलियाका छोरादेखि शक्तिशालीका आफन्तसम्म

    काठमाडौ । लोकतन्त्रको मूलभूत मान्यता भनेकै पारदर्शी शासन ब्यवस्था हो । तर नेपालमा पंचायतकालमा राज्यका अवसरहरु शक्तिशालीहरुले हडपे, २०४६ को परिवर्तनपछि दरबारिया र कांग्रेसले राज्यका अवसरहरु दोहन गरे । १० बर्षे जनयुद्ध र जनआन्दोलनपछि २०६२–०६३ मा गणतन्त्र त प्राप्त भयो । तर त्यो गणतन्त्रमा पनि हिजोका तिनै पंचायतकालीन मानसिकताका प्रशासकहरुको पकडमा राज्यसंयन्त्र रहेको छ । संविधान र कानुनमा त हरेक नागरिकले समान अवसर पाउने कुरा उल्लेख छ । तर ब्यवहारमा ठीक त्यसको उल्टो हुने गरेको छ भन्ने दृष्टान्त ललितपुर महानगरपालिकाले माग गरेको १४ सिभिल इन्जीनीयरको विज्ञापनलाई नै लिन सकिन्छ ।

    २०७६ मंसिर १७ मा ललितपुर महानगरपालिकाले १४ सिभिल इन्जिनियर सेवा करारमा लिने विज्ञापन माग गरेको थियो । उक्त विज्ञापनमा ३६ इन्जीनीयरले दरखास्त दिएका थिए । लोकसेवा आयोगको सहमतिमा ललितपुर महानगरपालिकाले करारमा भर्ना गर्न लागेका इन्जीनीयरको लिखित परीक्षामा सबै विधिबिधान र प्रक्रिया मिचेर शक्तिशाली प्रशासक र मेयरका आफन्तलाई पास गराइएको छ । र, अन्तर्वार्ताको मिति तय गरी सेटिङ भएअनुसारका शक्तिशालीका आफन्तहरुको नाम निकाल्नका लागि ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन र संघीय मामिला मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमको योजनामा जे जस्तो काम गर्नसमेत पछि नहट्ने बिष्णुप्रसाद कोइरालालाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा लगिएको छ । उनी बलजफ्ती अन्तर्वार्ता गरी सेटिङ भएअनुसारका इन्जीनीयरहरुलाई पास गर्ने सर्तनामा अनुसार महानगरमा पदसथापन भएका हु्न् ।

    अपारदर्शी रुपमा प्रश्नपत्र पहिले नै आउट गरी लिखित पास गरिएका इन्जीनीयरको विज्ञापन नै रद्द गरी पुनः अर्को विज्ञापन गर्न नगर कार्यपालिकाका अधिकांश सदस्यले माग गर्दागर्दै मेयर महर्जन कोइरालाको आडभरोसा लिएर जबर्जस्ती अन्तर्वार्ता गर्न अगाडि सरेका छन् । उनले त्यसका लागि हुँदै नभएको पद खडा गरी नेपाल प्रहरीका पूर्व निरीक्षक सीताराम हाछेथुलाई नियुक्ति दिएका छन् । उनलाई बिरोध गर्नेहरुसँग भिड्नकै लागि डीएसपी सरहको पदमा मेयर महर्जनले नियुक्ति दिएका छन् । यसरी विधि मिचेर हुँदै नभएको पदमा नियुक्ति दिएकोमा वडाध्यक्षहरुले बिरोध गर्दैआएका छन् ।

    दरखास्त दिनेहरुमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशप्रसाद थपलियाका कान्छा छोरा सारांश थपलिया पनि रहेका छन् । सारांशको नाम प्राथमिकतासाथ लिखित परीक्षामा पास गरियो । खाँदबारी–८ संखुवाभाका लक्ष्मणप्रसाद थपलियाका नाति, दिनेशप्रसाद थपलियाका छोरा हुन् सारांश थपलिया ।  अख्तियारका निवर्तमान प्रमुख आयुक्त नवीनकुमार घिमिरे, पूर्वसचिव प्रेमकुमार राई, तत्कालीन ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम भट्टराईका आफन्तहरुसमेतले आवेदन दिएका छन् । दरखास्त दिनेहरुमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र कांग्रेसका शीर्षनेताका आफन्तसमेत रहेको महानगरका एक कार्यपालिका सदस्य बताउँछन् । निर्वाचन आयोगका प्रम्ख आयुक्त दिनेश थपलियाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आफ्नै जिल्ला संखुवासभाका सूर्यप्रयसाद गौतमलाई सचिव बनाएर लगे । प्रेम भट्टराई प्रमुख प्रशासकीय अधिकृतका रुपमा छँदै थिए । अदालतका मुद्दामा बिचौलियाको काम गर्ने भट्टराईले निर्वाचन आयोगका प्रम्ख आयुक्त थपलियाका छोरा सांराशंदेखि अख्तियारका प्रमुख आयुक्त घिमिरेका नातेदार, मेयर चिरिबाबु महर्जनका आफन्त र अन्य शत्तिशालीका सालासाली, भान्जाभान्जी, ज्वाईलाई लिखित परीक्षामा पास गराइदिए । स्वयं भट्टराईले पनि आफ्ना आफन्तलाई आवेदन दिन लगाएकाले उनले लिखित परीक्षामा त्यही अनुसार नाम निकाले । अन्तर्वार्ताको मिति तय भइसकेपछि लिखितमा सेटिङ गरी निर्वाचन आयोगका प्रमुख आयुक्त थपलियाका छोरादेखि शक्तिशालीका आफन्त पास गराएको रहस्य खुल्यो ।

    महानगरपालिकाका केही वडाध्यक्षहरुले चर्को बिरोध गरे । जसका कारण अन्तर्वार्ताको मिति तय गरिसकेको अवस्थामा स्थगित गर्न मेयर महर्जन बाध्य भएका थिए । प्रेम भट्टराईलाई अन्तर्वार्ताको मिति तय गरी शक्तिशाली प्रशासक र नेताका आफन्तलाई पास गराउन दबाब पर्यो । उनले बलपूर्वक गर्न खोजेका थिए, तर उनी यसबीचमा २०७७ साउनमा धनुषाको प्रमुख जिल्ला अधिकारीमा सरुवा भए ।

    मेयर चिरिबाबु र संघीय मामिला मन्त्रालयका सचिव सूर्य गौतमले इन्जीनीयरको अन्तर्वार्ता लिएर नतिजा सार्वजनिक गर्नसक्ने आँटिलो प्रमुख प्रशासकीय अधिकृतको उम्मेदवार खोजी गरे । त्यसक्रममा २०७७ असार १५ गते भोजपुर घर भएका विष्णु कोइरालाले सहसचिवको नियुक्ति लिए । सचिव गौतमले उनलाई ललितपुर पदस्थापन गरिदिए । नयाँ सहसचिव भए पनि राजधानीको स्रोत साधनयुक्त महानगरपालिकामा पदस्थापन हुने भाग्यमानी हु्न् उनी । उनीभन्दा बरिष्ठ धेरै सहसचिव अझै प्रदेशको मुख्यमन्त्री कार्यालय र उपमहानगरपालिकाको चक्कर काटिरहेका छन् । अरु सहसचिव दूरदराजका उपमहानगरपालिकातिर परे पनि उनले भने ललितपुरमै पदस्थापन हुने मौका पाए । उनी सहसचिवको नतिजा नआउँदै आफ्ना समूहका अरु सहसचिवसँग ‘पास चाहिँ हुनुपर्छ, पोष्टिङ त रोजेको ठाउँमा गर्नसक्छु’ भन्ने गर्दथे, उनीसँगै पास भएका एक सहसचिवले भने ।

    कोइरालाले मेयर महर्जन र प्रमुख आयुक्त थपलिया लगायत शक्तिशालीका पुत्रहरुलाई इन्जीनीयर पास गराउने सर्तनामा गरेरै महानगरमा सरुवा भएका थिए । र, वडाध्यक्षहरुको असहमति हुँदाहुँदै बलपूर्वक अन्तर्वार्ता गरी शक्तिशालीका छोरा र आफन्तलाई पास गराउनेतिर लागिसकेका छन् । 

     महानगरपालिकाको इन्जीनीयर पदमा लिखित पास हुनेहरुमा ललितपुर एकान्तकुनाका इदेश कार्की, छत्रदेवी–७ अर्घाखाँचीका युवराज पाण्डे, ललितपुर गोदावरीका सुदीप आचार्य, चौरपाटी अछामका बिक्रम बोगटी, सुनाखानी ३, सिन्धुपाल्चोकका ताराबहादुर थापाका छोरा शैलेश बुढाथोकी, मोरङका प्रशान्त कार्की, बिराटनगरका आश्विन पौडेल, धरानका प्रशान्त उपाध्याय तिमिल्सिना, बेलटार २ का प्रदीप खत्री, सुन्दर हरैंंचा मोरङका पोष्टराज खड्का, अर्घाखाँची सन्धिखर्क १० का अमृत क्षेत्री, भिमाद ८ तनहुँका तारानाथ सिग्देल, कास्कीका अमृत भण्डारी, मोरङका सुजन निरौला, गोकर्णेश्वर ९ काठमाडौंका किरण पोखरेल, ललितपुर गोदावरीका आरोग्यराज ओझा, मिलन घतानी लगायत छन् ।  स्थानीय तहले सेवा करारमा जनशक्ति लिने र पछि तिनैलाई प्रक्रिया पूरा गरेर स्थायी गर्ने भएकाले पनि जागिरमा प्रवेश गर्न ठूलो चलखेल हुने गरेको छ । २०४९ र २०५४ मा नेपाली कांग्रेस र एमालेले भर्ति गरेका कार्यकर्ताहरु २०६२–०६३ को जनआन्दोलनपछि किरियापुत्रीको सेतो कपडा लगाएर  आन्दोलन गरी स्थायी भएका थिए । पहिला जागिरमा छिर्ने र पछि आन्दोलन गरी स्थायी हुने प्रचलन स्थानीय निकायमा हुँदैआएको छ । 

    को हुन् बिष्णु कोइराला ?

    जागिरे जीवनका अधिकांश समय स्रोत साधन सम्पन्न स्थानीय तहमा मात्रै कार्यरत रहेका बिष्णु कोइराला २०६८ मा उपसचिव भएका हुन् । उनको घुसखोर चरित्रका कारण बीरगंजमा हुँदा त उनीमाथि हातपात नै भएको थियो । खान र खुवाउन तथा जोखिम मोल्न पछि नपर्ने उनी नेपाली कांंग्रेसका कार्यकर्ताका रुपमा चिनाउन चाहन्छन् । मदिराका सौखिन कोइराला र सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्य गौतम प्रायः हरेक रात नै खानपिनमा रमाउने जोडीका रुपमा चिनिन्छन् । कोइरालाले सहसचिव बढुवा भएको दिन मदिराले मस्त भएर होहल्ला गरी टोलमै झगडा गरेपछि ४ घन्टा प्रहरीको कष्टडीमा पुगेका थिए । उनलाई कर्मचारीको परिचयपत्र देखाउँदा पनि बुढानीलकन्ठ प्रहरीले ४ घन्टा हिरासतमा राखेको थियो । शिक्षा मन्त्रालयमा सहसचिव हुँदा लोकसेवा आयोगमा सेटिङ गरी आफ्नै श्रीमती इन्दिरा ढकाललाई विद्यालय निरीक्षक पास गराएको आरोप लागेका सामान्य सचिव सूर्य गौतमले नै सहसचिव पास हुनासाथ कोइरालालाई ललितपुर महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेका हुन् ।

     स्रोत साधनमात्र भएका निकायमा काम गरेका उनले अकूत सम्पत्ति आर्जन गरेका कारण त्यसको सदुपयोग गरी भनेको ठाउँमा सरुवा हुनसक्ने शक्तिशाली उपसचिव भनेर चिनिन्छन् । सहसचिव बढुवा भएपछि उनको पहिलो पोष्टिङ नै राजधानीको स्रोत साधनयुक्त ललितपुर महानगरपालिकामा गरियो । पूर्व मुख्यसचिव बिमल कोइरालाका बन्धु उनले कहिल्यै अनाकर्षक ठाउँमा सरुवा हुनुपरेको छैन । कांग्रेसको पालमा बिमल कोइराला र नेकपा आएपछि सूर्य गौतम, प्रेमकुमार राई, दिनेश थपलिया, अख्तियारका सचिव सुरेश अधिकारीका कारण उनी सधै्र भनेको ठाउँमा सरुवा हुन सफल हुँदैआएका छन् । सहसचिव बढुवा भएपछि उनलाई सूर्य गौतम, प्रमुख आयुक्त थपलियादेखि अख्तियारका नवीन घिमिरे, प्रेमकुमार राईहरुकै डिजाइनमा ललितपुरमा लगिएको सामान्य प्रशासन मन्त्रालय स्रोत बताउँछ ।

    प्रशासन संचालनमा भूमिगत गिरोह हावी

    पंचायतकालमा भूमिगत गिरोहले प्रशासन संचालन गर्दैआएको थियो । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले पंचायतकालमा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र र धिरेन्द्र शाहलाई भूमिगत गिरोहको सज्ञा दिएका थिए । रंजनराज खनाल, धनमणि आचार्य जस्ता दरबारका सचिवहरुले भूमिगत गिरोहकै सल्लाहमा प्रशासनयन्त्र संचालन गर्दैआएका थिए । त्यो क्रम २०६४ सम्म पनि हावी छ । २०४६ पछि कांग्रेसको सरकारमा नोना कोइराला र सुजाता कोइरालाको छत्रछायाँमा दामोदरप्रसाद गौतम, पदमप्रसाद पोखरेल, विमल कोइराला, भोजराज घिमिरे, उमेश मैनाली, शंकर कोइरालाहरु हावी भए ।

     गणतन्त्रपछि पहिलोपटक २०७४ मा दुई तिहाईको सरकार बन्यो, तर प्रशासनयन्त्र त्यही दरबारिया भूमिगत गिरोहकै शैलीमा संचालन हुने गरेको छ । राज्यका महत्वपूर्ण ठाउँमा कुन सहसचिव वा सचिवलाई सरुवा बढुवा र नियुक्ति गर्ने निर्णय अहिले पनि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमाल, पूर्वगृहसचिव प्रेमकुमार राई, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, सामान्य सचिव सूर्य गौतमहरुले गर्ने गरेका छन् । उनीहरुका कारण नेकपाको सरकारले अपेक्षित काम गर्न नसकेको जनगुनासो त छँदैछ, बदनामहरु हावी हुँदा सरकार नै असफल हुँदै गएको छ । 

    तस्वीरः माथि बायाँबाट क्रमशः चिरिबाबु महर्जन, दिनेश थपलिया, विष्णुप्रसाद कोइराला, प्रेमकुमार राई, सूर्यप्रसाद गौतम, नवीनकुमार घिमिरे । 

    बिहिवार, आश्विन ८ २०७७०३:५७:२४

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]