Logo
  • आइतवार, आश्विन ४ २०७७Sep 20 2020

images

बैकल्पिक मिडियाको भूमिका र सञ्चारकर्मीको दायित्व 

बैकल्पिक मिडियाको भूमिका र सञ्चारकर्मीको दायित्व 

नेपाल फेस

२५, भाद्र २०७७
  • 12.0K
    SHARES

  • बैकल्पिक मिडियाको भूमिका र सञ्चारकर्मीको दायित्व 

    धनपति सापकोटा

    नेपाली पत्रकारिताको प्रसंग कोट्याउँदा सर्वप्रथम नेपालको लेखनकलाको इतिहास पहिल्याउन जरुरी हुन्छ । हाल प्रचलनमा रहेको देवनागरिक लिपीमा खस भाषा प्रयोग हुन थालेको आधुनिककालमा मात्रै हो । प्राचीनकालका अभिलेखहरु संस्कृत भाषामा लेखिएको पाइन्छ । मध्यकाल तथा उत्तर मध्यकालमा रजना लिपी लगाएतका नेवारी लिपी र भाषाको हकमा नेपाल भाषा प्रयोगमा आएको देखिन्छ ।

    राणा शाहकालमा सरकारी कामकाजमा खस भाषा प्रयोग भए पनि पठन–पाठनको हकमा गुरुकुलीय पद्धतिबाट संस्कृत भाषाकै प्रयोग भएको पाइन्छ । कागजमा धार्मिक साहित्य लेखन कार्य १२ औ शताब्दीबाटै सुरु भएको भए पनि सर्वसाधारणमा लेखन कार्य विस्तार हुन भनेलामो समय पर्खिनु परेको देखिन्छ ।

    देवनागरिक लिपीमा लेखिएको खस भाषाको पहिलो कृति भानुभक्तको रामायण नै मानिन्छ । स्थानीय स्तरमा विद्धानहरुले रचना गरेका राजा महाराजाहरुको स्वस्तिगान लेखन बाहेक सर्वप्रथम पत्रकारिताको नाममा राणा प्रधानमन्त्री देवसमशेरले सन १९०१ मा गोरखापत्रको स्थापना गराएको इतिहास पाइन्छ । एकतन्त्रीय राणा शासनमा शैक्षिक र राजनीतिकचेतनालाई दुश्मनको रुपमा हेरिन्थ्यो । स्थानीय स्तरमा शिक्षाको ज्योति फैलाएको आरोपमा माधवराज जोशीले देश निकाला हुनुपरेको थियो ।

    दरवारीया सामन्तहरुको सानो घेरामा गुरुकुलीय संस्कृत शिक्षा केही मात्रामा चलेको इतिहास छ ।  तर सर्वसाधारण जनस्तरमा शिक्षाको कखराबाट पूर्णरुपमा वचित नै रहनुपर्ने अवस्था थियो । गोरखाभाषा प्रकाशिनी समिति नामको सेन्सर समितिबाट स्वीकृत सामग्रीहरु मात्र प्रकाशन गर्न पाउने राणाकालीन व्यवस्था थियो भने त्यहाँसम्म पहुँच राख्ने समूह पनि सीमित नै थियो ।

    ठीक यसै समयमा छिमेकी मित्रराष्ट्र भारत लगायतका देशहरुमा पश्चिमाहरुको साम्राज्य सँगसँगै भाषा साहित्यको पनि विकास भइरहेको थियो । ब्रिटिसहरुका लागि आवश्यक जनशक्ति तयार गर्ने प्रयोजन कै लागि भए पनि अंग्रेजी भाषाको मध्यमबाट विद्यालय, विश्वविद्यालयहरु संचालनमा आएका थिए । जसको प्रभावबाट सर्वसाधारणमा समेत शिक्षा आर्जनको अवसर मिलेकै थियो । सोही अनुसार पत्रकारिताको पनि विकास हुने नै भयो । ब्रिटिस विरोधी पत्रकारितालाई प्रतिवन्ध लगाए पनि पत्रकारिताको जग हाल्ने कार्य ब्रिटिसहरुकै समयकालमा गरेका थिए ।

    यता हाम्रो देश नेपालमा राणा शासनको समाप्तिपछि पनि पत्रकारिताको स्थिति दयनीय नै रह्यो । स्वतन्त्र पत्रकारिताको विकास हुन पाठकहरुको संस्था पनि पर्याप्त हुन जरुरी हुन्छ । तर त्यस बखतमा नेपालीको साक्षारता प्रतिशत यति न्यून थियो कि प्रकाशनहरुको खोजी गरी अध्ययन गर्ने समूह त झन साँघुरो घेरामा सीमित थियो । राजनीतिक आर्थिक कारणले प्रवासीएका नेपालीहरुबीच बरु केही मात्रामा पत्रकारिता विकास भएको थियो भने पाठकहरुको संख्या पनि बाक्लै थियो । यसरी विकसीत हुँदै गरेको नेपाली भाषाको पत्रकारिताका सामाग्रीहरु निर्वाध रुपमा नेपाल (काठमाडौं) सम्म आइपुगे भने राणा विरोधी भावना विकास हुन्छ भन्ने भयले राणा प्रधानमन्त्री चन्द्र समशेर राणाले हेटौंडाको चिसापानी गडी झञ्ज्याङमा काठमाडौं प्रवेशाज्ञा लिनुपर्ने व्यवस्था साथै सम्पूर्ण सामान चेकजाँच गर्ने व्यवस्थालाई कसिलो बनाएका थिए ।

    २००७ साल देखि २०४६ सालसम्म नेपालको लेखन तथा प्रकाशनमा केही स्तरमा विकास भएता पनि राजनीतिक सामग्रीहरु प्रकाशन तथा प्रसारणमा पूर्णरुपमा प्रतिवन्ध नै रहयो । २०४७ सालको बहुदलीय प्रजातन्त्रको पुनः स्थापनाकालमा नेपाली पत्रकारिताले ठूलै भूमिका खेलेको थियो भने त्यसपछिका दिनहरुमा स्वतन्त्र रुपमा नै पत्रकारिताको विकास भएको अवस्था रह्यो ।

    पञ्चायतकालभरी पत्रकारितामा औपचारिक शिक्षा लिएका मानिसहरुको संख्या औलामा सीमित थिए भने बहुदलीयकालमा यसले ह्वातै फड्को मा¥यो । राष्ट्रिय दैनिक पत्रिका, टेलिभिजन, एफ.एम. रेडियो जस्ता संचार घरानाको विकास पनि यसै कालमा भयो । पत्रकारिताको मूल आदर्शको फेरो पक्रेर पत्रकारिताको अभ्यास गर्ने संस्कृति पनि यसै कालमा विकास गर्ने प्रयत्न गरियो । प्रतिस्पर्धाको दृष्टिमा पनि यो काल अब्बल नै रह्यो । साप्ताहिक रुपमा प्रकाशन हुने पत्रिकालाई सरकारले स्तर निर्धारण गरेर अनुदान नै दिनेसम्मको संरक्षण पनि प्रदान ग¥यो ।

    २०६२÷०६३ को दोस्रो जनआन्दोलनको पाश्र्व भूमिकामा रहेको नेपालको पत्रकारिताको जगमा नै जनआन्दोलन दुई छोटो समयमा सम्पन्न भयो । संविधान निर्माणको संक्रमण कालमा राजनीतिले लिक छोड्न लाग्दा नेपालको पत्रकारिताले दह्रो खुट्टा टेकेर सहि ट्रयाकमा ल्याउन सफल भयो । प्रविधिको विकास सँगै आउने सुविधाको प्रयोग गर्दा संचार जगत छिटो छरितो तथा श्रव्य दृश्य समेतका सामग्रीहरु पस्कदा त्यसको विश्वसनीयता पनि ह्वात्तै बृद्धि हुने हुनाले त्यसको उपयोग भरपुर मात्रमा भएकै पाईन्छ ।

    जव जव नेपालमा मोवाइल सुविधाले करिव करिव नेपालको सम्पूर्ण भूभाग समेट्न सफल भयो र प्रत्येक नेपालीका हातमा एन्ड्रोयड सुविधा सहितको मोवाइलको पहुचमा बृद्धि भयो तव तव विकास भएको इन्टरनेट अनलाइन पत्रकारिता र युटुब पत्रकारिताको अनुमति समेत सरकारले प्रदान ग¥यो । नयाँ प्रविधिको प्रवेश भएको हुनाले यसले नेपाली समाजमा पार्ने साङ्गोपाङ्गो असरको बारेमा पूर्वानुमान लगाएर पहिले नै नियन्त्रत्मक व्यवस्था लागू गर्नु त्यति उचित हुँदैन थियो होला । तर यसको निर्वाध प्रयोगले आजको समाजमा पारेको नकारात्मक असरको वारेमा हामी सबै नेपाली सजग हुन जरुरी भै सकेको छ ।

    सञ्चार माध्यमको परम्परागत साधनको अतिरिक्त वैकल्पिक संचार साधन÷माध्यमको रुपमा आएको इन्टरनेट अनलाइन माध्यमको प्रयोगलाई पत्रकारिताको मुल मर्म तथा आदर्श अनुसार चल्नु पर्दछ भने विचार भएकाहरुले शुरुमै विश्वास गर्न नसकेर हो वा वैकल्पिक मिडियामा आएका सस्ता सामग्रीहरु सँग प्रतिस्पर्धा गर्न नसकेर हो । अनलाइन मिडियाको साख दिनानुदिन घटनुको साथै नेपाली समाजलाई त्यसले पु¥याएको नकारात्मक प्रभाव पनि विचारणीय रहेको छ ।

    मानिसको निजी जीवनसँग सम्वन्धित संवेदनशिल तस्वीर तथा तथ्यहरुलाई सामाग्रीको रुपमा प्रयोग गर्नु, प्रतिस्पर्धी समाजमा आफ्नै प्रतिस्पर्धीको तेजोवध गर्न पत्रकारितालाई प्रयोग गर्नु, अपराधको घटनामा मुछिएका वालवालिका तथा किशोर किशोरीहरुको तस्वीर तथा नाम सार्वजनिक गरेर चरित्रहत्या गर्नु, अमुक नेता तथा पदाधिकारीको सफलता देखाउन उस्को प्रतिस्पर्धीको मानमर्दन गर्नु, अस्वस्थ्य साँठ गाँठका भरमा अमुक पदाधिकारीलाई रातारात अलौकिक किर्तीमानी तुल्याउनु र अमूक व्यक्तिलाई अमुक पदमा आसिन गराउन वा आसिन हुन नदिन रातारात क्याम्पेनिङ चलाउनु, सामाग्रीलाई रोचक बनाउने नाममा नकारात्मक शिर्षक राख्नु,सन्ध्याकालीन भाषामा शिर्षक राखेर पहिलो नजर मै भ्रम दिने कोसिस गर्नु, आफूले उठान गरेको विषयको धरातल गलत भएको पुष्टि हुँदा पनि निशर्त क्षमायाचना नगर्नु, नियोजित र प्रायोजित तरिकाले मिडियालाई प्रयोग गर्नु जस्ता अवगुणहरुलाई हटाउन सके वैकल्पिक मिडियाको रुपमा आएको इन्टरनेट अनलाईन मिडिया पत्रकारिता भोलीको भविष्य हुने थियो । यसको पहुँचको दृष्टिले, लागतको दृष्टिले पनि अन्य माध्यमभन्दा यो सरल छ मात्र खाँचो छ विश्वसनीयताको ।

    संचार माध्यममा आएका सामग्री सतप्रतिशत सत्य हुन भनी जस्ताको तस्तै वुझने नेपाली समाजको मनोविज्ञानको फाइदा उठाई अनलाइन मिडियालेकहिले झूठा सार्वजनिक विदा घोषणा गरीरहेको हुन्छ भने कहिले एसईईको नतिजा नै सार्वजनिक गरिरहेको हुन्छ त कहिले पार्टी एकीकरण गरिरहेको हुन्छ भने कहिले अनायसै पार्टी विभाजन गरिरहेको हुन्छ त कहिले कोही अमुक व्यक्तिलाई मन्त्री बनाई रहेको हुन्छ भने कुनै मन्त्रीको बर्खास्त गरीरहेको हुन्छ । हुँदाहुँदा कहिले नेपाल विद्युत प्राधिकरण जस्तो महत्व पूर्ण संस्थानको जी.एम. नै नियुक्त गरि रहेको हुन्छ भने त्यस्तै अर्को संस्थानको जी.एम. को जागिर खोसिरहेको हुन्छ ।

    अझ लकडाउन अवज्ञा गरेर माइतिघर मण्डलामा आउने प्रदर्शनकारी एकजना मात्रै हुन्छ एक्लै भाषण पनि गरिरहेको हुन्छ । ब्यानर पनि आफ्नै छातीमा टाँसिरहेको हुन्छ त्यस्तो अवस्थाको श्रव्य र दृश्य कैद गर्ने क्यामराको झूण्ड भने ३० भन्दा माथि हुन्छ यस्ता दृश्य देख्दा हाम्रो पत्रकारिताको स्तरप्रति दया लागेर आउँदछ । समाजमा राजनीतिक सामाजिक दृष्टिले शून्यको नजिक हैसियतामा स्थापित भएका केहि व्यक्तित्वलाई युट्युब संवादमा अशिष्ट शैलीमा उत्तारी दोहार्याई तेहर्याई गरेर सामग्री पस्केको देख्दा अझ उदेक लागेर आउँदछ ।

    यूट्युवमा पस्किएका सम्पूर्ण सामाग्री घरपरिवारका सदस्य वीच हेर्न नसकिने खालका हुन्छन् । बाल, युवा तथा जेष्ठ नागरिकहरुबीच पाच्य सामग्री मात्र प्रसारण गर्न बाध्य पार्ने कानूनको अभाव पो भएको हो कि । सम्बन्धित निकायले समयमै नसोचे भोली बेला घर्केपछि टाउको दुखाई हुन सक्दछ । प्रचलित मिडियाले कायम गर्न सकेको मर्यादा स्तर अनुसार नै भोलीको समाजले गन्तव्य निर्धारण गर्ने भएकोले यो विषयलाई गम्भीरतापूर्वक लिनैपर्ने देखिन्छ ।

    र, अन्त्यमा, यी माथिकार यस्तै यस्तै कमीकमजोरीहरुलाई सच्याएर बैकल्पिक मिडियाको रुपमा स्थापित हुन लागेको अनलाइन श्रब्य दृश्य लगाएतका पठनीय श्रुतियोग्य, दृष्टियोग्य सामग्री सम्प्रेषण गर्न सके विश्वभरी रहेका नेपालीहरुवीच छोटो समयमा घटित घटनाहरुलाई सार्वजनिक गरी खुलस्त गर्नु, हाम्रो सामाजिक मूल्यमान्यता, हाम्रो इतिहास विश्वसामु रहेको हाम्रो गौरवमय इतिहास र पहिचानलाई समेत ध्यानमा राखेर दुध र पानी छुट्टाउन सक्ने क्षमता विकास गर्न जरुरी मात्रै छैन कि नेपाली समाजको अवको गन्तव्य समेतलाई हेक्का राखी सामग्री पस्किन सके वैकल्पिक संचार माध्यमको भविष्य सुन्दर हुने सुनिश्चित छ ।

    इतिहास हेर्दा थापाले पाँडे र बस्नेत काटे, वस्नेतले थापा र पाँडे काटे, पाँडेले बस्नेत र थापा काटे, कुवँरले थापा, बस्नेत, पाँडे सबै काटेर शासन लिए पनि यसै समाजभित्र तिनीहरुबीच नै बिहेवारी परी पुरानो तिक्तता त्याग गरी सँगै बस्न सक्ने क्षमाशील मन भएका, सशस्त्र द्धन्द्ध व्यवस्थापन गर्न सक्ने फराकिलो छाती भएका, खुल्ला हृदयको इतिहाँस बोकेका, युग युगान्तरसम्म परतन्त्रको सामना नगरेका, स्वतन्त्र राष्ट्रको नागरिक भई विश्वभर वीरताको पहिचान स्थापित गरेका, कहिले कसैसँग मागेर नखाएको, दिएर खाएको, माओवादी द्धन्द्ध आउनु अघिसम्म एक छाक खान र एक रात वास दिन, आ–आफ्नो गक्ष अनुसार अतिथि देवो भव भन्ने उक्तिलाई चरितार्थ गरेका नेपाली समाजको मौलिक मूल्य मान्यता र पहिचानहरुलाई अक्षुण राख्न नेपालको अनलाईन मिडिया सफल रहोस्, विश्वका अधिकांश देशहरु मध्ये नेपालको समाज मर्यादित छ । यसलाई यहि स्थानमा राखेर सत्य तथ्यको उजागर गर्न सफल रहोस । सम्पूर्ण संचारकर्मीहरुलाई साधुवाद  ।

    (लेखक काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख हुनुहुन्छ ।) 

    बिहिवार, भाद्र २५ २०७७०१:१०:२९

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]