Logo
  • आइतवार, आश्विन ४ २०७७Sep 20 2020

images

मधुमेहका रोगीलाई कोरोना संक्रमणको जोखिम कति हुन्छ ?

मधुमेहका रोगीलाई कोरोना संक्रमणको जोखिम कति हुन्छ ?

नेपाल फेस

१६, भाद्र २०७७
  • 16.8K
    SHARES

  • मधुमेहका रोगीलाई कोरोना संक्रमणको जोखिम कति हुन्छ ?

    डा. उज्वल न्यौपाने 

    कोभिड १९ महामारीको प्रकोप र यसको तीब्र फैलावटले विश्वभरका मानव जातिलाई नै अति प्रभावित गरिरहेको वर्तमान बिषम परिस्थितिमा हाम्रो देश नेपाल पनि यसको चरम प्रभावबाट अलग रहन सकिरहेको छैन ।  महामारीजन्य अवस्थाको नियन्त्रणका लागि देशको मेरुदण्डका रुपमा रहेको स्वास्थ्य क्षेत्र नै सबैभन्दा नराम्ररी प्रभावित भएको यस संकटपूर्ण घडीमा २१ औं शताब्दीकै सर्बाधिक चर्चाको रुपमा संसारभर आतंक मच्चाइरहेको कोरोना भाइरसको संक्रमणबाट हालसम्म झण्डै २ करोड ६० लाखभन्दा बढी सार्स–कोभि–२ (SARS-COV-2) अथवा कोभिड–१९ बाट प्रभावित भइसक्दासम्म झण्डै ८ लाख ५५ हजार ब्यक्तिहरुले ज्यान गुमाइसकेका छन् ।

    तथ्यांक हेर्दा सामान्य मानिस, युवा जनशक्ति तथा दीर्घकालीन रोग नलागेका व्यक्तिमा लक्षण दर र मृत्युदर अत्यन्त न्यूनमात्र देखिएको छ । तर विभिन्न जोखिमकारकहरुको उपस्थितिमा मृत्युदर पनि बढेको पाइन्छ । यस्ता जोखिमकारकहरुमा दीर्घकालीन रोगहरु जस्तैः मधुमेह, क्यान्सर, दम, मुटुरोग, पुरानो मृगौलारोग आदि पर्दछन् । त्यस्तै बृद्ध तथा बालजनशक्ति, मोटोपन, उच्च रक्तचाप, आदिमा पनि जटिल प्रभावहरु पर्नेसक्ने देखिएको छ । तसर्थ कुनै न कुनै दीर्घरोगले ग्रस्त ब्यक्तिहरु कोरोनाबाट थप सतर्क हुनैपर्ने हुन्छ ।

    यसबाट हामीले के बुझ्नु जरुरी हुन्छ भने कोरोना रोग आफैंंले मान्छेको ज्यान एकदमै न्यून रुपमा लिनेगर्छ तर कोरोना लाग्नुपूर्व नै अन्य रोगले ग्रसित भई रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेका ब्यक्तिलाई यसले भेटेमा निको पार्न सामान्य ब्यक्तिलाई भन्दा कठीन हुन्छ । यो छिटो सर्ने र त्यस्ता ब्यक्तिहरुको मृत्युदर धेरै रहेको तथ्यांकले पुष्टी गरेको हुँदा त्यस्ता मानिसहरुले आफूलाई यो रोगले आक्रमण गर्न नदिनका लागि अग्रिम सुरक्षित हुने उपाय अपनाउनैपर्ने हुन्छ ।

     यस लेखमार्फत् आज मैले यी जोखिमयुक्त रोगमध्ये पनि अझै उच्च जोखिममा रहेको मधुमेह रोगका विषयमा चर्चा गर्न गइरहेको छु । मधुमेह के हो, मधुमेहका रोगीलाई कोरोना भाइरस संक्रमणबाट कस्तो असर पार्छ र जोखिम कसरी कम गर्ने भन्ने विषयमा केही जानकारी समेत पस्किेने प्रयास गरेको छु । आशा छ, मधुमेहका रोगीले यस महामारीमा थप सचेत हुन र सुरक्षित रहन यो आलेख पढेर सहयोग पुग्नेछ भन्ने बिश्वास लिएको छु ।

     के हो मधुमेह (Diabetes) ?

    खानेकुराबाट शरीरले ग्लुकोज प्राप्त गर्छ । उक्त ग्लुकोज शरीरका कोषहरुले उपयोग गरेर शरीरको हरेक कार्यमा ऊर्जाको रुपमा प्रयोग हुन्छ । मधुमेहमा रगतमा ग्लुकोजको मात्रा बढ्ने गर्दछ जसले विभिन्न समस्या उत्पादन गर्छ । मानिसको पेटमा अग्न्याशय (Pancreas)  नामक ग्रन्थी हुन्छ, जसले इन्सुलिन (Insulin) नामक हर्मोन उत्पादन गर्ने गर्छ । साधारणतया शरीरमा ग्लुकोजको मात्रा बढेमा उक्त इन्सुलिन सक्रिय भएर रगतमा ग्लुकोजको मात्रा नियन्त्रणमा राख्छ । मधुमेह रोगमा इन्सुलिन हर्मोनमा अनियमितता भई रगतमा ग्लुकोजको मात्रा अनियन्त्रित भएर बढ्ने गर्छ । रोगको कारकको आधारमा मधुमेहलाई प्रकार–१ (Type-1 Diabetes)  र प्रकार–२ (Type-2 Diabetes) मा बिभाजित गरिएको छ ।

    मधुमेह प्रकार–१ स्वतप्रतिरक्षा रोग (Autoimmune disease) हो, जुन मधुमेह रोगीमध्ये १० प्रतिशतमा देखिन्छ । यसमा हाम्रो शरीरको रोग प्रतिरोधी प्रणालीले (Immune System) इन्सुलिन उत्पादन गर्ने कोषमा आक्रमण गर्छ । 
    मधुमेह प्रकार–२, जुन ९० प्रतिशत मधुमेहका रोगीमा देखिन्छ, यसमा शरीरले इन्सुलिनको प्रयोग नै प्रतिरोध गर्छ, जसका कारण शरीरमा ग्लुकोज जम्मा हुने गर्छ । त्यसरी जम्मा भएको ग्लुकोजले आँखा, मृगौला, मुटु, स्नायु तथा अन्य अंगहरुमा प्रभाव पार्छ । प्रकार–२ मधुमेहमा वंशाणुगत प्रभाव रहेको हुन्छ । त्यस्तै मोटोपन, बृद्धावस्था, उच्च रक्तचाप, उच्च कोलेस्टोरोल (Cholesterol) असक्रिय जीवनशैली आदिको पनि प्रकार–२ मधुमेह गराउन प्रमुख भुमिका रहेको देखिन्छ ।

    मधुमेहका लक्षण तथा जटिलता

     मधुमेहमा देखिने प्रमुख लक्षणहरुमा धेरै तिर्खा लाग्ने, भोक लाग्ने र बारम्बार पिसाव लाग्ने पर्दछन् । त्यस्तै अन्य लक्षणहरु तौल घट्नु, आँखा धमिलो देख्ने, ज्यादा थकान महसुस हुन, चोटपटक लाग्दा निको हुन धेरै समय लाग्ने आदि हुन् । यसका साथै पुरुषमा मांसपेसीको तागत कम हुने, कामेच्छा (Libido) घट्ने साथै नपुंसकता समेत हुनसक्छ । त्यस्तै महिलामा पिसावको संक्रमण, त्वचा चिलाउने, बारम्बार संक्रमणहरु देखिरहने हुनसक्छ । रगतमा ग्लुकोजको मात्रा बढी भएर निको हुन कठिनाइ भई यस्तो समस्या देखिने गर्छ । मधुमेहका कारण देखिने दीर्घकालीन प्रभाव तथा जटिलतामा मुटुरोग, हृदयघात, मस्तिष्कघात, स्नायु क्षति, मृगौलाक्षति, आँखाको रेटिना (Retina) क्षति, कानको सुन्ने शक्तिमा ह्रास आउने, खुट्टामा निको नहुने घाउहरु छालाका संक्रमणहरु, डिप्रेशन आदि देखिनेछन् ।

    उपचार पद्धति

    मधुमेहको जाँच गर्न उपवास ग्लुकोज मात्रा (Fasting glucose level) हेरिन्छ जसमा आठ घण्टा खाली पेट रहेर ग्लुकोजको मात्रा नापिन्छ । त्यस्तै ए.वन.सी. (A/C) जाँच पनि मधुमेह जाँच्न प्रयोग हुन्छ, जसले पछिल्लो ३ महिनाको ग्लुकोज मात्रा देखाउने गर्छ । त्यस्तै खाना खाएको २ घण्टामा नापिने पोस्ट–प्राण्डियल (Post-Prandial) ग्लुकोज पनि मधुमेह पत्ता लगाउन सहयोगी हुन्छ । व्यक्तिका लक्षण र रगतको जाँचको माध्यमबाट मधुमेह निदान गरिन्छ । कतिपयमा शारीरिक व्यायाम र उचित भोजनले नै ग्लुकोजको मात्रा सन्तुलन गर्न पर्याप्त हुन्छ ।

    जीवनशैली परिवर्तनको माध्यमबाट रोग नियन्त्रणमा नआएमा औषधोपचार आवश्यक पर्छ । धेरै प्रयोगमा आउने औषधिहरुमा मेटफर्मिन (Metformin),, ग्लिपिजाइड (Glipizide), ग्लिमेपेराइड (Glimeperide)  इन्सुलिन आदि पर्छन् । आवश्यकताका आधारमा एउटाभन्दा बढी औषधि लिनुपर्ने हुनसक्छ । इन्सुलिनको प्रयोग मधुमेह प्रकार–१ को रोकथाममा प्रयोग गरिन्छ भने प्रकार–२ मा पनि केही अवस्थामा प्रयोग गरिन्छ । मधुमेहमा भोजनमा कार्बोहाइड्रेट (Carbohydrate) को मात्रा मापण गरी ग्रहण गर्नु जरुरी हुन्छ ।

    त्यस्तै तौल घटाउने, व्यायाम गर्ने र दिनभरमा थोरै मात्रामा धेरै पटक खाने बानी बसाल्नु पर्छ । मधुमेहका रोगीले खान नहुने भोजनहरुमा गुलियो तरल पदार्थहरु, ट्रान्स फ्याट (Transfat), मह, जंक फूड (Junk food), गुलियो स्वाद भएका खानेकुराहरु, फलफुलका जुस, आलु, चामल आदि हुन् ।

             रोग लागिसकेपछि उपचार गर्नका निम्ति नियमित औषधि सेवन गर्नुपर्ने झन्झटबाट जोगिन रोग लाग्नुपुर्व नै सचेतना अपनाउने र रोकथामका उपायहरु अपनाउनु नै बुद्धिमानी हुन्छ । रोकथामका लागि दैनिक व्यायाम गर्ने, तौल नियन्त्रणमा राख्ने, सन्तुलित तथा स्वस्थ भोजन खाने, चिल्लो मसलेदार खाना कम खाने, चुरोट, खैनी, अल्कोहोलजन्य पेयपदार्थ नखाने, तथा बेलाबेलामा आफ्नो रगतमा ग्लुकोजको मात्रा मापन गर्ने गर्नु जरुरी छ । त्यस्तै बृद्ध तथा बंशाणुगत जोखिममा रहेका व्यक्तिहरुले विशेष ध्यान राख्नु आवश्यक हुन्छ । 

    मधुमेहका रोगीमा कोरोनाको डर

    मधुमेहका रोगीमा ग्लुकोजको मात्रा तलमाथि भइरहने तथा विभिन्न जटिलता देखिने हुनाले भाइरल संक्रमण भयो भने उपचारमा थप समस्या आउँछ । यसका मुख्य कारणमा शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुनु हो जुन मधुमेहको परिणाम हो ।

    त्यसैगरी ग्लुकोजको मात्रा बढी भएको वातावरणमा भाइरस छिटो फस्टाउने हुनाले पनि समस्या देखिन्छ । संक्रमणसँग लड्न शरीरले विभिन्न हर्मोन बनाउँछ जसले ग्लुकोजको मात्रा एकदमै बढाउने गर्छ जसका कारण इन्सुलिनले समेत नियन्त्रण गर्न कठिन पर्छ । त्यसैले मधुमेहका रोगी तथा परिवारले स्वास्थ्यकर्मीसँग सहकार्य गरेर अन्य रोग लागेका बेलामा ग्लुकोजको मात्रा कतिमा राख्ने, औषधिको मात्रा कसरी मिलाउने, आवश्यक परेको बेला यथासक्य छिटो स्वास्थ्य सेवा कसरी प्राप्त गर्न सकिन्छ तथा कति कति समयमा ग्लुकोजको मात्रा नाप्ने भन्ने बुँदाहरुमा छलफल गरी योजना बनाउनुपर्छ ।

    त्यस्तै आवश्यक औषधिको व्यवस्था गर्ने उपाय अथवा लामो समयसम्मको लागि औषधि संकलन गर्ने गर्न सकिन्छ । औषधिको नियमित सेवन, झोल पदार्थ धेरै खाने, तौल सन्तुलनमा राख्ने, ज्वरो नाप्ने आदि गर्नाले संक्रमणका कारण हुने जटिलतालाई समयमै रोक्न सकिन्छ ।

    प्रकार–१ मधुमेहका रोगीले इन्सुलिन नियमित लिने, इन्सुलिनको मात्रा बढाउनपर्ने परिस्थिति बुझेर मात्रा मिलाउने, प्रत्येक चार घण्टामा ग्लुकोज मात्रा नाप्ने, गुलियोको मात्रा नभएको झोल पदार्थ प्रसस्त पिउने र ग्लुकोजको मात्रा ११० देखि १८० भित्र सीमित राख्ने गर्नु आवश्यक रहन्छ । साथै धेरै बान्ता भएमा, २४ घण्टा भन्दा बढी ग्लुकोजको मात्रा अनियन्त्रित भएमा तथा अन्य जटिल लक्षण देखापरेमा तुरुन्त नजिकैको स्वास्थ्य संस्था वा आफ्नो स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुपर्छ । कोरोना (कोभिड–१९) तथा अन्य छिटो सर्ने खालका संक्रमणबाट जोगिन मधुमेहका रोगीले अन्य सामान्य ब्यक्तिले भन्दा बढी स्वास्थ्य सतर्ककता अपनाई तोकिएका नियमहरु पूर्ण परिपालन गरेर आइपर्नसक्ने जटिल समस्याबाट बच्न सकिन्छ । 

    (लेखकः न्यौपाने केएमसीमा इन्टर्न गर्दैछन्)

    मंगलवार, भाद्र १६ २०७७०६:२७:०६

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]