काठमाडौं । नवनियुक्त उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसमक्ष विगतको नेतृत्वले गरेको गलत निर्णय सच्याउनका लागि निवेदन दर्ता गरिएको छ । बिहीबार मन्त्री भण्डारीको सचिवालयमा दर्ता गरिएको निवेदनमा तत्कालीन उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडु र बाणिज्य सचिव गणेश पाण्डेले मापदण्ड बिपरीत कन्सुलर नियुक्ति गरिएका उपसचिवद्वय जनक भट्ट र दुर्गा भूसालको सिफारिस रद्द गर्न माग गरिएको छ ।
त्यस्तै निवेदनमा मापदण्ड बिपरीत भट्ट र भूसाललाई तत्काल फिर्ता गरी मापदण्ड अनुसारको प्रक्रिया सुरु गरी नियुक्ति अगाडि बढाउन माग गरिएको छ । मापदण्ड बिपरीत गरिएको नियुक्ति रद्द गर्न माग गर्दै मन्त्री भण्डारीलाई सम्बोधन गरी दिइएको निवेदनमा उल्लेख छ– उद्योग मन्त्रालयको विगतको नेतृत्व र प्रशासकहरुले गरेका नियुक्ति रद्द गरियोस् । र, मापदण्ड अनुसार नियुक्ति गरियोस् ।
मन्त्रालयले कन्सुलर सिफारिश सम्बन्धी कार्य विधिलाई लत्याउँदै यसअघिको नेतृत्व सचिव गणेश पाण्डेयको सिफारिशमा शक्तिको आडमा उपसचिवद्वय जनक भट्ट र दुर्गा भुसाललाई क्रमशः कोलकता र जेनेभास्थित महाबाणिज्य दूतावासको कन्सुलर पदमा नियुक्तिका लागि मापदण्ड बिपरीत बिनाप्रतिस्पर्धा परराष्ट्र मन्त्रालयमा सिफारिश गरिएको थियो ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव भट्ट र निवर्तमान उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडुका निजी सचिव रहेका भूसालको सो पदमा नियुक्तिका लागि मापदण्ड र प्रक्रिया मिचिएको सो बमोजिम नै दबाव र प्रभावका आधारमा परराष्ट्रबाट नियुक्त पछि तत्ठाउँमा हाजिरी समेत भइसकेकाले मापदण्ड, प्रक्रिया र विधि मिचेर गरिएको नियुक्ति प्रक्रिया खारेज गरी मापदण्ड बमोजिमको नियुक्ति अगाडि बढाइ पाउँ भनी यो निवेदन पेश गरेको छु् ।
उक्त सिफारिश र नियुक्ति सम्बन्धी भएका कार्यको निष्पक्ष छानविन गरी दोषीउपर कारबाही अगाडि बढाउन समेत हार्दिक आग्रह गर्दछु । सो नियुक्ति र सिफारिसका क्रममा विभिन्न सञ्चारमाध्यमबाट भएका खबरदारी सम्बन्धी समाचारहरुको पनि खोजी गरी जानकारी लिन समेत म विनम्र अनुरोध गर्दछु ।
विगतको नेतृत्व र प्रशासकहरुबाट भएको उक्त गलत कार्य यहाँको सक्रियतामा सच्चियो र विधिको शासन स्थापित हुने तथा ती देशसँग भएको द्विपक्षीय व्यापार सहजीकरण गर्ने कार्यमा प्रक्रियाबाट नियुक्त हुने कर्मचारीबाट मात्र सम्भव रहने समेत ध्यानाकर्षण गराइएको छ ।