काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभामा २०५४ सालमा आफूले सभामुखको हैसियतमा एमाले विभाजन नगरेको स्पष्टीकरण दिएका छन् ।
नेता पौडेलले आफू सभामुख हुँदा संसद विघटनको स्मरण गरेका छन्। केही दिनअघि प्रतिनिधिसभा बैठकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले २०५४ सालमा र २०७८ सालमा सभामुखले एमाले विभाजन गरिदिएको आरोप लगाएका थिए ।
पौडेल २०५१ सालको मध्यावधि निर्वाचनबाट सभामुख चयन भएका थिए । आज मंगलबार प्रतिनिधिसभामा नयाँ सभामुख तथा उपसभामुखलाई बधाई तथा शुभकामना दिँदै बरिष्ठ नेता पौडेलले आफ्नो कार्यकालमा संसद विगठन हुँदा गम्भीर चुनौतीको सामना गर्नुपरेको अनुभव सुनाए।
सदनमा प्रतिपक्षमा सहिष्णुता नहुँदा त्यतिबेला संसद विघटन भएको तीतो अनुभव सुनाए। महाकाली सन्धिको समर्थन र विरोधमा रहेका दुई पक्षबीच विवाद हुँदा प्रतिनिधिसभाको त्यतिबेलाको ठूलो दल एमाले विभाजन भएर नेकपा माले गठन भएको थियो ।
नेता पौडेलले आफू सकेसम्म दल विभाजन गर्न हुन्न भन्ने पक्षमा रहेको दावी गरे । ‘मैले राप्रपालाई पनि लोकतन्त्र कलिलै छ, दलहरु फुट्यो भने लोकतन्त्र कमजोर हुन्छ भनेँ’ उनले भने ‘त्यो प्रस्ताव (दल विभाजनको प्रस्ताव) लिएर आएका एमालेका सदस्यहरुलाई मैले त्यही कुरा भनेँ । तपाईंहरुको यो प्रस्ताव दर्ता गर्दिन, म सुदूरपश्चिम गएर आउँछु । सम्भव भएसम्म सहमति गर्नुस् भनेर म सुदूरपश्चिम गएँ ।’