काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोनाम ल्होछार लगायत नेपाली सांस्कृतिक पर्वहरू राष्ट्रिय सम्पत्ति भएको बताएका छन् । आज सोनाम ल्होछार पर्वको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले यहाँ बसोबास गर्ने सबै जाति–जातजातिको आ–आफ्नो भिन्न–भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको बताए । नेपाली जनताले नेपालमा सात दशक लामो लोकतन्त्रका लागि आन्दोलन गरेपछि धर्मनिरपेक्ष, समानुपातिक समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको उनको भनाइ छ । प्रधानमन्त्रीले लोकतान्त्रिक आन्दोलनमा नेपाल तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भूमिकाको उच्च मूल्यांकन र प्रशंसा पनि गरेका छन् ।
‘नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो । ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो । मानव जातिले पशुपालन र कृषिको सुरुआत गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो । यो क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थाल्यो’, प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।