Logo
  • आइतबार, माघ १५ २०७९Jan 29 2023

मिडिया, वकिल र संघ संगठनले समाजलाई बलात्कार मैत्री बनाउन चाहेका हुन् ?

मिडिया, वकिल र संघ संगठनले समाजलाई बलात्कार मैत्री बनाउन चाहेका हुन् ?

images

नेपाल फेस

पुस ३०, २०७९ शनिबार
  • 2.9K
    SHARES

  • मिडिया, वकिल र संघ संगठनले समाजलाई बलात्कार मैत्री बनाउन चाहेका हुन् ?

    उषाकिरण तिम्सिना

    images

    जब–जब बलात्कार आरोपीहरुका बिषयमा कुरा हुन्छ तब–तब हुर्कदै गरेका हाम्रा बहिनीहरु, भदैहरु र सा–साना मेरा साथीका छोरीहरुको अनुहारहरुले मलाई बहुत लखेट्छन्, कतै यिनीहरु यौनहिंसा जस्तो क्रुर हिंसाको सिकार भएर पनि ‘चुप’ बसेका त छैनन् ?? म होस सम्हालेदेखि निरन्तर प्रगतिशील र क्रान्तिकारी भनिने संगठनहरुमा संगठित छु, प्रायः संगठनहरुमा नेतृत्व मै छु र पनि ममाथि यौनजन्य हिंसाको प्रयास भएका छन् । अहिलेसम्म पनि मलाई मन नपर्ने हर्कतहरु कोही– कोही गर्छन् । जसको प्रतिकार वा सामना गर्दै हिड्नुको बिकल्प छैन । यही समाजमा बस्नुपर्छ, लड्नुपर्छ र यही समाज रुपान्तरण गर्ने हो भन्ने आत्मविश्वास छ, जुन आत्मबिश्वास भरिदिने काम भने यही आन्दोलनहरु र समाजले नै भरिदिएको हो । 

    बलात्कार आरोपी ब्यक्ति छुटेका बिषयमा ठूला–ठूला मिडियाहरु, उसको वकिल, ऊसँग सम्बन्धित संगठनहरुका प्रतिक्रियाहरु हेर्दा लाग्छ, समाजलाई बलात्कार मैत्री बनाइनुपर्छ, किन केटीहरु घर बाहिर निस्केको ? किन हिंडेको ? किन १७ बर्षकी भएको ? किन सेलिब्रिटीको पछि लागेको ? जस्ता वाहियात तर्कहरुले किशोरीहरुमा कस्तो प्रभाव पर्ला ? 

    यौनजन्य हिंसाले महिलाहरुलाई कति दुःख दिन्छ ? कति मानसिक दुःख भोग्छन् ? उनीहरुको अन्य बिकासमा कति बाधा पर्ला ?? जिम्मेवार हुने को हो ? कसले हो ? किशोरीहरुको, महिलाहरुको सामाजिक सुरक्षाको जिम्मा लिने ? कसैले ध्यान दिनु पर्दैन ? 

    आज सहरले किशोरीहरुको शोषणको कुन हद पार गरेको छ ? होला ? डान्सबार , स–साना क्याबिन रेस्टुरेण्ट हरु मा काम गर्ने बहिनीहरुका दुस्ख सुनिदिने कोही छ ? तिनलाई न्याय दिने कुनै निकाय छ ? 

    म जस्तै बर्षौं राजनीति गरेकी मेरी साथीले आफू ७–८ बर्षको उमेरका छिमेकी अंकलबाट बलात्कारमा परेको बताई, म धुरुधुरु रोएँ, तर ऊ रोइन र भनी यो समाजमा थोरै मान्छेमात्र अपराधी होइनन्, अपराधिक समाजमा बसेर के रुनु ? मैले त्यो अपराधीलाई क्षमा दिएँ, होइन भने अगाडि बढ्न गार्हो हुने बताई, उसले यस्तो बताएदेखि धेरै समय उसको कुराले झस्काइरह्यो । 

    कोही महिला र किशोरी र बालिकाहरु आफूमाथि भएका हिंसा किन चुपचाप सहन्छन् ? यो गम्भीर बिषय हो । आजका मिडिया, दलहरु, सरकार, प्रहरी, प्रशासन समग्रमा समाज महिलामैत्री छ ? १७ बर्षकी किशोरीले पहिलो पटक भेटेको ‘सेलिब्रेटी’ले अनेकौँ बहाना बनाएर बलात्कार गरेको र त्यसकारण न्याय मागेको बिषयलाई लिएर ती अबोध किशोरीलाई ‘बेस्या’ करार गर्न जसरी मोरल पुलिसहरु लागेका छन्, यो अत्यन्त खेदजनक छ ।

    ( नेकपा एमालेकी केन्द्रीय सदस्य तिम्सिनाको फेसबुकबाट साभार)

    सम्बन्धित समाचार