Logo
  • शनिवार, श्रावण २४ २०७७Aug 08 2020

images

सरुवा भएका सबै सचिव हाजिर, सचिव थपलियालाई शिक्षामन्त्रीको रातोबत्ती

सरुवा भएका सबै सचिव हाजिर, सचिव थपलियालाई शिक्षामन्त्रीको रातोबत्ती

नेपाल फेस

१५, श्रावण २०७७
  • 3.4K
    SHARES

  • सरुवा भएका सबै सचिव हाजिर, सचिव थपलियालाई शिक्षामन्त्रीको रातोबत्ती

    काठमाडौं । सरकारले साउन ५ मा ७ सचिवको सरुवा र पदस्थापन गरेको थियो । सरुवा र पदस्थापन भएका सचिवहरु सबैले पदबहाली गरिसकेका छन् । तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएका सचिव रामप्रसाद थपलिया सरुवा भएको १० दिनसम्म पनि हाजिर भएका छैनन् । उनलाई शिक्षामा हाजिर गराउने पक्षमा मन्त्री गिरिराजमणि पोखरेल नै सकारात्मक नभएकाले उनी युवा तथा खेलकुद मन्त्रालयमै रमाइरहेका छन् ।

    थपलियालाई मन्त्री पोखरेलले रेडलाइट देखाएपछि शिक्षामा अर्कै सचिव जाने संभावना बढेको छ । निर्णय क्षमतामा कमजोर र जागिरे जीवनको लामो समय लेखामा काम गरेका थपलिया लोभी स्वभावका भएकाले पनि उनलाई मन्त्री पोखरेलले नरुचाएको स्रोत बताउँछ ।उनीसँगै सरुवा भएका सचिवहरु हरिप्रसाद बस्याल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा हाजिर भइसकेका छन् । तोयम राय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा र टेकनारायण पाण्डेले भूमिब्यवस्था मन्त्रालयमा पद सम्हालिसकेका छन् ।

    त्यस्तै नयाँ बढुवा भएका सचिव विष्णुप्रसाद नेपाल गण्डकी प्रदेशमा र मानवबहादुर विक बागमती प्रदेशको सचिवमा हाजिर भइसकेका छन् । तर थपलिया भने शिक्षा मन्त्रालयमा १० दिनसम्म पनि हाजिर नभएकाले उनको शिक्षा मन्त्रालयको बाटो रोकिएको चर्चा सुरु भएको छ । कतिपयले भने थपलियाको सरुवा शिक्षा मन्त्रालयमा नभएको भन्दैआएका छन् । तर साउन ५ को मन्त्रिपरिषद बैठकको निर्णयको हवाला दिंदै थपलियाको सरुवा शिक्षा मन्त्रालयमा भएको समाचार यत्रतत्र सार्वजनिक भएको थियो ।

    मन्त्रीभन्दा सचिवको लामो भाषण र निर्देशन

    युवा तथा खेलकुद मन्त्रालयमा बुधबार आयोजित राष्ट्रिय खेलकुद परिषद (राखेप)का पदाधिकारीको सपथको कार्यक्रममा सदस्य सचिव सिलवाल, उपाध्यक्ष कोइराना र मन्त्री विश्वकर्माले छोटो छोटो मन्तव्य राखेका थिए । तर कार्यक्रमको अन्तिममा बोलेका मन्त्रालयका सचिव रामप्रसाद थपलियाले लम्बेतान भाषण चर्चाको बिषय बनेको छ ।
    सचिव थपलियाले नवनियुक्त राखेप पदाधिकारीसँगै राखेप कर्मचारीलाई आ आफ्नो दायरा ख्याल गर्न आग्रहपूर्वक चेतावनी दिन भ्याएका थिए । राखेप पदाधिकारीले विगतमा भाषण गर्ने क्रममा हचुवामा बोल्ने गरेकोतर्फ संकेत गर्दै उनले भने, ‘पदाधिकारीले जहाँ गयो त्यहीँ गएर रंगशाला बनाइदिन्छौं भनेर नबोल्दिनु होला । खेलकुद सीमित साधन श्रोतबाट चल्नुपर्ने बाध्यता छ । मन्त्रालयकै बजेट कम भएपछि त्यहीँबाट खेलकुदमा जाने भएकाले घोषणा गरे जसरी बजेट दिन कठिन हुन्छ ।’
    राखेपका कर्मचारीका विषयमा मन्त्रालयमा विभिन्न कोणबाट टिकाटिप्पणी हुने गरेकोतर्फ संकेत गर्दै सचिव थपलियाले भने, ‘राखेपका साथीहरुले कार्यसम्पादनमा सुधार गर्नु पर्दछ । अब हिजोकै ढंगले अघि बढ्न सकिन्न । विगतमा कर्मचारी पनि पदाधिकारी पनि रहेको स्थिति थियो । नयाँ ऐनले कर्मचारी र पदाधिकारीलाई प्रष्ट छुट्याउने अवधारणा ल्याएको छ ।’
    खेलकुदमा समस्या ल्याउनेमा त्यहीँका कर्मचारीको भूमिका रहेको भन्ने आरोप लाग्ने गरेको उल्लेख गर्दै त्यहीँ भएका कारणले कर्मचरी र पदाधिकारीमा डिमार्केसन आवश्यक रहेको र ऐनले त्यसलाई व्यवस्थित गरेको थपलियाले बताएका थिए ।

    न्यौपाने किन हुत्याइए अतिरिक्त समूहमा ?

    भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवबाट अतिरिक्त समूहमा खेदिएका सचिव केदार न्यौपाने भने मन्त्री पदमा अर्यालका निकट ब्यक्तिहरुसँग ‘मैले के बिराएँ, यस्तो अपमान गरियो’ भन्दै गुनासोमै तल्लीन छन् । तर उनी उपसचिव हुँदा काठमाडौंको एलडीओ हुँदादेखि नै कार्यक्षमतामा कमजोर र घुस र अरु थोकै मामिलामा पोख्त भनेर चिनिएका सचिव हुन् । सहसचिव भएपछि सहकारी विभागको रजिष्टार, अध्यागमन विभागको महानिर्देशक हुँदा पनि उनको घुसखोर चरित्र उजागर भएकै हो ।

    सचिव भएपछि काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन भएका उनी त्यहाँ पनि विगतको प्रवृत्तिबाट मुक्त हुन सकेनन् । फलस्वरुप मेयर विद्यासुन्दर शाक्यले प्रधानमन्त्री केपी ओलीलाई नै भेटेर ‘बरु उपसचिव भए पनि हुन्छ, तर न्यौपानेलाई राख्दा महानगरपालिका बदनाम भयो’ भनेर अर्को सचिव पठाउन अनुरोध गरेका थिए । झापा घर भएकै कारण सचिव सरुवा गर्ने मन्त्रीहरुको टीममा रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले न्यौपानेलाई भूमिब्यवस्था मन्त्रालयमा सरुवा गरे । भूमि ब्यवस्थामा सरुवा भएपछि मन्त्री अर्यालकोमा सहसचिवहरु गए पनि रिसाउने र किन मन्त्रीकोमा गएको भनेर हप्कीदप्की गर्ने गर्न थाले ।

    मालपोत र नापी कार्यालयका प्रमुख र खरिदार नासुसँग पनि ‘के छ, खुब कमाइ छ रे, मलाई भेटेको खै’ भन्दै फोन गर्ने बोलाएर हैरान पार्ने, सरकारी जग्गा दर्ता गर्ने भूमाफियाहरुसँग होटल होटलमा भेट्ने गर्न थालेको सूचना पाएपछि मन्त्री अर्यालले उनलाई तत्काल सरुवा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गरेपछि उनी अतिरिक्त समूहमा पुगेका छन् । उनलाई कुनै पनि मन्त्रीले नरुचाउने भएकाले पनि सचिवजस्तो पदको ब्यक्तिलाई सरकारले अतिरिक्त समूहमा राखेको छ ।

    चन्द्रमान हिस्स

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति आर्जन गरेको आरोपमा २०७५ पुस २५ मा दायर गरेको मुद्दा २०७६ असारमा जितेपछि सहसचिव चन्द्रमान श्रेष्ठ पनि सचिव बढुवाका दाबेदार भए । उनी बरिष्ठतामा गोकर्णमणि दवाडीभन्दा पनि अगाडिका हुन् । तर मन्त्रिपरिषदको सोमबारको बैठकले बरिष्ठ सहसचिव श्रेष्ठ र दुवाडीलाई बढुवा नगरी तेस्रो बरियताका मधु मरासिनीलाई सचिवमा पदोन्नति गरेको छ । नेकपाका नेता र मुख्यसचिव लोकदर्शन रेग्मीले मरासिनीलाई च्यापेपछि श्रेष्ठ हिस्स परेका छन् । चन्द्रमान श्रेष्ठले नेकपाका नेता नारायणकाजी श्रेष्ठदेखि गण्डकीका नेताहरु प्रयोग गरे पनि उनी सचिव बढुवा हुन सकेनन् । अब असोज अन्तिममा केदार न्यौपाने, मोहनकृष्ण सापकोटाहरुको अवकाशपछि मात्र सचिव पद रिक्त हुनेछन् ।

    तस्वीरः रामप्रसाद थपलिया, केदार न्यौपाने, चन्द्रमान श्रेष्ठ र मधु मरासिनी

    बिहिवार, श्रावण १५ २०७७०९:५६:१८

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]