Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • छानबिन हुने भएपछि रातारात कवाडी थुपार्दै प्रहरी हाकिम


    मंगलबार, साउन १३ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  •  

    चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख इन्स्पेक्टर दयाकृष्ण भट्टले मुचुल्कासमेत नउठाई पुराना मोटरसाइकल र साइलेन्सर पाइपसम्म सुटुक्क एक वर्कसपलाई बिक्री गरेको समाचार नेपालफेसले सार्वजनिक गरेपछि बागमती प्रदेश प्रहरी र प्रदेश ट्राफिक प्रहरीले खोजीनीति सुरु गरेका छन् ।

    चितवन ट्राफिक प्रहरी कार्यालयले २०७६ चैत पहिलो साता कारबाहीमा ल्याइएका पुराना मोटरसाइकल र साइलेन्सर पाइपसम्म कवाडीमा बिक्री गर्यो । एक ट्रक पुराना मोटरसाइकल र साइलेन्सर पाइप एउटा वर्कसपलाई बिक्री गरी आम्दानी बाँध्नुपर्नेमा त्यसो नगरी कार्यालयका प्रमुख दयाकृष्ण भट्टले नै लिएको आरोप लागेको छ । नेपालफेसमा समाचार प्रकाशित भएपछि बागमती प्रदेश प्रहरीका प्रमुख वसन्त लामाले पुराना मोटरसाइकल लगायतका सामान बिक्री गरेकोबारेमा चासोका साथ छानबिनका लागि टोली पठाउन लागेका छन् । छानबिनका लागि टोली आउने सूचना पाएपछि ट्राफिक प्रमुख भट्टले वडा प्रहरी कार्यालय नारायणगढका इन्स्पेक्टर रविनबाबु रेग्मीसँग मिलेर भरतपुरका कवाडीबाट राति राति सामान उठाउँदै कार्यालय परिसरमा थुपारिरहेका छन् । उनले ४ दिनदेखि ट्राफिक प्रहरी कार्यालयमा पुराना मोटरसाइकल, साइलेन्सर पाइप थुपारेका छन् ।

    कवाडी बिक्री गरेकै छैन भनेर प्रदेश प्रहरीको टोलीलाई आँखामा छारो हाल्न उनले वप्रकाका इन्स्पेक्टर रेग्मीको सहयोगमा रातारात कार्यालय परिसरमा कवाडी थुपारेको प्रहरी स्रोतले बताएको छ । स्रोतका अनुसार प्रदेश प्रहरीले चासो देखाएपछि वप्रकाका प्रमुख रेग्मीको निवासमा राति राति ट्राफिकका दयाकृष्ण भट्ट, असई कृष्ण ठकुरी र संचारका हवल्दार विश्व नेपाल बसी कवाडी मोटरसाइल जस्ता सामान संकलन गरेका छन् ।

    प्रहरी निरीक्षक भट्टले चितवनमा ट्राफिक प्रहरी स्थापनादेखिकै दुर्घटनामा परेका मोटरसाइकल र कारबाहीमा परी झिकिएका साइलेन्सर पाइपहरु बिक्री गरेका थिए । मुचुल्का समेत नउठाई उनले सुटुक्क १ ट्रक सामान बिक्री गरेका थिए । उनले मुचुल्का नउठाई सामान बिक्री गरेकोबारेमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाको अख्तियार, प्रहरी प्रधान कार्यालय र प्रदेश ट्राफिक प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

    यो पनि पढ्नुहोस्ः

    •  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार