Logo
  • बिहीबार , असार २३ २०७९Jul 07 2022

वकिल कुट्ने ‘डन’लाई प्रधानमन्त्रीका पीए भानु देउवाको संरक्षण , कार्कीमाथि मुुद्दा हेरेकै कारण कांग्रेस नेता दर्नालद्वारा आक्रमण

वकिल कुट्ने ‘डन’लाई प्रधानमन्त्रीका पीए भानु देउवाको संरक्षण , कार्कीमाथि मुुद्दा हेरेकै कारण कांग्रेस नेता दर्नालद्वारा आक्रमण

नेपाल फेस

जेठ ३१, २०७९ मंगलबार
  • 3.2K
    SHARES

  • वकिल कुट्ने ‘डन’लाई प्रधानमन्त्रीका पीए भानु देउवाको संरक्षण , कार्कीमाथि मुुद्दा हेरेकै कारण  कांग्रेस नेता दर्नालद्वारा आक्रमण
    काठमाडौं । सिन्धुपाल्चोकका कांग्रेस नेता तपेन्द्र बहादुर दर्नालले कानून व्यवसायीमाथि सांघातिक आक्रमण गरेका छन् । उनी आफु सिन्धुपाल्चोकबाट नेपाली कांग्रेसको महासमितिको सदस्य बताउने गरेका छन् ।
     
    कानून व्यवसायीलाई सांघातिक आक्रमण गरेपछि डन दर्नाललाई छुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय भतिजा भानु देउवाले महानगरीय प्रहरी वृत सिंहदरबारका डिएसपी भरत श्रेष्ठलाई दवाव दिएका कारण छुट्कारा पाएका छन् ।
     
    दर्नाल सिन्धुपाल्चोकका कांग्रेस नेता तथा पूर्वसञ्चारमन्त्री मोहन बहादुर बस्नेतका नजिकका व्यक्ति हुन् । उनै दर्नालकी श्रीमती आफुलाई कुटपिट गरी अत्यन्तै तनाव दिएको भन्दै कानून व्यवसायी हरि कार्की कहाँ न्यायका लागि पुगिन् । त्यसपछि अधिवक्ता कार्कीले श्रीमान् दर्नाललाई समेत बोलाएर कुरा गरेपछि पारपाचुकेका लागि मुद्दा अघि बढाउने सहमति भएको थियो । तर, गत मंगलबार दर्नाल अचानक कानून व्यवसायी कार्कीको फर्म रहेको बागबजारमा आएर हातपात र इट्टाले प्रहार गरे ।
     
    nibedan.jpg
    कानुन ब्यवसायी हरि कार्की र उनले दर्नालमाथि कारबाही गर्न माग गर्दै प्रहरीमा दर्ता गरेको जाहेरी
     
    अत्यन्तै अराजक गुण्डागर्दीको शैलीमा कानून व्यवसायी कार्कीमाथि प्रस्तुत भएका दर्नाललाई अर्का कानून व्यवसायी पुरुषोत्तम आचार्यले छेकेर बाल बाल बचाएका थिए । त्यसपछि घट्ना स्थलमा प्रहरीलाई खबर गरी बोलाइयो । दर्नाललाई प्रहरीले नियन्त्रणमा लिएपछि प्रहरीकै सामुन्ने मुद्दा हेरेकै कारण मारिदिने धम्की दिएको कानून व्यवसायी कार्कीको भनाई छ । त्यसपछि प्रहरी हिरासतमा रहँदा उनलाई नेपाली कांग्रेसका नेताहरुले तुरुन्तै छाडिदिन भन्दै पटक पटक आदेश दिएपछि त्यसको दवाव थेग्न नसकेका कारण मंगलबार थुनामा परेका दर्नाल बुधबार हाजिर हुने गरी छाडिएको थियो । बुधबार पनि मिलापत्रका लागि प्रहरीले पीडित कार्कीलाई बोलायो । तर, त्यहि समयमा सर्वोच्च अदालत बार एशोसियसनमा कानून व्यवसायी पेसामा आवद्ध हुँदा कुटिएको गम्भीर विषयमा के गर्ने भनेर वरिष्ठ अधिवक्ता, अधिवक्ता र पदाधिकारीहरुबीच छलफल चलिरहेको थियो ।
     
    प्रहरीलाई सर्वोच्च अदालत बार एशोसियसनका सचिव घिमिरेले छलफलका लागि आफु आउने जानकारी गराएको स्रोतले बतायो । कानून व्यवसायीले मुद्दा हेर्दा मारिदिने धम्की दिँदा पनि महानगरीय प्रहरी वृत सिंहदरबारका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी)ले छलफल गरी मिलाउनु भन्दै अनाआवश्यक दवाव र आदेश पीडित कानून व्यवसायीलाई दिएका थिए । स्रोतका अनुसार दर्नाललाई प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले छाडिदिन सिंहदरबार प्रहरी वृतका प्रमुखलाई फोन गरेका थिए । सर्वोच्च अदालत बार एशोसियसनका सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष बिनोद कार्की, उच्च अदालत पाटनका अध्यक्ष रामचन्द्र सिम्खडा, गजबहादुर ऐरी, धनन्जय खनाललगायतका कानून व्यवसायीहरु प्रहरी वृत सिंहदरवार पुगेका थिए । तथापि प्रहरी अधिकारीहरु भने माथिको दवाव भएका कारण पीडित पक्ष प्रति नै सकरात्मक थिएनन् ।
     
    सर्वोच्च अदालत बारका सदस्यसमेत रहेका अधिवक्ता कार्कीलाई मुद्दा हेरेकै आधारमा आएको ज्यान मार्ने धम्की र सांघातिक आक्रमण भएपछि पीडितहरु कसरी न्यायको कल्पना गर्न सक्छन् ? कानून व्यवसायी माथि नैे कार्यालयमै आएर मेरो श्रीमतीको तर्फबाट किन मुद्दा हेरिस भन्दै अभद्र व्यवहार गरी हातपात गरेका दर्नालले प्रहरीका जुनिएर अधिकृतहरुलाई तथानाम गाली गर्दै थर्काएका थिए । पीडितको मुद्दा हेरेकै भरमा कानून व्यवसायी माथि हातपात गर्नु कानूनी राज्यमा जघन्य अपराध मानिन्छ । तर, सामान्य माफी मागेर छाड्नुले “...मरी भन्दा काल पल्क्यो” भन्ने उखानलाई चरितार्थ गरेको छ ।
     
    दर्नालकी श्रीमतीले डायरी एक्सप्रेस प्रतिनिधिसँग आफुले पारपाचुके गर्नका लागि तयार भई कानून व्यवसायी कार्की समक्ष आएको बताईन् । मुद्दा हेरकै आधारमा कानून व्यवसायी माथि गरिएको निर्लज्ज प्रकारको आक्रमण र धम्कीलाई कसरी लिनुहुन्छ भन्ने विषयमा नेपाल बार एशोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेसँग सम्पर्क गर्दा आफुहरु अत्यन्तै गम्भीर भएको सशक्त रुपमा कारबाही गर्नुपर्ने बताएका थिए । डायरी एक्सप्रेस साप्ताहिका प्रतिनिधिसँग काठमार्डौं महानगरपालिका वडा नम्बर –४, बस्ने निता खड्कीले पति तपेन्द्र बहादुर दर्नालले पटक पटक अत्यन्तै दूव्र्यवहार गरी बस्नै नसक्ने अवस्था आएको हुँदा पारपाचुकेको अवस्थामा पुगेको प्रहरी वृतमै बताएकी थिइन् ।
     
    सर्वोच्च अदालत बार ईकाईका सचिव ऋषिराम घिमिरेसँग बुझ्न खोज्दा कानून व्यवसायीलाई आक्रमण गर्नु एकदमै गम्भीर विषय भएकाले सल्लाह गरेर अघि बढ्ने बताएका थिए । तर, जघन्य घट्नामा पीडित कानून व्यवसायीले उजुरी दर्ता गर्दा पनि सिहदरबार प्रहरी वृतले उजुरी निवेदनलाई दर्ता नगरी छलफल गर्ने भन्दै राखिदियो । त्यसो त दर्नालका गुरु कांग्रेस नेता मोहन बहादुर बस्नेतले पनि सिन्धुपाल्चोकमा आफु इतर राजनीतिज्ञहरुलाई निर्वाचनका समयमा साम, दाम, दण्ड र भेदको प्रयोग गरी गुण्डागर्दीको शैलीमा तर्साउने गरेका छन् । एक टेलिभिजनको बहस कार्यक्रममा नेकपा एमालेका नेता केशव बडाललाई उनले अभद्र व्यवहार प्रदर्शन गरेका थिए ।
     
    त्यसैगरी नेपाली कांग्रेसको महाधिवेशनका समयमा सक्रिय सदस्यता छानबिन गरिरहेका कांग्रेसकै केन्द्रीय नेता श्याम घिमिरेमाथि हातपात गरेको गम्भीर आरोप लागेको थियो । अहिले बस्नेतका कार्यकर्ता पनि त्यहि पथमा गुण्डागर्दी गर्दै हिडेका छन् । तथापि कानून व्यवसायीलाई दिन दहाडै कुटपिट गर्ने दर्नाल चाहिँ सामान्य माफि मागेरै छुटेका छन् । बुधबार माफी मागेर हिरासतबाट छुटेपछि दर्नालले प्रधानमन्त्री शेर बहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई भेट्न बालुवाटार पुगेका थिए । उक्त कुरा दर्नालले सामाजिक सञ्जालमै तस्वीर राखेर सार्वजनिक गराएका छन् ।
     
    २०४७ सालमा कास्कीको पोखरास्थित अन्नपूर्ण बोर्डिङ स्कूलमा सुनील गुरुङ नामका एक जना बिद्यार्थीको रहस्यमय मृत्यु भयो । स्कूलका संस्थापक विकल शेरचनका तर्फबाट बहस गर्ने क्रममा मृतक विद्यार्थीका पक्षका चन्द्र बहादुर गुरुङलगायतका व्यक्तिहरुले वरिष्ठ अधिवक्ता मिथिलेश कुमार सिंह माथि इजलासमै हातपात गरेका थिए । त्यसपछि हातपात गर्ने समूहलाई तत्कालै नियन्त्रणमा लिइयो उनीहरु थुनामा परे ।
     
    पछिल्लो समयमा कानून व्यवसायी माथि अभद्र व्यवहार गर्ने हातपात गर्नेहरु माथि कडा कारबाही हुँदै आएको छ । तथापि केहि दर्नाल प्रवृतिका गुण्डाहरु भने माथिको शक्ति प्रयोग गरी कानून र ऐनलाई कुल्चिएर गैर कानूनी धन्दामा संलग्न हुँदै आएका छन् । उनीहरुले कानून हातमा लिएर अहिले पनि पीडितलाई न्याय दिलाउने व्यवसायीहरु माथि नै धम्की दिएर शक्तिको दुरुपयोग गरिरहेका छन् । दर्नालहरुको गुण्डागर्दी प्रवृतिले पीडितका पक्षमा बहस गर्ने कानून व्यवसायीको जीवन रक्षाका लागि अझ कडा कानूनी व्यवस्थाका लागि तत्कालै बहस सुरुवात गर्नुपर्ने अवस्था पनि सिर्जना गरिदिएको छ ।  सोमबार प्रकाशित हुने डायरी एक्सप्रेस साप्ताहिकमा यो समाचार छ ।

    सम्बन्धित समाचार