Logo
  • बिहीबार , असार २३ २०७९Jul 07 2022

सशस्त्र प्रहरीले सादा पोशाकका घुमुवा नराख्ने, खटाएकालाई तुरुन्त जिम्मेवारीमुक्त गर्न निर्देशन

सशस्त्र प्रहरीले सादा पोशाकका घुमुवा नराख्ने, खटाएकालाई तुरुन्त जिम्मेवारीमुक्त गर्न निर्देशन

नेपाल फेस

जेठ १४, २०७९ शनिबार
  • 2.3K
    SHARES

  • सशस्त्र प्रहरीले सादा पोशाकका घुमुवा नराख्ने, खटाएकालाई तुरुन्त जिम्मेवारीमुक्त गर्न निर्देशन

    काठमाडौैं । सशस्त्र प्रहरी बलले मातहतका गण, गुल्म र बोर्डर आउट पोष्टका प्रमुखलाई अबदेखि सादा पोशाकमा घुमुवा नखटाउन निर्देशन दिएको छ । सशस्त्र प्रहरी संगठनमा घुमुवा परिचालनमा रोक लगाउनुलाई शुद्धिकरण अभियानको पहिलो पाइलाका रुपमा लिइएको छ । सीमावर्ती जिल्लामा सूचना संकलनका लागि भनेर खटाइने सादा पोशाकका घुमुवाको काम तस्करीको सेटिङ गर्ने हुँदैआएको गुनासो ब्याप्त छ । आचरण बिपरीत क्रियाकलापमा संलग्न भएको पाइएकाले घुमुवा हटाउन निर्देशन दिएको सशस्त्र प्रहरी बलले जनाएको छ । एपीएफ इन्टेलिजेन्स ब्यूरो बाहेकले देशका सबै कार्यालयले अब सादा पोशाकमा सशस्त्रको जनशक्ति खटाउन नपाउने भएका छन् । 

    प्रदेश १ का इलाम, झापा, मोरङ, सुनसरी,  मधेश प्रदेशका ८ वटै जिल्ला, लुम्बिनी प्रदेशका भैरहवा, नवलपरासी, कपिलवस्तु, बाँके र सुदूरपश्चिम प्रदेशका धनगढीका गण, बोर्डर आउटपोष्टका इन्चार्जहरुले घुमुवा परिचालन गरी तस्करीको लाइन संचालन गरी लाभ लिने गरिरहेका गुनासा आउने गरेका छन् ।

     बर्षौदेखि गण र आउटपोष्टमा कार्यरत सशस्त्रका  घुमुवाको कनेक्सन  यसअघि सशस्त्र प्रहरी बलको नेतृत्वसम्मै रहने गरेको थियो । घुमुवा यति शक्तिशाली थिए कि सशस्त्रको नेतृत्वसम्म नै उनीहरुको पहुँच रहने गरेको छ । गणपतिले हटाउन खोजे, सिधै आइजीपीबाट दबाब दिएर उनीहरुले तस्करहरुसँग कनेक्सन मिलाउँदै लाभ लिने गरेका थिए ।

    नेतृत्व सही भयो भने संगठनमा सुधार हुन्छ भन्ने कुरा सशस्त्र प्रहरी बलमा देखिन थालेको छ । राजु अर्याल आइजीपी भएको एक महिना नबित्दै घुमुवा हटाउने निर्णय गरेर उनले सशस्त्रमा शुद्धिकरणको थालनी गरेर त्यसको पुष्टि गरेका छन् । बाहिनीपति, गणपति र बीओपीका इन्चार्जसँग तस्करको कनेक्सन मिलाउने घुमुवाहरुलाई नियमित काममा लगाउन निर्देशन दिएपछि सीमामा हुने तस्करी पनि धेरै हदसम्म नियन्त्रणमा आउने र भन्सार राजस्व बृद्धि हुने अपेक्षा गरिएको छ । 

     भारत र चीनसँग सीमा जोडिएका २१ वटा जिल्लाका गण र बोर्डर आउटपोष्टका इन्चार्जहरुले खटाएका घुमुवाले भन्सारछली गर्ने तस्कर ब्यापारीसँग मिलेर घुस लिने र राजस्व असुली नै कम हुँदैआएको जनगुनासोलाई मध्यनजर गरी सशस्त्रले मातहतका कार्यालयबाट सादा पोशाकमा घुमुवा खटाउन रोक लगाएको बताएको छ । घुमुवाका कारण सबैभन्दा बढी विवादमा मधेश प्रदेश र लुम्बिनी प्रदेशका डीआइजी परेका छन् ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कार्यालय प्रमुखहरुले सादा पोशाकमा घुमुवा परिचालन गरी भन्सारछली गर्ने ब्यापारीहरुबाट लाभ लिने गरेका गुनासाहरु आउने गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कतिपय जिल्लामा खटाइएका घुमुवाहरुलाई घुससहित नियन्त्रणमा लिएका समाचारहरु पनि आउने गरेका छन् । विगतमा सीमावर्ती जिल्लाका गण, बोर्डरआउटपोष्टका इन्चार्जहरु बोलकबोल गरी जाने र उनीहरुले घुमुवा राखी घुस असुल्ने गरेकाले सशस्त्रको छविमा आघात पुगेको थियो । सशस्त्र प्रहरी बलले सूचना नै निकालेर अबदेखि घुमुवा राख्न नपाउने निर्णय गरेको छ ।

    सशस्त्र प्रहरी बलले हालै एक परिपत्र गरी सादा पोशाकका घुमुवालाई जिम्मेवारीबाट हटाउन निर्देशन दिएको छ । निर्देशनमा उल्लेख छ–‘सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाईहरुबाट सूचना संकलनका लागि सादा पोशाकमा घुमुवाको रुपमा सशस्त्र प्रहरी कर्मचारीहरु खटिंदै आइरहेको सन्दर्भमा कतिपय सीमावर्ती लगायत अन्य इकाईहरुबाट उक्त कार्यका लागि खटिएका सशस्त्र प्रहरी कर्मचारीहरु आचरण बिपरीत कार्यमा संलग्न रहेको भन्ने जस्ता उजुरी तथा गुनासाहरु प्राप्त भइरहेको सम्बन्धमा अब उप्रान्त एपीएफ इन्टेलिजेन्स ब्यूरो बाहेकका सशस्त्र प्रहरी कर्मचारीहरुलाई अर्को ब्यवस्था नभएसम्मका लागि अबिलम्ब उक्त जिम्मेवारीबाट हटाई कार्यालयको नियमित कामकाजमा खटाउने ब्यवस्था गर्नू ।’ 

    सम्बन्धित समाचार