Logo
  • शनिवार, श्रावण २४ २०७७Aug 08 2020

images

बिदेशबाट फर्कनेको दायित्व र समाजको जिम्मेवारी

बिदेशबाट फर्कनेको दायित्व र समाजको जिम्मेवारी

नेपाल फेस

७, श्रावण २०७७
  • 1.5K
    SHARES

  • बिदेशबाट फर्कनेको दायित्व र समाजको जिम्मेवारी

    दिपक पुडासैनी

    नेपालमा दिनानुदिन बढ्दै गइरहेको कोरोना भाइरसले बिश्वभर आतंक मच्चाइरहेको तथ्य अब कसैबाट छिपेको छैन । नेपालमा हालसम्म मृत्युदर न्यून रहेको भए पनि दिनदिनै संक्रमितको संख्या उकालो लाग्दै जानुलाई पक्कै पनि सकारात्मक रुपमा लिन सकिदैन ।

    यसैक्रममा सरकारको सहजीकरण मार्फत् बिदेशमा रोजगार गुमाएका तथा समस्यामा परेका नेपालिलाई दैनिक १ हजार भन्दा माथिको संख्यामा स्वदेश फर्काइरहेको छ । बिदेशमा चेकजाँच गरेरै आएको भए पनि उनीहरुमध्ये केहीमा कोरोना पोजेटिभ देखिएको छ । यसो भन्दैमा बिदेशबाट आउने सबैले कोरोना संक्रमण लिएरै आएको छ भन्न सकिदैन । तर जो बिदेशबाट आएको छ ऊ आफैले चाहिँ आफूलाई सम्भावित संक्रमित घोषणा गर्नुपर्छ । जसले परिवार, समाज र देशमा संक्रमण नियन्त्रण गर्न मद्दत गर्छ ।

    म बिदेशबाट आएको हुँ, हवाइजहाजलगायतका यातायातका साधनहरुबाट मलाई संक्रमण सरेको हुनसक्छ भन्ने भन्ने घोषणा आफैंले गर्ने हो । सरकारी क्वारेन्टाइन वा होम क्वारेन्टाइन जहाँ बसे पनि १४ दिन अरुभन्दा कम्तीमा २ मिटर टाढा रहन्छु, नियमित हात धुन्छु तथा ब्यक्तिगत सरसफाईमा बिशेष ध्यान पुर्याउँछु ।

    स्थानीयस्तरमा भएका क्वारेन्टाइनमा भन्दा पनि होम क्वारेन्टाइनमा अझ बढी सजक रहन्छु । घरमा स सानाबालबच्चा, बुढाबुढी अनि कोही दीर्घरोगी भएमा त मेरो जिम्मेवारी अझ बढी हुन्छ किनकि मैले भाइरस ल्याएको हुन सक्छु र म बाटै मेरो परिबारमा संक्रमण सर्न सक्छ । त्यसैले आफूलाई १४ दिन एउटै कोठामा कैद गर्छु, दुई तीन मिटर भन्दा नजिक कसैलाई आउन दिन्नँ, परिवारका सदस्यसँग कुरा गर्नु परे माक्स लगाउँछु, आफूले छोएका कुनै सामग्री परिवारका सदस्यलाई छुन दिन्नँ । आफूले खाएका भाँडाकुँडा तथा प्रयोग गरेको बाथरुम आफै सफा गर्छु, आफूले लगाएको लुगा आफैं धुन्छु किनकि जबसम्म कोरोना परीक्षण गरेर गरेर रिपोर्ट नेगेटिभ आउँदैन तबसम्म म सम्भावित कोरोना संक्रमित हुँ ।

    परिवार, समाज र देशका नागरिकको स्वास्थ्यका बारेमा अलिकति मात्रै पनि चिन्ता गर्ने र आफूले आफंैलाई भोलि संम्भावित अपराधी घोषित गर्नु भन्दा पहिले बिदेशबाट फर्कनेले यति समझदारी अपनाउनै पर्छ ।

    नेपालमा लकडाउन सुरु हुँदा जसरी गाउँ गाउँमा बाहिरबाट आउनेलाई अवरोध गरियो, गाउँ छिर्न दिइएन, आफ्नै दाजुभाइ, भतिज, छोरी, बुहारी, बहिनीलाई अपराधी जस्तो ब्यवहार गरियो आज चार महिना ब्यतित हुँदा पनि त्यस्ता क्रियाकलाप गर्नेहरुमा चेतना नपलाउनु पक्कै दःुखद् पक्ष हो । त्यही अर्धचेतनाको अवशेषले आज बिदेशबाट फर्कनेहरुले गाउँ समाजको छिछी दुरदुर सहनुपरेको छ । बिदेशबाट फर्किएकाहरु यही गाउँका सदस्य हुन्, रोग लिएरै आएका भए पनि उचित प्रोत्साहन हौसला तथा साथ सहयोगले निको हुन्छ भन्ने चेतना नपलाएको देख्दा भने उदेक लाग्छ ।

    जब बिदेशबाट फर्कनेले आफूलाई सम्भावित संक्रमित घोषणा गरेर परिवार, समाज तथा देशप्रति आफ्नो दायित्व पूरा गर्दै आफू १४ दिन एकान्तबास बसेको छ भने उसको समाजले पनि उसलाई अपराधी जस्तो ब्यबहार गर्न छोडेर सहयोगी बनिदिनुपर्छ ।

    ऊ पनि यही समाजको हिस्सा हो भन्ने ज्ञान हुनुपर्छ भोलि मर्दा पर्दा उसैलाई गुहार्नु पर्छ भन्ने भुल्नुहँुदैन । आज बिदेशबाट आएर एकान्तबासमा बसेकोलाई केही साथ सहयोग जरुरी छ भने सोध्ने र उचित सुरक्षा अपनाएर पूरा गर्न र म एक्लो छैन, मेरा असल छिमेकी र असल समाज छन् भन्ने आभाष दिलाउन सक्नुपर्छ । तबमात्रै हाम्रो समाज पहिले जस्तै अनन्तकालसम्म एक अर्काको पर्याय भएर रहने छ । भाइरस त आज आउँछ भोलि निस्तेज हुन्छ तर हेक्का राख्नुपर्ने कुरा के हो भने समाज तथा छरछिमेकी सधैका लागि चाहिन्छ ।
    अति जाने बुझेर हो वा नजानेर हो यसले समाजमा सकारात्मक भन्दा नकारात्मक प्रभाव बढाउँदै लगेको छ ।

     

    बुधवार, श्रावण ७ २०७७११:५६:०१

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]