Logo
  • शनिवार, श्रावण २४ २०७७Aug 08 2020

images

अध्यक्षका विरूद्धमा भाषण गरेर पार्टीमा शुद्धिकरण आउँछ ?

अध्यक्षका विरूद्धमा भाषण गरेर पार्टीमा शुद्धिकरण आउँछ ?

समीर नेपाल

३०, आषाढ २०७७
  • 3.6K
    SHARES

  • अध्यक्षका विरूद्धमा भाषण गरेर पार्टीमा शुद्धिकरण आउँछ ?

    समीर नेपाल

    यतिखेर हाम्रो पार्टीमा धेरै समस्या छ । पार्टी नै फुट्छ कि भन्ने अवस्थामा हामी पुगेका छौं अहिले । मेरा आदरणीय धेरै नेताको मुखबाट मैले सुनेका वाक्य हुन् यी । यसबेला पार्टी फुटको अवस्थामा पुग्नुहुन्न । समस्या सबैतिर हुन्छन्, सबैले आ–आफ्ना कमीकमजोरीमाथि छलफल गरेर समस्याको समाधान खोज्नुपर्छ । मैले पार्टी एकताका पक्षमा बेला बेलामा केही लेखें । तर तेरो लेखाई एकपक्षीय भयो, संस्थापन पक्षको पक्षमा मात्र लेख्ने ? केपी ओलीको दम्भका बारेमा किन नलेखेको ? केही दिनदेखि मलाई यस्ता प्रश्न आइरहेका छन् ।

    मेरा लागि पार्टीका सबै नेताहरू आदरणीय हुनुहुन्छ । म केपी ओलीको अन्धभक्त, हनुमान र प्रचण्ड, बामदेव, माधव नेपाल, झलनाथ खनालको विरोधी हैन । मेरो मकसद त नेताहरूमा देखिएको प्रवृत्तिका बारेमा आफूलाई लागेको बिषय अभिब्यक्त गर्ने ता कि ती कुराहरूले नेताहरूका बीचमा आएका समस्या समाधानमा सहयोग पुगोस् भन्नेमात्र हो । जहाँसम्म तैँले नेताहरूका बारेमा सामाजिक संजालमा लेख्ने हो भन्नुहुन्छ भने पार्टी स्थायी कमिटीकै नेताहरूले एक अर्कालाई धारेहात लगाएर बोलेका अनि लेखेका कुराहरू मैले पनि सामाजिक संजालबाटै जानकारी पाउने गरेको छु ।

    नेकपाका आदरणीय नेताहरु कोही पनि दुधले नुहाएका हुनुहुन्न । आ–आफ्नो ठाउँमा सबैले गल्ती कमजोरी गर्नु नै भएको छ । मलाई लागेका कुरा नेता कसैले कसैलाई नेतृत्व स्वीकार गर्नुहुन्न । कोही एकमा मात्र हैन सबै नेताहरूमा दम्भ छ । सबै नेताले आ–आफ्नो दम्भबाट बाहिर आएर छलफलमा सहभागी हुनु भयो भने समस्याको समाधानसँगै छ भन्ने लाग्छ ।

    असार २९ गते आइतबार ५.३० बाट सहाना प्रधान फाउन्डेसनले जुम (अनलाइन)मा एउटा कार्यक्रम चलाएको थियो । छलफल कार्यक्रमको विषय थियो–‘नेकपाको आजको समस्या के हो ? सम्भावना के हो ?’ छलफल कार्यक्रम भनिएको भए पनि कार्यक्रम रहेछ बरिष्ठ नेताको मनको उकुसमुकुस मानिसलाई सुनाउने । सुन्ने अवसर मैले पनि पाएँ ।

    के रहेछ त नेकपाको समस्या ?

    नेकपाको आजको समस्या वर्तमान सरकारका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका अर्का अध्यक्ष कमरेड प्रचण्डको यो साडे दुई बर्षको कामकारबाही र व्यवहार रहेछ ।

    न त मन्त्रीमण्डल गठनमा, न त योजना आयोग गठनमा, न त सरकारको नीति कार्यक्रम र बजेटमा पार्टीसँग कुनै सल्लाह भएन । न त सचिवालय, न त स्थायी कमिटी, न त केन्द्रीय कमिटी कतै कहीँ सरसल्लाह नगरी एकलौटी ढंगले काम गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र त्यसलाई सहयोग पुर्याउने अर्का अध्यक्ष प्रचण्ड । उहाँहरूको रबैयाले दुई तिहाइको अवस्थामा पुगेको पार्टी सकिने अवस्थामा गयो । यतिखेरको अवस्थामा निर्वाचनमा जाने हो भने हामी सकिने अवस्थामा छौं भन्ने आसय कमरेड झलनाथ खनालको थियो । उहाँको भनाइलाई मैले यही रुपमा बुझें, बुझाई गलत हुन सक्छ । मेरो बुझाईलाइ रेकर्ड गरिएको कार्यक्रमले प्रष्ट पार्ने विश्वासमा रहेको छु ।

    कम्युनिस्ट पार्टीमा नीति, सिद्धान्त र अनुशासन

    कम्युनिस्ट पार्टी नीति, सिद्धान्त र अनुशासनमा चल्छ भन्ने नेताहरुले पढाउनुभयो, सिकाउनुभयो । तर नेता कमरेडहरू आफैं भने त्यो अनुसार चल्नुभएन । पार्टी संचालनका क्रममा विधान र नियमावली बनाउनुभयो । समय समयमा पार्टी केन्द्रीय कमिटीबाट पार्टीका नेता, कार्यकर्ताले पालना गर्नुपर्ने आचारसंहिताका विषयमा निर्णय गर्नुभयो तर त्यसको ठाडो उल्लंघन स्वयं नेताहरूबाट नै हुँदै गयो । यस विषयमा पार्टीका बैठकहरूमा छलफल भएर निर्णयमा पुगेको जानकारी भएन । यसमा कस कसको कमजोरी छ भनेर पार्टीका बैठकहरूमा नै छलफल गर्नुपर्छ होला । मैले बुझ्न नसकेको कुरा, यसरी मिडियामा पार्टी अध्यक्षको विरूद्धमा भाषण गरेर पार्टीमा शुद्धिकरण आउँछ ?

    पार्टी र सरकारबीचको सम्बन्ध

    पार्टीको प्रतिनिधित्व गरेर सरकारमा गएका नेताहरूले पार्टीसँग समन्वय नगरी मन्त्रीमण्डल बनाएको, योजना आयोग गठन गरेको र नीति कार्यक्रम अनि बजेटमा पनि छलफल नगरी एकलौटी काम भएको छ । महाकालीमा भारतले बनाएको भारत र नेपालतर्फका नहरमा पानी बगेको कुरा पनि आए । तर पार्टीको बैठकबाटै सरकारले राम्रो काम गरिरहेको छ भनेर २०७६ मंसिर २९ गतेदेखि पुस १० सम्म चलेको बैठकबाट भएका निर्णयहरूलाई पार्टी केन्द्रले जारी गरेको अपानी–३ बाट पढ्न पाइएको थियो । त्यो बैठकमा देश बाहिर रहेका कारण पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अनुपस्थित रहेको भनिएको छ अरू अनुपस्थित त भनिएको छैन । अनि कसैले बैठकका निर्णयमा असहमति दर्ज गरेको कुरा पनि अपानीमा पढ्न पाइएन । अनि यसबेलाको नेकपाको समस्यासँग महाकालीको नहर कसरी जोडियो ? झलनाथ खनाल प्रधानमन्त्री हुनुभएको समयमा त्यो नहर थिएन र ? थियो भने आफू हुँदा ठीक अरू हुँदा बेठीक किन र कसरी ? मैले बुझ्न नसकेको कुरा ।

    यदि सरकारमा भएका नेकपाका नेताहरूले पार्टीको निर्णय विरूद्ध काम गरेको तथा पार्टीको विधि विधान विपरीत काम गरिरहेको हो भने के उहाँहरूलाई पार्टीका नियम कानुन लाग्दैनन् र ? नेकपा पार्टीको नेतृत्व वर्तमान सरकारसँग सन्तुष्ट छैन भने पार्टी कमिटीको बैठकबाट सरकारमा रहनेहरूमाथि अविलम्ब कारबाही गरिनुपर्दैन र ? यस्ता कुराको छिनोफानो पार्टी कमिटीका विभिन्न तहका बैठक, अधिवेशनबाट गर्नुपर्ने होइन र ?

    मंगलवार, आषाढ ३० २०७७१२:२६:३१

    समीर नेपाल

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]