Logo
  • मंगलवार, आषाढ २३ २०७७Jul 07 2020

दीपक मल्होत्राः पैसा कमाउन सुन तस्करी, ठेक्कादेखि भूमाफियासम्म

दीपक मल्होत्राः पैसा कमाउन सुन तस्करी, ठेक्कादेखि भूमाफियासम्म

  • नेपाल फेस

  • मंगलवार, आषाढ १६ २०७७


  • दीपक मल्होत्राः पैसा कमाउन सुन तस्करी, ठेक्कादेखि भूमाफियासम्म

    काठमाडौं । भूमिसुधार मन्त्री पदमा अर्यालले आइतबार कानुन नहुँदा गुठीका जग्गा जोगाउन गाह्रो भएको बताइन् । सायद भूमाफिया समूहको चलखेल र दबाब थाहा पाएर उनले यस्तो बताएको हुनसक्छ ।

    किनकि, अहिले पनि विभिन्न समूहहरु गुठीको जग्गा हात पार्ने योजनामा सक्रिय छन् । बालुवाटारको आडमा व्यवसायी दीपक मल्होत्राको समेत यस्तो धन्दामा सक्रिय रहेको खुलेको छ । मोहीका नाममा जग्गा व्यक्तिको नाममा लैजाने धन्दामा उनले आर्थिक लगानी गर्दै आएका छन् । गिरीबन्धु टी स्टेटको विर्तामोडमा हदबन्दी लागेको २ सय ५० बिगाहा जग्गा छ । त्यो जग्गाको हालको मूल्य कट्ठाको न्यूनतम ७० लाख छ । कट्ठाको ७० लाख रुपैयाँ पर्ने विर्तामोडको जग्गाको साटो पृथ्वीनगरको हात्तीआतंंक हुने बिघाको १० लाख पर्ने जग्गामा साटफेर गरी हदबन्दी फुकुवा गर्ने खेलमा पछिल्लो समय मल्होत्रा पनि जोडिएका छन् । गिरीबन्धुको हदबन्दी खुल्ला गरेसँगै हिमालयन टी गार्डेनको जग्गामा पनि मल्होत्राको नजर गडेको छ ।

    पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको उक्त जग्गा पनि गिरीबन्धुको जस्तै सट्टापट्टा गरी प्लटिङ गर्नसकिने भएकाले उनीसहितका ब्यक्तिको प्रयासमा हदबन्दी लागेका जग्गा साटफेर गर्न पाइने ब्यवस्था भूमि ऐनमै राख्न लगाइएको खुलेको छ । प्रधानमन्त्री केपी ओली मल्होत्राहरुको प्रभावमा परी भूमि ऐनमा हदबन्दी लागेका महंगा जग्गा र सस्ता जग्गा साटफेर गर्न पाइने प्रावधान ऐनमा हाल्न लगाएका छन् । राष्ट्रियसभामा सांसदहरुले बिरोध गरे पनि उक्त ऐन पारित भइसकेको छ । मल्होत्राहरु धमाधम जग्गा साटफेरमा लागी हदबन्दीका जग्गा फुकुवा गरी अरबौं कमाउने खेलमा लागिसकेका छन् ।

    अहिले पनि बानेश्वरको २ रोपनी १२ आना जग्गा नक्कली मोही खडा गरी मल्होत्रा लगायतको समूहले लिने प्रयास गरिरहेको छ । गुठी संस्थानकै विगतका निर्णय मिचेर जग्गा दर्ताको प्रक्रिया अघि बढाइएको छ ।

    गुठीको कुनै जग्गामा २०४६ सालभन्दा पहिल कसैले घर बनाएको अवस्थामा आठ आनासम्म दर्ता गर्न सकिने व्यवस्था गुठी संस्थान ऐनमा उल्लेख छ । त्यही दफाको दुरुपयोग गरी नक्कली मोही खडा गरी गुठीको जग्गा धमाधम व्यक्तिको नाममा दर्ताको लागि चलखेल भइरहेको हो ।

    गुठी संस्थानको सञ्चालक समितिले २०६२ साल मंसिर ७ गते थोरै मात्र जग्गा दर्ता गर्न सकिने उल्लेख थियो । गुठी संस्थानको जग्गामा कसैले घर बनाएको अवस्थामा रहेमा काठमाडौं उपत्यकाका नगरपालिकाभित्र ८ आनासम्म र गाविसमा एक रोपनीसम्म जग्गा दर्ता गर्न सकिने निर्णय भएको थियो । तराईका नगरपालिकाका एक कठ्ठा, गाविसमा दुई कठ्ठा पहाडको हकमा नगरपालिकामा एक रोपनी र गाविसमा दुई रोपनी जग्गा दर्ता गर्न सकिने निर्णय गरियो ।

    आठ आनासम्म मात्र दर्ता गर्न सकिने भएपछि दुई रोपनी १२ आना जग्गा सूर्य मालीको नाममा दर्ता गर्न लागिएको छ । उनको नामबाट गुठी संस्थानमा निवेदन दिइसकिएको छ । उनको नाममा जग्गा दर्ता गरी साढे दुई करोडमा किन्न लागिएको छ । राप्रपा नेता तारा लुईटेलले यसको सेटिङको जिम्मा लिएका छन् । गुठीका अधिकांश सञ्चालक तथा बोर्ड सदस्यलाई उनले हातमा लिइसकेको स्रोत बताउँछ । त्यसवपात सूर्य मालीको श्रीमतीको नाममा ललितपुरको ग्वार्कोमा उनीहरुले घर खरिद गरिदिएका छन् ।

    उपत्यका लगायत विभिन्न ठाउँको बहुमुल्य जग्गा पनि यसैगरी नक्कली मोही खडा गरी उनीहरुको नाममा दर्ता गराउने धन्दा चलिरहेको छ । यसमा नेकपाकै कतिपय नेताहरु समेत सक्रिय छन् । बिर्तामोडस्थित गिरीबन्धु टि–स्टेटको जग्गाको सेटिङसमेत मल्होत्राले गरेको आरोप छ ।

    मंगलवार, आषाढ १६ २०७७०९:३७:०५

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]