Logo
  • मंगलवार, आषाढ २३ २०७७Jul 07 2020

भटाभट घुससहित प्रहरी अधिकृत पक्राउः अवकाशको मुखमा आइजीपीलाई सकस

भटाभट घुससहित प्रहरी अधिकृत पक्राउः अवकाशको मुखमा आइजीपीलाई सकस

  • नेपाल फेस

  • शनिवार, आषाढ १३ २०७७


  • भटाभट घुससहित प्रहरी अधिकृत पक्राउः अवकाशको मुखमा आइजीपीलाई सकस

    ठाकुरप्रसाद ज्ञवाली, अरुण कुशवाहा र रामबालक राय

    काठमाडौं । सिपाही, हवल्दारले जस्तो निरीक्षक तहका अधिकृतले सानोतिनो रकममा लोभ–लालच गर्दा कति बदनाम हुनुपर्छ भन्ने कुरा नसोचेपछि परिणाम भोग्नै पर्दछ । २०७७ असार ५ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवाको केरुङ सीमा प्रहरीमा कार्यरत प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहितका चार प्रहरीलाई एक किलो सुन गायब बनाएको अभियोगमा मुद्दा दायर ग¥यो ।

    बुधबार काठमाडौं प्रहरी परिसरमा कार्यरत २ घुमुवा ब्यापारीको १० लाख लुटपाटको आरोपमा पक्राउ परे । उनीहरुलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट बिहीबार कैलालीमा इन्स्पेक्टर प्रकाशसिंह कार्कीलाई अख्तियारले ५० हजार घुससहित नियन्त्रणमा लियो । बिहीबारै ललितपुर प्रहरी परिसरका इन्स्पेक्टर रुद्र शाही लागूऔषध सहित पक्राउ परे ।

    अस्थायी प्रहरी पोष्ट, इनर्वागाउँमा कार्यरत रहेका प्रहरी सहायक निरीक्षक पूर्णबहादुर तामाङ र प्रहरी हवल्दार विष्णुदयाल चौधरी, लागू औषध नियन्त्रण व्यूरो, शाखा कार्यालय, बीरगञ्ज, पर्साका प्रहरी जवान अवधेश राय, प्रहरी जवान राज कुमार गुरुङसँग मिलेर अपरिचित हुण्डी कारोवारीबाट ७ लाख घुस लिएको आरोपमा असार ११ मा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आइजीपी ठाकुरप्रसाद ज्ञवालीको कार्यकाल १५ पनि बाँकी नरहँदा यसरी भटाभट प्रहरी पक्राउ पर्न थालेका छन् । यसले प्रहरीको साख गिरेको छ । मातहतका प्रहरीले घुस खाँदा कमाण्डरलाई समेत त्यसले नैतिक संकट पैदा गरेको छ ।

    यसरी एकपछि अर्को पक्राउका घटना बढ्दा पनि प्रहरीको सहयोगमा सीमा क्षेत्रमा हुने चोरी तस्करी बढेको छ । लकडाउन खुकुलो भएसँगै सीमा क्षेत्रमा हुने चोरीतस्करी र त्यसलाई सघाएवापत घुस लिने क्रममा अब कति प्रहरीहरू पर्ने हुन् भन्ने चर्चा पनि प्रहरीहरूबीच नै हुने गर्दछ । यसैक्रममा यहाँ एक निरीक्षक केबल १२ हजार रूपैयाँ घुस लिँदै गर्दाको अवस्थामा रंगेहात पक्राउ परे तर उनलाई निलम्बन गर्नका लागि प्रक्रिया लामो भएका कारण अहिलेसम्म उनी निलम्बन हुनबाट भने जोगिएका छन् ।

    प्रहरी निरीक्षकदेखि माथिका अधिकृतका हकमा निलम्बन गर्ने अधिकार गृहसचिवको हुने भएका कारण उनी अहिलेसम्म निलम्बनबाट जोगिएका हुन् । सईसम्मको निलम्बन गर्ने अधिकारमात्र प्रहरी महानिरीक्षकलाई हुने गर्छ । त्यसभन्दा माथिकाको निलम्बन गर्नका लागि मुख्यालयको सिफारिस चाहिन्छ । मकवानपुरको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रमुखसमेत रहेका प्रहरी निरीक्षक रामबालक राय केबल १२ हजार रूपैयाँ घुस लिँदै गर्दा पक्राउ परेपछि अहिले बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा तानिएका छन् । निरीक्षक रायलाई नियन्त्रणमा लिएको सम्बन्धमा बागमती प्रदेशका डीआइजी वसन्तकुमार लामाले लेनदेनमा रहेका उनलाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धानपछि कारवाही प्रक्रिया अघि बढाइने जानकारी सञ्चारकर्मीहरूलाई दिएका थिए । हाल निरीक्षक राय प्रदेश प्रहरी कार्यालय, हेटौँडाको नियन्त्रणमा छन् ।

    रायलाई भीमफेदी गाउँपालिका वडा नम्बर ६ मा रहेको सगरमाथा होटलमा बसेर ठेकेदार दुर्गा लामासँग १२ हजार रूपैयाँ घुस रकम लिँदालिँदै प्रदेश प्रहरी कार्यालयबाट गएको टोलीले नियन्त्रणमा लिएको थियो । प्रहरी निरीक्षक रायले आफ्नो इलाकामा गलत गतिविधि र रकम लेनदेन गर्ने गुनासो आएपछि प्रदेश प्रहरीले उनलाई निगरानीमा राखेको डीआइजी लामाले बताएका छन् ।

    राय पक्राउ परेसँगै बागमती प्रदेश प्रहरी कार्यालयले मकवानपुरकै इलाका प्रहरी कार्यालय पशुपतिनगर रातमाटेका प्रहरी निरीक्षक अरूण कुशवाहलाई पनि निगरानीमा राखेको थाहा भएको छ । निरीक्षक कुशवाह पनि रकम लेनदेनकै कारण सुरुदेखि नै विवादमा पर्दै आएका थिए । त्यसो त कुशवाहको विगत पनि सधैँ विवादित र रकम लेनदेनमा बदनाममा जोडिँदै आएको छ । हाल संगठनबाट बाहिरिसकेका पूर्वआइजीपी सर्वेन्द्र खनालको विश्वासपात्रका रूपमा चिनिँदै आएका कुशवाहले उनको कार्यकालमा राम्रा ठाउँमा बस्ने मौका पाए । तत्कालीन संघीय इकाइ प्रहरी कार्यालय नारायणीमा खनाल एसएसपी हुँदा उनको विश्वासपात्र सईका रूपमा अरूण कुशवाह कार्यरत थिए । तस्करदेखि व्यापारीसँग सम्बन्ध कायम गर्ने जिम्मा खनालले यिनै कुशवाहलाई दिएका थिए । जसका कारण कुशवाह त्यतिबेला पनि बदनामी थिए ।

    खनाल आइजीपी भएपछि कुशवाह धनुषास्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी निरीक्षक भई प्रमुखका रूपमा कार्यरत थिए । त्यतिबेला २ नम्बर प्रदेशको प्रहरी प्रमुखका रूपमा हालका एआइजी हरिबहादुर पाल थिए । पालले २ नम्बर प्रदेशमा घुमुवा टोली खटाएर तस्कर ब्यापारीसँग रकम असुली गर्ने गरेका थिए । त्यसक्रममा पालको टोलीमा रहेका अधिकृतबीच नै विवाद भयो । घुमुवाबीच नै विवादपछि निरीक्षक अरूण कुशवाहालाई डिआइजी पालले प्रदेशमा ताने । तत्कालीन भौतिक योजना निर्माण तथा यातायात मन्त्री रहेका हालका नेकपाका नेता रघुवीर महासेठसँग अत्यन्तै नजिकको सम्बन्ध रहेका कारण निरीक्षक कुशवाह पाल कार्यरत रहेको २ नम्बर प्रदेशमा नै नबस्ने गरी हालको बागमती प्रदेशको सबैभन्दा बढी आकर्षक, अतिरिक्त कमाइ हुने र चेकिङका नाममा रकम असुल्ने ठाउँका रूपमा चिनिँदै आएको इप्रका पशुपतिनगरको प्रमुखका रूपमा सरुवा भएका थिए ।

    झण्डै १५ महिनादेखि उनी सोही इप्रकाको प्रमुखका रूपमा कार्यरत छन् । उनी सुरुदेखि नै विवादमा परे पनि तत्कालीन आइजीपी सर्वेन्द्र खनालको संरक्षणका कारण कसैले हटाउन सकेका थिएनन् । जब ठाकुर ज्ञवाली आइजीपी भई आए, उनी आएको एकाध दिनपछि कोरोना महामारीका कारण यी सबै कुरा निगरानीमा पर्ने अवस्था पनि रहेन र अहिलेसम्म पनि उनी त्यहीँ कार्यरत छन् । केन्द्रीय राजधानीमा खाद्यान्नलगायतका सामानको अभाव नहोस् भन्नका लागि पनि भारतीय सीमा क्षेत्रहरूबाट ठूलो मात्रामा खाद्यान्न आपूर्ति हुँदै आएको छ ।

    खाद्यान्न आपूर्तिका नाममा अन्य सामानहरूको पनि आयात भइरहेको भए पनि भन्सार र अन्यत्र चेकजाँच कडाइ नहुँदा तस्करी पनि राम्रैसँग चलेको जिप्रकाका प्रहरी अधिकृतहरू नै बताउँछन् । यस्तो अवस्थामा प्रमुख चेकिङका रूपमा रहेको पशुपतिनगरका प्रमुखका रूपमा रहेका कुशवाहाले रकम राम्रै कमाएको दावी यहाँका प्रहरीहरू गर्दछन् । डिआइजी लामा बागमती प्रदेशको प्रमुखका रूपमा गएपछि पनि निरीक्षक कुशवाहाका बारेमा धेरै गुनासोहरू आएपछि अहिले प्रदेश प्रहरी कार्यालयले उनीमाथि पनि निगरानी गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एक एक अधिकृतले जानकारी दिए ।

    शनिवार, आषाढ १३ २०७७११:५३:०२

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]