Logo
  • बुधवार, आषाढ ३१ २०७७Jul 15 2020

प्रहरीका घुमुवाः सूचना संकलक कि हाकिमका अतिरिक्त आम्दानीका स्रोत ?

प्रहरीका घुमुवाः सूचना संकलक कि हाकिमका अतिरिक्त आम्दानीका स्रोत ?

  • नेपाल फेस

  • शुक्रवार, आषाढ १२ २०७७


  • प्रहरीका घुमुवाः सूचना संकलक कि हाकिमका अतिरिक्त आम्दानीका स्रोत ?

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका घुमुवा हवल्दार धिरेन बिष्ट र सिपाही विक्रम चन्द १० लाख रुपैयाँ लुटपाटमा बुधबार पक्राउ परे । प्रहरीका हाकिमहरुले घुमुवा राखी असुली गर्ने प्रचलन कहिल्यै हट्न सकेको छैन । प्रहरीमा सुधारको पक्षपाती बताउने कुवेरसिंह रानादेखि हरेक आइजीपीले घुमुवा हटाउने प्रतिबद्धता गरे, तर त्यो ब्यवहारमा कहिल्यै लागू हुन सकेन ।

    सूचना संकलन गर्ने उद्देश्यले सिभिल ड्रेसमा प्रहरी परिचालन गरियो । त्यसरी सूचना संकलन गर्ने प्रहरीलाई नै घुमुवाको रुप दिई असुलीमा परिचालन गर्दा प्रहरीको छविमा दाग लाग्न पुगेको छ । । ती घुमुवा सूचना संकलन होइन, लुटपाट र असुलीमा मात्र केन्द्रित हुने गरेका कारण भीम रावल गृहमन्त्री हुँदा २०६७ मा तराईमा बर्षौदेखि घुमुवा राखिएकाहरुलाई पहाडतिर लखेटिएको थियो । लामो समय तराईका जिल्लामा बसेका उनीहरुलाई पहाडमा सरुवा गरेपछि तराईमा हतियारधारी समूहको आतंक, हत्या र लुटपाटमा धेरै कमी आएको थियो ।

    रमेश चन्द ठकुरी आइजीपी हुँदा सचिवालयका तत्कालीन डीआइजी विज्ञानराज शर्माले त्यतिबेलाको मध्यक्षेत्रदेखि तराईका जिल्लाका घुमुवाहरुलाई काज सरुवा गरी सुधारको थालनी गरेका थिए । रमेश खरेल सचिवालयमा हुँदा पनि २ बर्षभन्दा बढी समय कार्यरत सबै घुमुवालाई सरुवा गरी पहाडतिर पठाए । तर शर्मा र खरेल सचिवालयबाट अन्यत्र सरुवा भएको ३–४ महिनामा ती घुमुवाहरु तत्तत् जिल्लामा आएर साविककै जस्तो असुलीमा लागिहाले ।

    लामो समय घुमुवा राखिएका प्रहरीको असुलीका कारण संगठन नै बदनाम हुन पुगेको छ । तर प्रहरीका जिल्लादेखि प्रदेश र आइजीपीसम्मले घुमुवा राखी अतिरिक्त असुली गर्ने क्रम रोकिन सकेको छैन । यसअघिका आइजीपी सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयबाटै कृष्णदेव साहको नेतृत्वमा तराईमा घुमुवा परिचालन गरी अतिरिक्त असुली गर्ने गरेको आरोप लागेको थियो ।

    प्रहरीका हाकिमहरुले घुमुवा राखी अतिरिक्त आम्दानी गर्ने प्रचलन अहिले पनि हट्न सकेको छैन । मकवानपुर जिल्ला प्रहरी कार्यालय पनि यस्तै अतिरिक्त घुमुवाका कारण बदनाम भएको छ । असई नवीनकुमार थापा मकवानपुर प्रहरीमा लामो समयदेखि घुमुवा छन् । उनलाई असुलीका सबै तौरतरिका थाहा भएकाले जो एसपी आए पनि उनी बसमा पार्न सिपालु छन् । अहिलेका एसपी सुशीलसिंह राठौर पनि उनको कलाबाट प्रभावित भई असुलीमा परिचालन गर्दैआएका छन् । उनको काम सूचना संकलन भन्दा पनि जे जसरी हुन्छ, अतिरिक्त आम्दानी गरी हाकिम रिझाउने हो ।

    मकवानपुरका प्रहरी प्रमुख राठौरले असई थापालाई घुमुवा राखी अतिरिक्त आम्दानी गर्ने गरेका छन् । थापाले लागूऔषध कारोबारीहरुसँग समेत घुुुस असुली गर्ने गरी संरक्षण गरेको आरोप छ । 

    मकवानपुरमात्र होइन, पर्साका एसपी गंगा पन्तले रविभूषण यादवलाई घुमुवा राखेकी छन् । तस्करीदेखि सबैतिर उनैले डिल गर्ने गरेका छन् । महोत्तरीमा सिपाही धर्मेन्द्र यादवलाई घुमुवा राखी यसअघिका एसपी श्यामकृष्ण अधिकारीले कुस्त आर्जन गरी रमाना बुझेर हिंडिसकेका छन् । बारामा सई उपेन्द्र साहको नेतृत्वमा घुमुवा टोली परिचालित छ । अख्तियारबाट सरुवा भएका एसपी कृष्ण पँगेनीले पनि उनलाई अतिरिक्त आम्दानीका लागि घुमुवामा परिचालन गरेका छन । सर्लाहीका एसपी विश्वमणि पोखरेलले हवल्दार बैजु यादवलाई परिचालन गरेका छन् ।

    चितवनका हरेक एसपीले असई सीताराम खतिवडालाई घुमुवाका रुपमा परिचालन गरेका छन् । हालका एसपी नान्तिराज गुरुङले पनि उनैलाई परिचालन गरेका छन् । असुलीमा अति बदनाम भएका खतिवडालाई अहिले पनि कायमै राखिएको छ । जबकि डीएसपी एकनारायण कोइराला केही दिनअघि असुलीमा बदनाम भएपछि सरुवा भएका थिए । तर उनले असुलीमा लगाएका असई खतिवडा भने अहिले पनि घुमुवा नै छन् ।

    धनुषाका एसपी रमेश बस्नेतले सई रामरेख यादवको नेतृत्वमा घुमुवा टोली परिचालन गरी अतिरिक्त आम्दानी जुटाउँदैआएका छन् । यी घुमुवाहरुको सम्पत्तिमात्रै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन गर्ने हो भने करोडौंको हाराहारीमा भेटिनेछ । घुमुवाहरु नै करोडौंका मालिक भएका छन् भने तिनका हाकिमहरुलाई कति बुझाए होलान् ? कुन निकायले छानबिन गर्ने ? यो सवाल प्रहरीभित्र १० लाख लुटपाटमा घुमुवा पक्राउ प्रकरणपछि पुनः उठेको छ ।

    अर्कोतिर प्रहरीका हाकिमहरु जुन जिल्लामा सरुवा भयो, त्यो जिल्लामा असुलीमा पारंगत जुनियर अधिकृतदेखि सिपाही हवल्दारलाई लाने र घुमुवा राख्ने गरेका छन् । त्यसरी लानुको कारण अतिरिक्त आम्दानीको कुरा लिक नहोस् भनेर नै हो । पर्साका यसअघिका एसपी सोमेन्द्रसिंह राठौरले इन्स्पेक्टर अलिअख्तर अन्सारी, सई विदुर शिवाकोटी र सिपाही सुरेन्द्रबहादुर कार्कीलाई अपराध महाशाखाबाट आफूसँगै लगेका थिए ।

    घुमुवाको पहुँच आइजीपीसम्म

    घुमुवा प्रहरी तल्लो दर्जाका भए पनि उनीहरुको पहुँच आइजीपीसम्म नै हुन्छ । हालका आइजीपी ठाकुर ज्ञवाली बाराको एसपी हुँदा असई उपेन्द्र साह घुमुवा थिए । उनीपछिका हरेक एसपीको पालामा उनी घुमुवाका रुपमा जिल्लाभर तस्करीदेखि विभिन्न क्रियाकलाप गर्नेहरुसँग असुली गर्ने मौका पाए । सई बढुवापछि उनी घुमुवाकै रुपमा बारामै पदस्थापन भए । प्रद्युम्न कार्की २ नम्बर प्रदेशको डीआइजी भएपछि उनले त्यस प्रदेशका बदनाम घुमुवा हटाउने अभियानै सुरु गरे । त्यसक्रममा उनले सई उपेन्द्र साहलाई गणमा सरुवा गरे । तर ठाकुर ज्ञवाली आइजीपी हुनासाथ साहले उनलाई फोन गरी बारामै पठाउने ब्यवस्था मिलाइदिनू भने । आइजीपी ज्ञवालीले डीआइजी कार्कीलाई भन्न सकेनन् ।  धिरजप्रताप सिंह २ नम्बर प्रदेशमा सरुवा हुनासाथ आइजीपी ज्ञवालीले साहलाई बारामै फर्काउन आदेश दिए । डीआइजी सिंहले उनलाई किन सरुवा गरिएको थियो भन्ने हेर्दै नहेरी पुनः बारामा फर्काए । र, अहिले साह बारा प्रहरीका घुमुवाका रुपमा अतिरिक्त असुलीमा लिप्त छन् ।

    धनुषामा धेरै गुनासो आएपछि बैजु यादवलाई डीआइजी प्रद्युम्न कार्कीले प्रहरी प्रधान कार्यालयमा भनेर पाल्पा काजसरुवा गराए । डीआइजी कार्की सरुवा बैजुलाई पनि पुनः सर्लाहीमा ल्याई घुमुवामा राखिएको छ । पूर्वआइजीपी सर्वेन्द्र खनालका निकट सई विजय यादवमार्फत् भनसुन गरी उनी पुनः सर्लाही फर्किन सफल भएका छन् । महोत्तरीका धर्मेन्द्र यादवलाई डीआइजी कार्कीले सिरहामा प्रहरीको युनिफर्म लगाएर ड्युटीमा तैनाथ गर्न निर्देशनसहित सरुवा गरे । तर कार्की २ नम्बर प्रदेशको प्रहरी प्रमुखबाट सरुवा हुनासाथ धर्मेन्द्र महोत्तरीमै फर्किएर घुमुवाकै ड्युटी गर्न थालेका छन् । र, एसपी श्यामकृष्ण अधिकारीपछि सरुवा भएका टीकाबहादुर केसीको असुली टिममा छन् ।

    तस्वीरः माथि बायााँबाट क्रमशः सुशीलसिंह राठौर, विश्वमणि पोखरेल, कृष्ण पँगेनी, गंंगा पन्त, तल्लो लाइनमा रामरेख यादव, रविभूषण यादव, नवीनकुमार थापा र सीताराम खतिवडा

    शुक्रवार, आषाढ १२ २०७७०९:०८:३२

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]