Logo
  • मंगलवार, आषाढ २३ २०७७Jul 07 2020

योगाको इतिहास र वर्तमान आवश्यकता

योगाको इतिहास र वर्तमान आवश्यकता

  • नेपाल फेस

  • आइतवार, आषाढ ७ २०७७


  • योगाको इतिहास र वर्तमान आवश्यकता

    झपिन्द्रकुमार खत्री

    योग एउटा बिज्ञान हो, योग र ध्यान साधना हाम्रो प्राचिन सभ्यताको मौलिक उपज हो । योगाको इतिहास धेरै पुरानो र लामो छ । ब्रह्माण्डको उत्पत्तिसंगै योगाको उत्पत्ति भएको मानिन्छ । ६ हजार बर्ष अगाडिको समयदेखि पतंजली योग दर्शन रहेको मानिन्छ र पतंजली साधारण मानिस थिए र उनी ध्यान गर्दथे । पतंजलीको औषधि र योगा उपचार मार्फत् उनी प्रख्यात थिए र आज विश्वव्यापी रुपमा पतंजली औषधि र योगा प्रख्यात छ ।

    योग दर्शनले इश्वर लाइ मान्दैन, धर्म आस्था हो तर योग प्रयोगात्मक छ । पूर्वजहरुको जीवनपथ योगा थियो । त्यसवेला धर्तीमा मानवहरुले अनेक प्रकारका चमत्कार गरेका थिए र सांख्य दर्शन (सही ज्ञान) योगको सुरुवात भएको मानिन्छ र कपिलमुनी ऋषिले सुरु गरेको भनाइ छ । ५ सय बर्ष पुरानो योगा आसनको आकृति त्यसबेलाको चित्रबाट जानकारी हुन्छ, योगको मुद्रा आसनमा बसेको, भद्रासनमा बसेको देख्न सकिन्छ । ३ सय बर्ष अगाडिका मन्दिरहरुमा महिला र पुरुष दुबैको मूर्तिबाट योगाको आसनलाइ स्पष्टसँग संकेत देख्न सकिन्छ । बर्षौ पुराना शिलालेखहरुमा हडप्पा सभ्यतामा पर्ने योग कद, चिन्ह भेटिन्छन् । गायत्री मन्त्रबाट पनि योगको बिस्तार थाहा हुन्छ जुन मन्त्रको अन्तिममा धिमहिः शब्दको अर्थ ध्यान गर्नु हो ।

    om.jpg

    ऋग्वेद, यजुर्वेद, सामवेद र अर्थववेदमा पनि योग र ध्यानको चर्चा गरिएको छ । पतंजली दर्शन भन्दा करिब ३ सय बर्ष पहिले भगवान बुद्धले ज्ञानको खोजीको सिलसिलामा ध्यान गरे र बुद्धत्व ज्ञान हासिल गरे । बुद्धको कठोर तपस्याको आसन योगा थियो जुन पदमासन थियो र बैशाख पुर्णिमाको दिन ज्ञान प्राप्त भएको थियो र सात दिन केही नखाई उभिएर दायाँबायाँ नहेरी क्रियासनमा ध्यान गरे, त्यो पनि योगको आसन थियो । मूर्तिकारहरुले मूर्तिको निर्माण गर्दा ध्यानमार्फत् चित्र उतार्ने गर्दछन् । ध्यानविना ज्ञान र योगविना वल र चेतना प्राप्त हुँदैन । अरुजाई जित्नु वीर हुनु हो र आफैंलाई जित्नु महावीर हुनु हो, त्यो योगको माध्यमबाट सम्भव हुन्छ ।

    विभिन्न वेदहरुमा योगको बर्णन गरिएको छ । जस्तै, मछिन्द्रयोग । नेपालमा पनि मछिन्द्रनाथको मन्दिरमा पनि मछिन्द्र योगासनका चित्रहरु देख्न सकिन्छ ।
    सन् १८९३ मा सिकागो योग सम्मेलनमा योगलाई विज्ञानको रुपमा ब्याख्या गरिएको थियो । योगलाई ब्यवस्थित र संगठित पतंजली योग दर्शनले गरेको पाइन्छ । जीवनलाई घनिष्टतासँग जोड्ने कार्य पतंजली योग दर्शनले गर्यो । ब्रम्हा, शिव, मछिन्द्र, पतंजली, रामदेव हँुदै आज विश्वका करिब १ सय ८० वटा मुलुकमा योगालाई ग्रहण गरिएको पाइन्छ भने २१ जुनलाई योगा दिवसको रुपमा मनाउँदै आइरहेको पाइन्छ । आज नेपालमा पनि पतंजली, बाबा रामदेव, आर्ट अफ लिभिङ र विभिन्न संघ संस्थामार्फत योगाको ब्यापक विकास भैरहेको छ ।

    पतंजली योग दर्शनका आफ्नै नियम छन् । योगका आठ अङ्ग हुन्छन, क्रमशः जुन यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि हुन् । यम र नियम का ५ नियम हुन्छन् । यममा अहिंसा, सत्य, असत्य, अपरिग्रह र ब्रम्हाचार्य त्यस्तै नियममा–सोंच, सन्तोष, तप, स्वाध्याय र इश्वरर्प्रानिध्याय आदि । स्वामी रामदेवले पुष्टि गरेका छन् कि नियमित योगाको क्रियाले मानिसको शरीरको तौल आधा घन्टामा ५ सयदेखि ८ सय ग्रामसम्म घटाउन सकिन्छ र स्वासप्रश्वास प्रणालीलाई राम्रो बनाउन सकिन्छ । शरीर स्थिर बनाई स्वासलाई नियन्त्रणमा लिई सुरक्षित गर्ने प्रक्रियालाई प्राणायाम भनिन्छ । यसले चंचल मन काबुमा राख्दछ र चेतनालाई शुद्ध बनाउँदछ । गन्दरुपी आहारलाई परित्याग गरी प्रत्याहारको प्रक्रियालाई योगाले व्यवस्थित गर्दछ । आर्ट अफ लिभिङ पनि एउटा महत्वपुर्ण योगा सिकाउने संस्था हो । विश्वका करिब १ सय ५६ वटा मुलुकमा यसका शाखा छन् र सन् १९९२ मा यसको स्थापना भएको हो । समाजका सबै क्षेत्रमा योगाको उपादेयता छ । आर्ट अफ लिभिङका सस्थापक श्री श्री रविशंकर हुन् ।

    योगा एक जीवनको यात्रा हो जसको माध्यमबाट सुख, शान्ति, ज्ञान र संस्कृति प्राप्त गर्न सकिन्छ । यसको नियमित प्रयोगले मानिसको दिमागलाई सन्तुलित र स्वस्थ राख्दछ र मानिसलाई शान्तिसँग बाँच्न प्रेरित गर्दछ । शरीरले चाहिने भन्दा धेरै खानेकुरा पचाउन सक्दैन र भयानक रोग निम्त्याउँछ र खानपिनमा ध्यान दिनु जरुरी हुन्छ तर यो योगाको माध्यमबाट यसलाई निराकरण गर्न सकिन्छ ।

    आर्ट अफ लिभिङको योगको नियमित लगाव गर्न सकियो भने हामीले हाम्रो शरीरलाई व्यवस्थापन गर्दै जीवनलाइ राम्रो बनाउन सक्छौ । यस योगा र ध्यानभित्र भ्रात्सिका, प्राणायाम र उज्जयी लगायतका योगहरु पर्दछन् जुन हाम्रो दैनिक जीवनमा प्रयोग गरी जीवनलाई खुसी र आनन्दमय बनाउन सक्छांै । योगाको नियामित क्रियाले दिमागलाई पूर्वाग्रहबाट मुक्त बनाउन सक्छौ र सत्य बाटोमा हिंड्न थाल्छौ ।

    शरीर र मनको प्रशोधन योग हो । योगा संकृति हो, जीवनको सारथि र यात्रा हो । योगको माध्यमबाट मानव शरीरका हरेक अंग जति चाल र गतिप्रदायक हुन्छन त्यति नै उर्जा र बल प्राप्त हुन्छ । यसले पूरै शरीरको प्रणालीलाई सही ठाउँमा राख्दछ । भौतिक शरीर, मानसिक अवस्था र शारीरिक अनुभूतिलाई सन्तुलनमा राख्न र स्ट्रेस कम गर्न योगा फलदायी हुन्छ । आजको दुनियामा योगा धेरै नै महत्वपूर्ण कुरा भएको छ र दैनिक जीवनमा दिमागलाई सन्तुलनमा राख्न आवश्यक बनेको छ । मानिसको जीवनलाई सुखी, खुसी र सामान्य बनाएको छ ।

    मानिसहरु कडा परिश्रम र गम्भीर चिन्तन गर्ने गर्दछन् भने धेरै कारणबाट दिमागलाई असर गरिरहेको हुन्छ । स्वास्थ्यमा हानी पुर्याइरहेको हुन्छ र योगको माध्यमबाट यसलाई निराकरण गर्न सकिन्छ । यदि हामीले नियमित योगा गरिरहने हो भने सबै जसो समयमा स्वस्थ भएर चिन्तन मनन गर्न सकिन्छ । कुनै काम गर्दा र त्यसलाई प्रोत्साहन गर्दा योगको प्रयोगले सही निर्णय लिन सहयोग पुग्दछ । थकाईले जटिलता ल्याउने गर्दछ, समाजमा क्रियाशील सबै मानिसहरु आफ्नो क्षेत्रको नेतृत्व गर्नबाट पछि हट्ने अवस्था आउने गर्दछ, त्यसबेला योगा आवश्यक हुन्छ ।

    सन् १०१५ बाट संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेपछि संसारभर जुन २१ लाइ योग दिवसका रुपमा मनाइँदै आएको छ । नेपालमा हरेक वर्षको माघ महिनाको १ गतेलाई राष्ट्रिय योग दिवसको रुपमा मनाउँदै यसको थालनी गरिएको छ । यस समयमा सम्पूर्ण विश्वभरि र नेपाल पनि कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ । कोरोना भाइरसको भ्याक्सिन पत्ता नलागिसकेको सन्दर्भमा हामीले पौष्टिक आहार, योगा, ध्यान र उच्च मनोवल अनिवार्य कुरा हुन् । यस अवस्थामा शरीरमा उर्जा र शक्ति प्राप्त गर्नका लागि योगा महत्वपूर्ण पाटो बनेको छ ।

    युरोपियनहरुको दैनिकी बिहानको योगाबाट सुरु हुन्छ । एसिया, अमेरिका लगायत विश्वका करिब सबैजसो देशका मानिस योगाबाट प्रभावित छन् । आज योगा भौतिक शरीरको वजन कम गर्न प्रयोगमा छ र यस योगा ध्यान गरेमा ब्रेनलाइ सन्तुलित राख्दछ, निर्णय गर्ने, चिन्तन गर्नसक्ने र शरीरलाई बलियो बनाइराख्न मद्दत गर्दछ । योगा जीवनको यात्रा हो, जति योग नियमित गर्यो मानिसलाई खुशी र प्रेम भाव दिन्छ र समाज बदल्ने सही सोंचको विकास गर्दछ । योगले जीवनलाई एकीकरण, विविधिकरण र आशावादी बनाउँछ जुन एउटा स्वस्थ मानिस बन्न आवश्यक र अनिवार्य छ ।

     

    आइतवार, आषाढ ७ २०७७०९:२५:०६

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]