Logo
  • मंगलवार, आषाढ २३ २०७७Jul 07 2020

सबैभन्दा गुणस्तरीय क्वारेन्टिन कालिगण्डकी गाउँपालिकामा छः खिमबहादुर थापा, अध्यक्ष

सबैभन्दा गुणस्तरीय क्वारेन्टिन कालिगण्डकी गाउँपालिकामा छः खिमबहादुर थापा, अध्यक्ष

  • नेपाल फेस

  • बिहिवार, आषाढ ४ २०७७


  • सबैभन्दा गुणस्तरीय क्वारेन्टिन कालिगण्डकी गाउँपालिकामा छः खिमबहादुर थापा, अध्यक्ष


    खिमबहादुर थापा गण्डकी प्रदेश अन्तर्गतको स्याङ्जा जिल्लाको कालिगण्डकी गाउँपालिका अध्यक्ष हुनुहुन्छ । नेकपाको तर्फबाट अध्यक्षमा निर्वाचित युवानेता थापा जनताका काममा रातदिन खटिरहनुभएको छ । २०६८ सालको जनगणना अनुसार २१७२८ जनसंख्या भएको यो पालिकाको ७३.५१ वर्ग किमि क्षेत्रफल रहेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणमा गाउँपालिकाको तयारी र भइरहेका कामका बारेमा गरिएको टेलिफोन वार्ताः

    ० विश्वमा महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस रोकथामका लागि गाउँपालिकामा के कस्ता कार्यक्रमहरु सञ्चालन गरिरहनुभएको छ ?


    विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नेपालमा पनि प्रवेश भएसँगै हामीले यसको रोकथामकाबारेमा प्रचार प्रसार ग¥यौं । त्यसपछि हामीले सामुदायिक क्वारेन्टाइनको व्यवस्थापन गरायौं । क्वारेन्टाइनमा पनि आफ्नो प्रदेशबाट बाहिरबाट जो कोहि पनि प्रवेश गरेको अवस्थामा क्वारेन्टाइनमा राख्न सुरुवात ग¥यौं । विदेशबाट आएका दाजुभाइ दिदी बहिनीहरुलाई पनि १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गरियो । साथै क्वारेन्टाइनमा बस्नुभएकाहरुको लागि आरडीटी र पीसीआर परीक्षण गराउन लागियो । तर पनि प्रयाप्त नहुँदा हामी आफै आरडीटी किट खरिद गरेर काम ग¥यौं । साथै जनशक्तिको पनि व्यवस्थापन ग¥यौं । इण्डियाबाट आउनेहरुका निमित्त १२-१३ दिन पछि आरडीटी परीक्षण गराउने व्यवस्था मिलायौं ।

    लकडाउनका कारण हाम्रो विकास निर्माण ठप्प बन्यो । त्यसैक्रममा दैनिक रुपमा ज्याला मजदूरी गर्नेहरुका निमित्त जीवनयापनकै लागि पनि राहत वितरणको सुरुवात ग¥यौं । अहिले पनि अत्याआवश्यक पर्नेहरुलाई राहत वितरण गरिरहेका छौं । काम गर्न सक्नेहरुलाई काम पनि उपलब्ध गराएका छौं । नसक्नेहरुलाई राहत मात्रै उपलब्ध गराइएको छ । साथै कालिगण्डकी गाउँपालिकाका दिर्घ रोगीहरुका निमित्त निशुल्क रुपमा बजारबाट खरिद गरेर भएपनि औषधिको व्यवस्था गराएका छौं । अहिले भारतबाट आउनुभएको १ सय जना हाम्रो क्वारेन्टाइनमा हुनुहुन्छ ।
    ० कालिगण्डकीमा कतिवटा विद्यालयमा क्वारेन्टाइन बनाउनुभएको छ ? र क्षमता कति छ ?

    ६ वटा विद्यालयमा क्वारेन्टाइन बनाएका छौं । साथै वडा कार्यालय र स्वाथ्य चौकीमा गरी आठ ठाउँमा क्वारेन्टाइनको व्यवस्था गरिएको छ । अहिलेसम्म हामी कहाँ आन्तरिक छाडेर विदेशबाट १३० जना जत्ति घर फर्कनुभएको छ । यसरी हामी कहाँ झण्डै दुईसय जतिका लागि क्वारेन्टाइनमै बस्ने व्यवस्था छ ।

    ० क्वारेन्टाइनको बारेमा मापदण्ड र खानाको गुणस्तरको बारेमा अन्यत्र पनि गुनासाहरु आइरहेका छन् । तपाईको पालिकाको अवस्था कस्तो छ ?

    क्वारेन्टाइनका बारेमा बढी चर्चा गुणस्तरको छ । हामीले क्वारेन्टाइनमा बस्नेहरुको लागि असाध्यै बिचार पु¥याएका छौं । हाम्रो ठाउँमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नभएपनि उच्च गुणस्तरका नै छन् । जहाँ विद्यालयमा बनाइएका छन्, अलिक वाथरुमको समस्या छ । तथापि स्याङ्जा जिल्लाको क्वारेन्टाइनमा सबैभन्दा राम्रो गुणस्तर कालिगण्डकी गाउँपालिकाको हो । त्यसैकारण पनि कवारेन्टाइनमा बस्नेहरुका निमित्त कुनै समस्या आएका छैनन् ।

    ० महामारीका कारण विश्व स्वास्थ्य संगठनले खाद्य संकट तर्फ पनि सचेत रहँन भनेको छ । यो गाउँपालिकामा उत्पादनको विषयमा देश विदेशबाट जन्मभूमि फर्कर्नेहरुलाई कसरी परिचालन गर्ने सोच बनाउनुभएको छ ?

    भोकमरी आउँछ भनेर निश्चितै गरिएको अवस्था त होइन । तर, स्थिति हेर्दा नआउला भन्न पनि सकिदैन । हामीले यस विषयमा उपयुक्त समयमा ध्यान दिनैपर्दछ । लकडाउनको सुरुवातसँगै हामीले खाद्यान्नको अभाव हुन नदिनका लागि एकदमै सचेतना अप्नाएका छौं । तथापि हामी अहिले पनि परनिर्भर नै छौं । यो गाउँपालिकामा उत्पादन भए पनि यहाँको खाद्यान्न उपयोग नगर्ने आम मानिसहरुको आदत नै बनेको छ । तथापि खाद्यान्न अभाव हुन नदिनका लागि ढुवानी व्यवस्थापनमा पनि सहजता अप्नाएका छौं । साथै यहाँका उत्पादनहरु पनि कम्तीमा ६ महिनाका लागि व्यवस्थापन गर्नेगरी मिलाएका छौं । यहाँ मकै प्रशस्त उत्पादन हुन्छ । तथापि कम खाने र बेच्न पनि नलैजाने प्रचलन छ । यहाँका मकै गाई भैंसीलाई नै खुवाएर सिध्याउने गरिन्छ ।

    ० युवाहरु विदेशिने क्रम बढेसँगै बन्जर जग्गा पनि बढेको छ । त्यस्ता खालका जमिन यो गाउँपालिकामा कति जति छ ?

    बाँझो जग्गा छाड्ने क्रम असाध्यै बढ्दो छ । तथापि ठ्याक्कै यति नै भन्ने डाटा त छैन । यो आर्थिक बर्षदेखि संघीय सरकारले भूमि नीति लागू गर्ने भनेर भनेको छ । त्यसभन्दा अघि नै हामीले पनि त्यसको निमित्त पूर्वाधार तयार गरिरहेका थियौं । अहिले कोरोना भाइरस महामारीका कारण फर्केका युवाहरुलाई यही रोजगारी सिर्जना गरेर कृषि क्षेत्रमा प्रोत्साहित गराउने योजनामा छौं । सामुहिक खेती प्रणालीमा आकर्षित गर्ने र देशमा आत्मनिर्भर बनाउने योजनामा छौं । यहाँ बाँदर आतंकले गर्दा पनि व्यवसायिक रुपमा खेतीपातीको उत्पादन गर्न निकै अप्ठ्यारो बनाएको छ । यसको दीर्घकालीन समाधान हुन सकिरहेको छैन । सरकारको कृषि क्षेत्रमा ठूलो लगानी छ । तर, पनि प्रतिफल प्राप्त हुन सकिरहेको छैन । कृषि क्षेत्रमा अनुदान नपुगेको महसुस भएको छ । त्यसैले कृषिमा लाग्न प्रोत्साहित गरी उत्पादन बढाउन मद्दत गर्ने योजनामा छौं ।

    ० कालिगण्डकी गाउँपालिकाको अध्यक्ष भएको नाताले पनि यहाँका जलाशयमा मत्स्यपालन व्यवसाय गरी आत्मनिर्भरतातर्फ पनि लाभ लिन केही योजना बनाउनु भएको छ कि ?

    एकदमै महत्वपूर्ण प्रश्न उठाउनुभयो । यहाँको विद्युत जलाशयमा हामीले अहिलेसम्म मत्स्यपालन गराउन सकिएको छैन । किनकि यहाँ एक वर्षमा ८ महिना मात्रै जलाशय हुन्छ । यसरी ८ महिनाको बीचमा पनि केही गर्न सकिन्थ्यो । त्यसका लागि धेरै पटक अध्ययन पनि गरेका छौं । त्यो वातावरण अझै बनाउन सकिएको छैन । तथापि व्यवसायिक रुपमा कालिगण्डकी आयोजनाको साइटमा बार बाधिसकेपछि बनाउने छौं ।
    ० पालिकाको प्रमुखमा निर्वाचित भएको पनि तीन वर्ष बितिसकेको छ । जनताले आशा र अपेक्षा गरेका के कति कामहरु गर्नुभयो ?

    हामीले आधा अवधि बिताइसक्यौं । यो अवधिमा हामीले अर्ध वार्षिक समीक्षाको क्रममा थियौं । तर, कोरोना भाइरसको महामारीले गर्दा स्थगन गर्नुप¥यो । यो गाउँपालिकाले शिक्षामा गुणस्तर ल्याउनका लागि विशेष योजना बनाएका थियौं । खानेपानी, सिंचाई लगायतमा पनि सँग–सगै अघि बढाउने सोचमा छौं । साथै स्वास्थ्यका क्षेत्रमा केहि सुधारका कार्यक्रमहरु अघि बढायौं ।

    त्यसै अनुसार कार्यान्वयनका पक्षमा पनि लागेको छौं । साथै सडक निर्माणमा पनि लामो लकडाउनको कारण केही अवरुद्ध भएका छन् । त्यसैगरी हामीले धार्मिक पर्यटनको पनि विकासमा लागिपरेका छौं । त्यसका लागि केन्द्रबिन्दु नै बनाउने सोचमा छौं । हामीले आधारभूत र मावि तहमा निःशुल्क शिक्षाको ब्यवस्था गरेका छौं ।

    यो गाउँपालिकामा चार वटा स्वास्थ्य चौकीहरु छन् । त्यसबाट मात्रै आवश्यक सेवा प्रदान गर्न नसकिने हुँदा गत वर्षदेखि हामीले अस्पताल सञ्चालन गर्न लागेका छौं । त्यसका लागि चिकित्सकका लागि पनि विज्ञापन गरिसकेका छौं । सिंचाईका लागि जति गर्नुपर्दथ्यो त्यो गर्न सकिरहेका छैनौं । नाममात्रै कालिगण्डकी र ठूलो जलविद्युत आयोजना रहेको ठाउँ भए पनि खानेपानी र सिंचाईको एकदमै समस्या छ । त्यसैले हामीले निर्वाचनताका एक घर एक धारा बनाइदिने भनेर जनतालाई आश्वस्त पारेका थियौं ।

    कृषि क्षेत्रमा सुधारका लागि हामीले ३७ हजार कागतीका बोटहरु लगाएका छौं । यो वर्षदेखि उत्पादन दिने अवस्थामा छन् । यसरी सबै क्षेत्रमा समानुपातिक रुपमा विकासका कामहरु अघि बढाउने क्रममा कालिगण्डकी गाउँपालिका लागि परेको छ । यसरी नै जनतालाई महसुस हुने व्यापक रुपमा विकासका कामहरु अघि बढाएका छौं ।

    ० सरकारले बन्दाबन्दीका कारण विद्यालय सुचारु नहुँदा वैकल्पिक विधिद्वारा पढाउनु भनेको छ । यो पालिकामा विद्यार्थीको पढाईलाई कसरी निरन्तरता दिनुहुन्छ ?


    सामाजिक दूरी कायम गरेर कक्षा सञ्चालन हुने कि ? रेडियो मार्फत् अध्ययन गराउने भन्नेमा हामी अझै निक्र्यौलमा पुगिसकेका छैनौं । इन्टरनेटका माध्यमबाट पढाउँदा सबै जनाको पहुँच छैन । त्यसैले यो विषयमा हामी छलफलमै छौं । त्यसैले सुरुवात गरिसकेका छैनौ । अहिले नै निष्कर्षमा पुगिसकेका छैनौं ।

     

    बिहिवार, आषाढ ४ २०७७०६:११:५१

    नेपाल फेस

    सम्बन्धित समाचार

    प्रधान सम्पादक- माधव पौडेल

    सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: १७८०/०७६-७७

    ईमेल: [email protected]