Logo
  • बुधबार, कात्तिक ३ २०७८Oct 20 2021

लकडाउन: के सिक्यौ ? के सिकायौ ?

लकडाउन: के सिक्यौ ? के सिकायौ ?

नेपाल फेस

असोज ११, २०७८ सोमबार
  • 5.7K
    SHARES

  • लकडाउन: के सिक्यौ ? के सिकायौ ?

    शब्द/तस्बिर राजेश घिमिरे र बन्दिता थापा

    काठमाडौं ।  २०७६ चैत ६ गतेबाट ११ गतेबाट सुरु भएको लकडाउनसँगै बन्द भएका स्कुल बिस्तारै खुल्न थालेका छन् । यो अवधिमा अन्य क्षेत्रभन्दा धेरै बढी नै शिक्षा क्षेत्रलाई शिथिल बनाइयो र बन्यो पनि ।

    बालबालिका र शिक्षाका क्षेत्रमा काम गरिरहेका संस्थाहरूले कोभिड १९ को महामारीका कारण स्कुल बन्द हुनुको सबै भन्दा ठूलो मार संसारभरिका अझ विशेषगरी नेपालजस्ता गरिब मुलुकका बालबालिकाको सिकाइमा परेको छ भनेर भनिरहेका छन्।यो सत्य किन पनि हो भने नेपालमा जस्ता मुलुकका सरकारहरूले इन्टरनेटका माध्यमबाट स्मार्ट फोनलगायतका ग्याजेट मार्फत बालबालिकालाई पढाउने त भने तर दुई छाकको जोहो गर्न नसक्ने परिवारका बालबालिकाको पहुँच इन्टरनेट र फोनमा छ कि छैन भनेर सोच्दै सोचेनन् ।

    हाम्रा सरकारहरूले रेडियो र टेलिभिजनबाट पनि पढाउन थाले तर तिनको प्रभावकारिताका बारेमा कसैले सोचेनन् । संख्यात्मक रूपमा धेरै घण्टा शिक्षकहरू रेडियो र टिभिमा कराए तर गुणात्मक रूपमा यो एकोहोरो शिक्षा बालबालिकाले ग्रहण गरे की गरेनन् त्यो पनि कसैले सोच्दै सोचेनन् ।

    5.jpg

    महामारीका क्रममा बालबालिकाको शिक्षामा खासै ध्यान नदिइएको अवस्थामा अलिक प्रभावकारी देखियो, धनुषामा गरिएको प्रत्यक्ष सिकाइको प्रयोग। धनुषाको सबैला, गणेशनाथ चारनाथ र नगराइन नगरपालिका तथा लक्ष्मीनियाँ गाउँपालिकामा आसमान नेपालले निक शिक्षा दिअ परियोजना सञ्चालन गरिरहेको थियो ।

    4.jpg

    परियोजनाले बालश्रममुक्त गर्ने, शतप्रतिशत विद्यार्थीलाई विद्यालयमा भर्ना गराई नियमितता गराउने, विद्यालय र घरमा बालमैत्री तथा लैङ्गिकमैत्री सिकाइ अभिवृद्धि गर्ने मुख्य लक्ष्य लिएको छ । यसमा धनुषाका ९२ विद्यालयमा १७ हजार विद्यार्थी जोडिएका थिए ।

    अचानक, कोभिड १९ को महामारी फैलियो, विद्यालय बन्द भए । लामो समयसम्म विद्यालय बन्द भएपछि कलिला विद्यार्थीहरुको मन, मस्तिष्कमा पर्ने असर न्युनिकरण गर्न सक्ने सहज बाटो खोज्न मुश्किल पर्न थाल्यो ।

    यसबीचमा आसमान नेपालका शिक्षाकर्मीहरूले बौद्धिक राहत वितरण अभियानका नाममा एउटा मौलिक अवधारणा जन्माए । यो अवधारणा अन्तरगत लकडाउनको पालना गर्दै भौतिक र सामाजिक दुरीको कायम गरेर स्थानीय एक जना युवाले पाँच जना बालबालिकालाई आफ्नै घरवरीपरीको खुल्ला स्थानमा पढाउने अभियान थालियो ।  

    1.jpg

    आसमान नेपाल कार्यक्रम व्यवस्थापक दिलिपकुमार यादवका भनाईमा  युवाहरूलाई परिचालित गरेर पढाउन सुरु गरेपछि यसको प्रभाव राम्रो देखियो । त्यसमाथि नेपाल सरकारले तयार गरेको  अभिभावकको सहयोगमा घरमा नै सिकाउने क्रियाकलाप समेटिएको पुस्तकलाई ‍बालबालिकाका हातमा पुर्‍याउन सक्नुले पनि धेरै राम्रो काम गर्‍यो ।

    अहिले भन्दा खेरी स्कुल बन्द भएर सबै बालबालिका घरमा रहेका बेलामा स्थानीय युवालाई परिचालित गर्दै टोल टोल अभिभावकको सहयोगमा घरमा नै सिकाउने क्रियाकलापबाट सिकाइ उपलब्धिमा बृद्धि गर्ने काम त भयो तर त्यो त्यति सहज भने पक्कै थिएन । सबै काम कागज र प्रत्यक्ष भेटघाटबाट हुने हाम्रो समाजमा अचानक सबै कुरा फोन र इन्टरनेटका माध्यमबाट गर्न पर्दा असहज हुनु स्वाभाविक नै हो । पढाई प्रत्यक्ष गर्ने भने पनि त्यसको तयारीदेखि प्रतिवेदन बनाउनेसम्मका समग्र काम त अनलाइन नै गर्न पर्ने थियो । त्यो अनलाइनको काम न विद्यालयका शिक्षकलाई आउने न गैरसरकारी संस्थाका अभियानकर्मीलाई आउने ।   

    त्यसमाथि हामीकहाँ सिकाइ उपलब्धि साह्रै कमजोर छ। यसको पुष्टि शिक्षा मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सन् २०११ (२०६७) देखि हरेक वर्ष गर्दै आएको विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षणबाट हुँदै आएको छ । त्यसैले पनि राष्ट्रिय परीक्षणका प्रतिवेदनहरूमा बालबालिकाको विद्यार्थीको न्यूनतम सिकाइस्तर हासिल गराउनका लागि सबै सरोकारवालाहरू उत्तिकै जिम्मेवार हुनुपर्ने र कक्षाकोठाको शिक्षण सिकाइमा विशेष ध्यान दिनेपर्नेमा जोड दिइदै आएको छ । ती प्रतिवेदनमा कुनै पनि बालबालिकाहरू सिकाइको न्यूनतम स्तर हासिल गर्नबाट वञ्चित नहुने गरी कक्षाकोठामा सुधारको खाँचो देखाउँदै आएको छ । अब गरिने विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षणबाट आउने सम्भावित खत्तम सिकाइ उपलब्धिको दोष पक्कै पनि कोभिड १९ को महामारीलाई दिइने छ। तर त्यसो भनेर शिक्षक, पालिका र मन्त्रालयहरू यसबाट भाग्ने ठाउँ भने छैन । किनकी राष्ट्रिय परीक्षणका प्रतिवेदनहरूमा नै शिक्षण सिकाइ क्रियाकलापमा सुधार ल्याउनका लागि शिक्षकको भूमिका महत्त्वपूर्ण हुन्छ र त्यसका लागि हाम्रा शिक्षकमा क्षमता, जवाफदेहिता, तालिम तथा उत्प्रेरणा विकास गर्न आवश्यक छ भनेर भनिसकेको छ।

    गणेशनाथ चारनाथ नगरपालिकाका अभियानकर्मी सुरेन्द्र सिंह भन्नुहुन्छ, "अलिअलि फेसबुक हेरेको हो। अरू त केही आउथेन नि। म्यासेन्जर कसरी चलाउने अरू एप कसरी चलाउने भन्ने सबै लकडाउनमा नै सिकेको हो।अनि अरूलाई सिकाएको हो। "

    हो पनि लकडाउनमा धनुषामा गरिएको प्रत्यक्ष सिकाइको प्रयोगका क्रममा बालबालिका मात्र होइन शिक्षकलाई समेत सिकाउने काम भयो।

    नगराइन नगरपालिकाका सामाजिक परिचालक श्यामसुन्दर महतो भन्नुहुन्छ, " हाम्रो त जिन्दगी नै कागजमा प्रतिवेदन बनाउदै गयो नि । लकडाउनमा पो यी सब इलोकट्रोनिक कुरा सिक्ने मौका मिल्यो । नजानेको कुरा हामीले सिक्यो अनि विद्यालयका शिक्षकहरूसँग सिक्ने सिकाउने काम भयो ।" 

    6 .jpg

    महामारी अलि बढी फैलिदा गाउँटोलमा बालबालिकालाई प्रत्यक्ष सिकाउने काम पनि बन्द भयो । गणेशनाथ चारनाथ नगरपालिकाकी सामाजिक परिचालक ललिताकुमारी यादव भन्नुहुन्छ, "त्यस्तो बेलामा हामीले बालबालिकालाई मोबाइलबाट हाजिरीजवाफ खेलाउने काम गरेम्। त्यस्तोमा अभिभावक आफै सक्रिय भए अनि हामीलाई पनि सिकाउनु न मिस भन्न थाले।"

    लक्ष्मिनियाँ गाउँपालिकाका क्षेत्रमा कार्यरत रितु तिवारीको अनुभवमा कोभिड १९ ले धेरै कुरा खोसेपनि प्राविधिक रूमा सक्षम बनाएर गएको छ। शिक्षकहरू ससाना मोबाइल छोडेर ठूला स्क्रिन भएका मोबाइल चलाउन थालेका छन्। रितु तिवारी भन्नुहुन्छ, " यो सिक्ने सिकाउने क्रम जारी रहे त हामी निकै अगाडि पो पुग्छौ होला।" 

    तर लकडाउन सकिएपछि  सिक्ने सिकाउने काम जारी रहला त ?

     

     

    सम्बन्धित समाचार