Logo
  • बिहीबार , असोज ७ २०७८Sep 23 2021

आनन्ददेव भट्टको सम्झनामा

आनन्ददेव भट्टको सम्झनामा

रामप्रसाद श्रेष्ठ

भदौ १७, २०७८ बिहीबार
  • 8.5K
    SHARES

  • आनन्ददेव भट्टको सम्झनामा

    २०७२ भदौ १४ गते बिहान ३ बजे आनन्ददेव भट्टको मृत्यु भएको खबर उहाँका साला मेरो मित्र वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलबाट थाहा पाउँदा म स्तब्ध भएको छु । उहाँ मेरो औपचारिक शिक्षामात्र होइन, अनौपचारिक शिक्षा अर्थात् माक्र्सवाद र नेपाली साहित्यको पनि गुरु हो ।

    भट्ट पहिला धनकुटा कलेजमा पढाउनुभयो । त्यसपछि महेन्द्र कलेज, धरानमा पढाउन थाल्नुभयो । २०१९ बि.स.मा म आई.ए. प्रथम बर्षमा भर्ना हुदाँ उहाँले अंगे्रजी पढाउनुहुन्थ्यो । धरान बामपन्थी विचारले प्रभावित भएको क्षेत्र भएको कारणले नरेश शाक्य, कृष्ण पाख्रिन, वेणु आचार्य र म लगायतको जमात विस्तारै थाहा नै नपाई वामपन्थी विचारले प्रभावित हुन थाल्यौं । त्यसबेला हामीलाई माक्र्सवादको अध्ययन गर्न उहाँको ठूलो प्रेरणा र सहयोग छ । पछि गएर स्व. कृष्णप्रसाद श्रेष्ठ वी.ए., स्व. टीकाप्रसाद शर्मा (टिका गुरु), स्व. मानबहादुर शाक्य र भट्ट सरको अगुवाईमा साहित्य परिषद, धरान गठन भयो । जसले धरानमा एउटा साहित्यिक वातावरणको सृजना भयो । त्यही कारणले कृष्ण पाख्रिन, नरेश शाक्य, वेणु आचार्य, मानबहादुर शाक्य, बम देवान, गोविन्द विकल, ज्ञान उदास, कुन्ता शर्मा जस्ता उदीयमान कवि, कवयत्रीको जन्म हुन पुग्यो ।

    साहित्य परिषदको गोष्ठीमा धनकुटाबाट तुलसी दिवस, दयाराम श्रेष्ठ र विराटनगरबाट बालकृष्ण पोख्रेल, संखुवासभाबाट बल्लभमणि दाहाल जस्ता राष्ट्रियस्तरका साहित्यकार तथा लेखकहरुको उपस्थिति हुन्थ्यो ।त्यो माहौलले नलेख्नेलाई पनि लेख्नका लागि उत्पे्ररण जाग्दथ्यो । यसक्रममा मैले पनि २०÷२० वटा कविता लेखेको थिएँ जो आज पनि मेरो डायरीमा सुरक्षित छन् । शिक्षा र साहित्यमा मात्र होइन म जस्ता धेरैलाई राजनीतिमा सक्रिय बनाउन पनि उहाँको योगदान छ भन्नुमा कन्जुस्याई गर्नुहुँदैन । हामी जतिवेला पञ्चायत व्यवस्थाविरुद्ध विद्यार्थी राजनीतिमा सक्रिय थियौं, त्यसबेला एउटा घटनाको स्मरण नगराउँदा उहाँमाथि अन्याय हुन्छ ।

    २०२२ सालमा नारायणसिंह डीआईजी काण्ड भन्ने नेपालको राष्ट्रव्यापी विद्यार्थी आन्दोलन विद्यार्थी आन्दोलनमा एउटा चर्चित आन्दोलन हो ।त्यसबेला विद्यार्थी नेतृत्वमा म पनि एउटा सक्रिय कार्यकर्ता थिएँ । हामीले सुरु गरेको विद्यार्थी आन्दोलनमा स्व. आनन्ददेव भट्ट पनि सहभागी हुनुहँुदोरहेछ । अचानक प्रहरीले लाठीचार्ज गर्यो र त्योे लाठीचार्जबाट एक महिला विद्यार्थी तुमला पोखरेल हाल गण्डकी प्रदेशको उपसभामुख सृजना शर्माको नामले चिनिन्छ, को टाउको फुट्यो । धेरैको टाउको फुट्यो तर मलाई उहाँको नाममात्र स्मरण छ । उक्त जुलुसमा भट्ट सर पनि हुनुहुँदोरहेछ ।अचानक उहाँले महेन्द्र शाही मुर्दावादको नारा लगाउनुभयो । र, हामीले पनि युवा जोशले नडराई महेन्द्र शाही मुर्दावादको नारा लगाई धरानभरी जुलुसको परिक्रमा गर्यौं ।

    सम्भवतः २०१७ पुस १ गतेपछि स्व. शैलजा आचार्य, स्व. मार्सलजुलुम शाक्य, कमल कोइराला र मदन रेग्मीहरुको नेतृत्वमा महेन्द्र मुर्दावादको नारा लगाए पश्चात त्यस प्रकारको नारा लगाएको स्थान धरान हो । त्यसबेला उक्त जुलुशमा अभिनारायण सुवेदी, नरेश शाक्य, इन्द्रकुमार श्रेष्ठ, सावित्री श्रेष्ठ, हिरा रिजाल भएको मलाई स्मरण छ । अरुको स्मरण राख्न नसकेकोमा क्षमाप्रार्थी छु ।यसरी आनन्ददेव भट्टले धरानमा शिक्षा, साहित्य तथा राजनीतिमा पुर्याएको योगदान स्मरणीय छ । यसबाहेक उहाँ धरान छाडी भरतपुर चितवनमा जानुभयो र भरतपुर कलेजको संस्थापक प्रिन्सिपल बन्नुभयो । उहाँले साहित्यमा पुर्याउनुभएको योगदान मेरो बुताले चर्चा गर्न सक्दिनँ, त्यो जगजाहेर पनि छ । पछि उहाँ आप्mनो जन्मस्थल बैतडीमा नेकपा एमालेको सचिव भई काम गर्नुभयो, जो व्यक्तिगत हितको लागि उहाँलाई आवश्यक थिएन । केही बर्ष त्यहाँ राजनीतिक जीवन बिताउनुभयो । पछि के कति कारणले बैतडी छाडेर काठमाडौं बस्न थाल्नुभयो ।

    उहाँको जीवनको यत्रो योगदानलाई नेकपा एमाले तथा अन्य वामपन्थी पार्टीहरुले कुनै मूल्याङ्कन नगर्नु भएको म जस्ता धेरैलाई खड्केको छ । अहिले उहाँको मृत्यु पछि त्यस पार्टीले गरेको योगदानको चर्चा गोहीको आँशु हुनेछ । उहाँले जहिले भेटे पनि मलाई प्रेरणा दिनुहुन्थ्यो । म आज जे जस्तो छु त्यसमा उहाँको प्रेरणाको ठूलो हात छ । अलबिदा भट्ट सर ।

    (लेखकः बरिष्ठ अधिवक्ता हुनुहुन्छ ।)

    रामप्रसाद श्रेष्ठ

    सम्बन्धित समाचार
    Logo
    बिहीबार , असोज ७ २०७८Sep 23 2021
    images