Logo
  • शनिवार, श्रावण ९ २०७८Jul 24 2021

समृृद्धिका लागि प्राकृतिक स्रोतको उपयोग

समृृद्धिका लागि प्राकृतिक स्रोतको उपयोग

  • 15.6K
    SHARES

  • समृृद्धिका लागि प्राकृतिक स्रोतको उपयोग

    धनपति सापकोटा

    प्राकृतिक श्रोतको उपयोगलाई एकथरी कथित प्रकृतिप्रेमी स्वनामधन्य विज्ञहरुले प्राकृतिक पदार्थको दोहनको विषेषण भिराउने गरेको पाइन्छ । प्राकृतिक स्रोतको उपयोग गर्नु त्यस भूमिवासीहरुको नैसर्गिक अधिकार तथा कर्तव्य दुवै हो । विकसित कोटीमा गनिएका देशहरुले पनि आफ्नो देशको प्राकृतिक श्रोतलाई व्यवस्थित उपयोग गरेर धनी तथा विकसित भएका हुन । अझ शक्तिशाली कहलिएका कतिपय देशहरुले त आफ्नो देशका स्रोतको उपयोगका माध्यमबाट धनी वन्नुका साथै अरुका देशका प्राकृतिक श्रोतको दोहन गरेर साम्राज्य विस्तारमा शक्ति आर्जन समेत गरेका छन् । तसर्थ प्राकृतिक श्रोतको व्यवस्थित र प्रभावकारी उपयोगलाई दोहनको परिभाषा दिएर देश र जनतालाई समृद्ध वनाउने ढोका वन्द गर्नु घुमाउरो भाषामा विकास विरोधी कुरा हो । केही डलरपाचक कथित प्रकृति प्रेमीहरुले घुमाउरो भाकामा सरकारको विरोध तथा परचक्रीको हितमा कुरा गरिरहेको पनि नसुनिएको होइन ।

    हाम्रो नेपालको इतिहास हेर्यो भने राणा प्रधानमन्त्री वीर सम्शेरले ब्रिटिस इण्डिया सरकारको चाकरी गर्न तथा आफ्नो खल्ती भरी विदेशी बैंकमा धन जम्मा गर्न आफ्ना भाइ खड्गशम्शेरलाई पाल्पाको वडाहामिक नियुक्त गरी नेपालको तराईका खँदिला सालका रुखहरु भारतीय रेल मार्गको पटरी निर्माणको लागि बिक्री गरेका थिए । ई.स.को १८८० र ९० को दशकमा नेपालको तराईको प्राकृतिक स्रोत अस्वभाविक दोहन गरिएको थियो । यहि रुख फडानी गरी विक्री गर्ने क्रममा नै लुम्विनीको अशोक पिल्लर (वुद्ध जन्मस्थान) सन् १८९५ मा पत्ता लागेको थियो भने नेपाली धरतीपुत्र थारु समुदायले आफ्नो जीवनधाराको रुपमा रहेको वनजंगल फडनी गर्न अस्वीकार गर्दा सीमावर्ती भारतीय क्षेत्रबाट मानिस बोलाई रुख फडानी गरेको जमीन प्रतिव्यक्ति ५ विघाका दरले विदेशीलाई वाँडिएको थियो । त्यसरी आवाद भएको जमिनबाट प्रसस्त लगान उठाउन भारतीय जमिन्दार झिकाई जमिनदारी प्रथाको पनि थालनी गरीएको थियो । (उस वखतको नेपाल सरदार भीमवहादुर पाँडे) यस्ता कार्यलाई प्राकृतिक श्रोतको दोहन भनिन्छ ।

    प्रजातन्त्रपछि २०३६ सालमा राजा वीरेन्द्रले घोषणा गराएको बहुदल निर्दलको जनमत संग्रहमा निर्दलीय पक्षको विजय गराउन तत्कालीन प्रधानमन्त्री सूर्यवहादुर थापाले नेपालका तराईका जंगल मासेर भारतलाई बिक्री गरेका थिए । यस कार्यलाई पनि हामी प्राकृतिक श्रोतको दोहनको कोटीमा राख्न सक्दछौं ।

    हालै नेपालमा परेको भारी वर्षाका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खोलामाथि पहिरो खस्दा र सो पहिरोले वगाएर ल्याएको ढुंगा माटो बालुवा तथा वन पैदवारलाई एकै चोटी बगाउँदा मेलम्ची बजार तथा आसपसका तल्लो तटीय क्षेत्रमा अकल्पनीय क्षति हुन पुग्यो । बाढीले बगाएर ल्याएको पाँगो, ढुंगा तथा बालुवा मिश्रित पदार्थले साविकको मेलम्ची खोलाको जल सतह भन्दा सरदरमा विस फिट उचाईसम्म पुरिन पुगेको अवस्था छ । यस्ता थिग्रेन सामग्रीहरु यथासक्य छिटो हटाई बाढीको प्रवाहलाई निश्चित गर्नु पहिलो आवश्यकता हो । त्यस्तो प्राकृतिक सामग्रीहरु भौतिक विकासका विविध आयाममा उपयोग गर्नु प्राकृतिक श्रोतको उपयोग हो न कि दोहन । हाल मेलम्चीमा उकासिएको जल सतहलाई शीघ्र पुर्ववत गर्न सक्दा मात्रै भविष्यमा आउने बाढीबाट वच्न सकिन्छ । अन्यथा तटीय क्षेत्रका कृषि योग्य जमिनमा पुन क्षति पुग्न सक्ने सम्भावना प्रर्वल रहेको छ ।

    नेपालका हिमाल, पहाड, महाभारत पर्वत र सिवालिक पर्वत छिचोल्दै तराई निस्कने नदीहरुमा समय समयमा थिग्रन जाने यस्ता प्राकृतिक श्रोतहरुको व्यवस्थित उपयोगले नदीको वहावलाई सुनिश्चित गर्ने तथा जल सतहलाई माथि उठ्न नदिने हुनाले आसपासका तटीय क्षेत्रका कृषियोग्य जमिन तथा वन जंगलको सुरक्षा गर्न सकिन्छ । यस प्रकारको प्राकृतिक श्रोतको उपयोग गर्दा नदीजन्य प्रकोपको विस्तृत अध्ययन गरेर नदीको प्राकृतिक वहावमा प्रतिकुल असर नपर्ने गरी नदी जन्य श्रोतको उपयोग गर्नु हाम्रो परिप्रेक्ष्यमा बढी व्यवहारिक देखिन्छ ।

    तराईको चुरेबाट निस्कने नदी, खोलाहरुले बर्षेनी बगाएर थुपार्ने बालुवा, गिटी, पाँगो आदिले चुरे सम्मुखको मैदानी भागको सतह उकासिंदै गएको छ । जसका कारण वर्षातको समयमा आएको वाढीले नदी तथा खोलानालाको किनारको जमिन डुबानमा पर्नुको साथै किनारका उर्वर भूमि कटानको चपेटामा पर्ने गरेको छ । साथै समय समयमा नदी नालाले बहाव क्षेत्र परिवर्तन गर्दा हजारौंको संख्यामा आवासीय क्षेत्रहरु प्रभावित हुने गरेका छन् । तसर्थ नदी जन्य पदार्थको सही उपयोगले नदीलाई निश्चित मार्गमा बहन मद्दत गर्दछ भने त्यस्ता श्रोतहरुको उपयोगबाट तराई क्षेत्रमा बर्षेनी बृद्धि भइरहेको शहरीकरणमा सकारात्मक भूमिका निर्वाह गर्दछ । तराई क्षेत्रमा निर्माण हुने सडक संरचनामा यस्ता प्राकृतिक श्रोतहरुले टेवा पु¥याएको साथै स्थानीय सरकारहरुले आय आर्जनको श्रोतको रुपमा पनि उपयोग गरेका छन् ।

    यस्ता नदीजन्य प्राकृतिक श्रोतको उपयोग गर्दा अन्तर पालिका समन्वय, नदी किनारका जलाधार क्षेत्रको संरक्षण, नदी जन्य प्राकृतिक श्रोतको उपयोग गर्दा पालना गर्नु पर्ने मापदण्ड आदिको वारेमा सचेत रहने हो भने तथा कथित डलरपाचक प्रकृति प्रेमिहरुले दुस्प्रचार गरे भन्दा फरक नतिजा निकाल्न सकिन्छ साथै पानीजन्य प्रकोपबाट सहजै वच्न सकिन्छ । उदारणको लागि हाम्रो तराईका झापा र मोरङ्गका नदी तथा खोला खहरेहरुको प्राकृतिक श्रोतको उपयोगले तराईका क्षेत्रहरुमा विकास हुँदै गरेको शहरीकरण तथा सडक सञ्जाल निर्माणका गतिले टेवामात्रै पुगको छैन कि नदी तथा खहरे आसपासका जमिनजन्य पैदावारहरुको पनि सुरक्षा प्रदान गर्न सहयोगी सिद्ध भएको छ । साथै केही बर्षअघिसम्म वगरको रुपमा रहेका खाली जमिनलाई वृक्षारोपण तथा खेतीयोग्य जमिनमा रुपान्तरण गर्न मद्दत पुगेको छ भने नदी कटानको समस्यालाई न्यूनीकरण गरेको छ । 

    तसर्थ नदीजन्य प्राकृतिक श्रोतहरुको व्यवस्थित तरिकाले उपयोग गर्नु भनेको नदीजन्य प्रकोपलाई स्थिर गर्नु हो । अव्यवस्थित उत्खनन, नदीको बहाव परिवर्तन हुनेगरीे श्रोतको उत्खनन तथा दुरुपयोग गरिएमा फेरि पनि विपद्को भूमरीमा फस्न सकिन्छ । तसर्थ हामीसँग भएको प्राकृतिक श्रोतको उपयोगबाट भोलिका सन्ततिलाई समेत सुरक्षा दिन सक्ने रणनीति अपनाउन ढिला गर्नु नुहने समय आइसकेको छ । आजको हाम्रो आवश्यकता भनेको प्राकृतिक श्रोतको उपयोग र दोहनको घनचक्करमा फस्नु नभई हाम्रा प्राकृतिक सम्पदाहरुको गुणात्मक उपयोग गरेर राष्ट्रनिर्माणमा योगदान पु¥याउने हो ।

    पानीको उपयोगबाट हामी निकट भविष्यमा नै उर्जा क्षेत्रमा आत्मनिर्भर हुने तरखरमा छौं भने नदीजन्य प्राकृतिक श्रोतको गुणात्मक उपयोगले पहाड, चुरे तथा तराईका प्राकृतिक भू अवस्थितिलाई यथावत राख्दै तटीय क्षेत्रको विपद जोखिम न्यूनीकरणका साथै भाँैतिक विकासमा फडको मारी नेपालीहरुको समृद्धिको चाहानालाई सार्थक तुल्याउन सम्भव छ ।

    (लेखक काठमाडौँ महानगरपालिका नगर प्रहरी प्रमुख एसपी हुनुहुन्छ )

    सम्बन्धित समाचार