Logo
  • बिहिवार, आषाढ १० २०७८Jun 24 2021

गणेश ठगुन्नालाई खुला पत्रः भोट माग्न डोको लिएर आउनुहोला 

गणेश ठगुन्नालाई खुला पत्रः भोट माग्न डोको लिएर आउनुहोला 

  • 56.0K
    SHARES

  • गणेश ठगुन्नालाई खुला पत्रः भोट माग्न डोको लिएर आउनुहोला 

    अभिनव

    हामीले अहिले साविकको ४१ वटा गा.वि.स. मा तपाईको २०७० सालको चुनावी घोषणा बमोजिम प्राप्त हुन आएका ४१ थान एम्बुलेन्सहरू दराजमा थन्क्याएर राखेका छौं । 

    माफ गर्नुहोला, हामीसँग बिरामी ओसार्न बिरामी नै पर्याप्त भएनन् ।

     सबै बिरामीहरूले जिल्ला अस्पताल दार्चुलाबाटै तपाईंको सांसद बिकास कोषको रकमबाट स्थापना भएको आइसीयुसहितको भेन्टिलेटर सेवा बाट पर्याप्त लाभ लिइरहेका छन् । त्यसका लागि तपाईलाई धेरै धन्यवाद ज्ञापन गर्दछौ । 

     जिल्लामा हाम्रो नेतृत्व विकासमा तपाईको बहुतै योगदान रह्यो । जुन निकै स्मरणीय र ऐतिहासिक छ । जहाँ  वि.स. २०५६  सालको चुनावमा माले–मसाले भएर प्रेमसिंह धामीलाई नेतृत्वबाट सिध्याउन सफल हुनुभयो । जुन हाम्रा लागि दुःखद् र तपार्इंको लागि सुखद् रह्यो । 

    बि.स. २०७० को  निर्वाचनमा  स्वर्गीय कामरेड बिरबहादुर ठगुन्नालाई समाप्त पार्नुभयो । उहाँ अहिले भौतिक रूपमा हामीमाझ नरहे पनि तपाईले उहाँलाई सिध्याउन गरिएका हरेक सकुनी चालवाजी हाम्रो स्मरणमा जीवन्त र ताजा नै छन्  । जसको हिसाब किताब तपाईले भविष्यमा चुकाउनु नपरोस्, हाम्रो कामना छ ।

    बि.स.  २०७० को पार्टी महाधिवेशन र बि.स. २०७४ सालको स्थानीय तहको निर्वाचन मार्फत् मोहनसिंह धामीलाई सिध्याउन सफल हुनुभयो । जुन तपाईको राजनीतिक यात्राको लागि सुखद् पक्ष रहे पनि हाम्रो लागि ऐतिहासिक क्षतिको बिषय हो । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटनको निर्णय गरेसँगै तपाईको राजनीतिक कित्ता पनि परिवर्तित भई उहाँकै पक्षमा लाग्नुभए पश्चात् तपाईको भागमा मन्त्री पदको ललिपप टक्य्राइयो । तपाई उक्त ललिपपमा झुम्मिई सके पश्चात् तपाईको राजनैतिक ईमान, निष्ठा र आदर्शको बाँध भत्कियो । 

    तपाईको  ईमान मन्त्रीपदमा बेचियो । जसको जवाफ हामी आम कार्यकर्ताले दिइरहनुपर्र्यो । तपाई असंवैधानिक कदमको साक्षी हुन पुग्दा हामी आम कार्यकर्ताले नैराश्यता सहँदै मुख छोपेर हिंड्नुपर्ने अवस्थाको सिर्जना भयो । 

    ६  महिना पनि नपुग्दै तपाई मन्त्रीपदबाट रिटायर्डमेन्ट हुनपुग्यो । केही तपाईसँग थर जोडिएका र तपाईको चाकरीमा तल्लीन फकिरहरूले छोटो समय मन्त्रालयको स्टबेरी चियाको स्वाद लिंदै मन्त्रीको सचिवालयका कर्मचारी हौं भन्दै चटक देखाउन पाए । त्यो उनीहरूका लागि सन्तुष्टी र परमसन्तोषको कुरो रह्यो ।

     अस्ति मात्रै तपाईं मन्त्रीमा बहाल रहेकै अबस्थामा तपाईकै मन्त्रिमण्डलका अर्थमन्त्री बिष्णु पौडेलले बजेट ल्याउँदा हाम्रो जिल्लामा कतिपय क्रमागत बजेट परिरहने योजना खारेज गरिएको छ । कुनै नयाँ र ठुला योजना तथा आयोजना देख्न र सुन्न पाइएन । पुरानै योजनामा कनिका छरिए जस्तै गरी बजेटको चारो छरिएको छ । जुन बजेटले तपाईको सार्थक पहल र प्रतिनिधित्व खोज्दै थियो । तर उल्टै बजेटले तपाईलाई गिज्याएको महसुस भयो । तपाईको वास्तविक हैसियत झल्कायो र तपाईको खुबीको समेत परीक्षा हुन पुग्यो ।

    व्यासमा एकीकृत विकास गर्ने, महाकाली नदीमा मोटरेवल पुल बनाएर भारतसँगको व्यापार बृद्धि गर्ने,  गोकुलेश्वर बिमानस्थलमा प्लेन कुदाउने, अपिहिमाललाई नयाँ पर्यटकीय पदमार्गको रूपमा बिकास गर्दै डलर कमाउने, गुणस्तरीय स्वास्थ्य सेवा जिल्लामै उपलब्ध हुने, यार्सागुम्बालाई  ब्रान्डिङ गर्दै विदेशस्थित उच्च मुल्य प्राप्त गर्ने बजारमा निर्यात गर्ने, महाकाली करिडोरलाई राष्ट्रिय गौरवको आयोजनामा समावेस गराउने, तिंकर (कालापानी क्षेत्रतर्फ सुरक्षा प्रबन्धका लागि द्रुत गतिमा पुर्वाधार निर्माण गर्ने  जस्ता सयौ दिर्घकालीन लाभका कार्यक्रमहरू तपाईको पालामा र पहलमा सम्पन्न हुन पाए तपाईमाथिको भरोसा झन् बलियो हुने निश्चित थियो । तर बिडम्बना तपाईंले सो ल्याकत र सामथ्र्य राख्न सक्नुभएन । त्यसैले भूपू मन्त्रीज्यू र तपाईमा कुनै तात्विक भिन्नता छ जस्तो मलाई लाग्दैन । सायद तपाईलाई पनि त्यही लाग्दो हो है कामरेड ?

     बि.स. २०७४ सालको निर्वाचनमा त व्यास क्षेत्रमा ड्रमभित्र चढेर महाकालीमाथिको तुइन तर्दै भोट माग्न जानुभएको कुरा तपाईलाई पनि स्मरणमै छ होला । त्यहाँ अहिलेसम्म पनि पुल बनेर संचालनमा आउन सकेको छैन । अझै फेरि त्यसरी नै तुइन चढेर भोट माग्न जाँदा तपाईको इमान र नैतिकताको धरातल भासिदैन र कामरेड ?

    अझै तपाईले त भोट माग्दै गर्दा ‘प्रेमसिंह धामीको उत्तराधिकारी हु’ भन्दै मालिकार्जुनबाटै आफ्नो प्रचार प्रसार  प्रारम्भ गर्नुभएको हामीले सम्झिरहेका छौं । प्रायः कम्युनिष्ट परिवारका धामीहरुलाई भोट बैंकको रूपमा उपयोग गर्दै राजनैतिक उदयको सिंढी बनाउने गर्दछन्, त्यस्तै तपाईंको कुटिल चालवाजी बल्ल छताछुल्ल भएको छ । स्व. प्रेमसिंह धामीले  दार्चुलाको सडकमा बजेट परेन भनेर असन्तुष्टी जनाउँदै मन्त्री पदबाट तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीसमक्ष राजीनामा दिएको र उक्त राजीनामालाई थमौती गर्दै तत्कालीन दार्चुला सडकमा बजेट हालिएको तथ्यसँग त तपाईं पनि जानकार नै हुनुहुन्थ्यो । हुन त बजेट आएको हप्ता दिन नबित्दै तपाईको जागिर चट् भइहाल्यो । तर पनि तपाईमा त्यो सामथ्र्य देखिंदैन । जनताको परीक्षामा तपाई सम्पूर्ण बिषयमा व्याक लागेर फेल भइसक्नुभयो कामरेड ! त्यसैले अब प्रेमसिंह धामीको उत्तराधिकारी हुन बन्द गर्नुहोस् । 

    अन्त्यमा, हाम्रो नेतृत्व किलिङ गर्ने, हाम्रै उत्तराधिकारी हुँ  भन्ने, हामीले नै विकासबाट बहिस्कृत हुनुपर्ने, भूपू मन्त्रीकै दर्जामा रहने, कोरा सपनाको व्यापार गर्ने नेतृत्व हाम्रोतर्फबाट पुर्ण रूपमा बहिस्कृत छ । हामी आफ्नो नेतृत्व आफ्नै बारीमा तयार गर्छौं । हामी आफैं नेतृत्वमा दावी गर्छौ ।
     त्यसैले कामरेड !

    अब भोट माग्न डोको लिएर आउनुहोला ।

    डोकोभरी हाम्रो ऋण तिर्न सामथ्र्य पनि भरेर ल्याउनु होला । अभिवादन ।

    सम्बन्धित समाचार