Logo
  • बिहिवार, आषाढ १० २०७८Jun 24 2021

अनियमितताको आरोपमा सोह्रखुट्टेका डिएसपी तानिए, कालिमाटीका डीएसपी छानबिनमा

अनियमितताको आरोपमा सोह्रखुट्टेका डिएसपी तानिए, कालिमाटीका डीएसपी छानबिनमा

  • 5.9K
    SHARES

  • अनियमितताको आरोपमा सोह्रखुट्टेका डिएसपी तानिए, कालिमाटीका डीएसपी छानबिनमा

    काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि सरकारले २०७८ बैशाख १६ देखि निषेधाज्ञा लगाएको छ । तर महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेका डीएसपी दीपक खड्काले ठमेल क्षेत्रका होटल र क्लव खोल्न दिएको भेटिएपछि उनलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा तानिएको छ । महानगरीय प्रहरी कार्यालयको  आन्तरिक छानविनमा डीएसपी खड्काले आर्थिक लाभ लिएर निषेधाज्ञाको समयमा पनि ठमेलमा रात्रीकालीन व्यवसाय सञ्चालन गर्न दिएको पुष्टि भएकाले उनी तानिएका छन् । आर्थिक लाभ लिएर उनले निषेधाज्ञामा पनि होटल र क्लवहरु खोल्न दिएको आरोप छ ।

    मनाङ होटलका संचालक देवेन्द्र गिरीमार्फत् घुस संकलन गरेपछि होटल र क्लव संचालन गर्न दिएको आरोप डीएसपी खड्कामाथि छ ।  महानगरीय प्रहरी कार्यालयमा सोह्रखुट्टे बृत्तका डीएसपी खड्काकै संरक्षणमा होटल क्लव संचालन हुने गरेको र त्यसले कोरोना संक्रमण फैलिएका धेरै गुनासो आएपछि अनुगमन गरेको थियो । अनुगमनका क्रममा पनि होटल क्लव र रेष्टुरेन्टहरु खोलेको पाइएपछि उनलाई तानिएको स्रोतले बताएको छ । महानगरीय प्रहरी कार्यालयले उनीबिरुद्ध धेरै गुनासा आएपछि यसअघि नै तान्न खोजेको थियो, तर माथिल्ला निकायबाट दबाब दिन लगाउँदै उनी थमौती हुँदैआएका थिए ।

    मनाङ होटलका संचालकलाई बिचौलिया बनाएर डीएसपी खड्काले होटल क्वलहरु संचालन गर्न दिएको सूचना पाएपछि उनलाई पक्राउ गर्न महानगरीय कार्यालयले निर्देशन दियो । तर डीएसपी खड्काले उक्त निर्देशन समेत अटेर गरेपछि उनलाई तानिएको स्र्रोतले बताएको छ । स्रोतका अनुसार डीएसपी खड्का तानिएलगत्तै गिरी पनि गुमनाम भएका छन् । उनी सम्पर्कमा छैनन् ।

    महानगरीय प्रहरी कार्यालय रानीपोखरी स्रोतका अनुसार मातहतका प्रहरी परिचालन, घुस असुली र कार्यशैली चित्तबुझ्दो नदेखिएपछि डिएसपी खड्कालाई कारवाही गरेको महानगरीय प्रहरी कार्यालयले अरु बृत्तमा पनि छानबिन थालेको छ । सोह्रखुट्टेपछि कालिमाटी बृत्तका डीएसपी अपिल बोहरामाथि छानबिन सुरु भएको छ । उनले पनि आर्थिक लाभ लिएर होटल, रेष्टुरेन्ट खोल्न दिएको गुनासो महानगरीय कार्यालयमा पुगेकाले उनी पनि तानिने सूचीमा छन् ।  

    सम्बन्धित समाचार