काठमाडौँ । सर्वोच्च अदालतको ‘फुल कोर्ट (सबै न्यायाधीश सम्मिलित)’ बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नियमावली संशोधन गर्ने प्रस्तावलाई अस्वीकृत गरेको छ ।
शुक्रबार बसेको बसेको बैठकमा राणाले ‘सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२’ संशोधन गरी वरिष्ठ न्यायाधीश मात्रै रहने प्रस्ताव गरे पनि त्यसमा न्यायाधीशहरु असहमत भएका छन्।
दोस्रोपटक गरिएको संसद विघटन विरुद्धको मुद्दा सुनुवाइ गर्न गठित इजलास विवादमा परेपछि राणाले नियमावली नै संशोधन गरेर वरिष्ठताका आधारमा मात्रै इजलास गठन गर्ने प्रतिबद्धता जनाएका थिए।
सर्वोच्च बारका पदाधिकारीसँग गरेको प्रतिबद्धताअनुसार राणाले शुक्रबार ‘विविध’ शीर्षकअन्तरगत नियमावली संशोधन प्रस्ताव पेश गरेका थिए।
न्यायाधीशहरुले अहिले रोष्टरमा रहेका न्यायाधीशबाट इजलास गठन गर्दा पनि वरिष्ठ न्यायाधीशहरु राख्न कुनै समस्या नहुने भन्दै नियमावली संशोधन नगर्न सुझाव दिएका हुन्।
शुक्रबारको फुलकोर्ट बैठकका लागि बिहीबार दश जना न्यायाधीशले जुममार्फत अनौपचारिक छलफल समेत गरेको स्रोतको दाबी छ। उनीहरुले वरिष्ठताका आधारमामा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीशलाई बाध्य पार्ने रणनीति तय गरेका छन्।
राणाले शुक्रबार वरिष्ठताकै आधारमा संवैधानिक इजलास बनाएका छन्।