Logo
  • मंगलवार, बैशाख २८ २०७८May 11 2021

एमसीसीको बहानाः सत्ता टिकाउने चाहना 

एमसीसीको बहानाः सत्ता टिकाउने चाहना 

  • 6.0K
    SHARES

  • एमसीसीको बहानाः सत्ता टिकाउने चाहना 

    काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा सभामुख अग्निप्रसाद सापकोटाको चर्को आलोचना गरेका छन् । सर्वदलीय बैठकमा उपस्थित भएका नेपाली कांग्रेस र जनता समाजवादीका नेताहरुसँग ओलीले सभामुखबिरुद्ध अराजनीतिक शब्दावली समेत प्रयोग गरेका थिए । उनले सभामुख सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी प्रस्ताव संसदको कार्यसूचीमा नराखेको र खोप सम्बन्धी बिधेयकलाई समेत अड्काएको भनेर उनको आलोचना गरेका थिए । उनले एमसीसीकै बिषयमा सभामुख सापकोटाको आलोचना गर्न अधिकांश समय खर्च गरेका थिए । जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सर्वदलीय बैठकप्रति ब्यंग्य गर्दै एमसीसीको बैठककै संज्ञा दिएका छन् ।

    एमसीसीकै बिषयमा बढी केन्द्रित भएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्र भने सहभागी थिएन । माओवादीले बालुवाटारमा हुने सर्वदलीय बैठकमा भाग नलिने जनाउ दिंदै सिंहदरबारमा बोलाए सहभागी हुने जवाफ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएका थिए ।

    माओवादी सहभागी नभएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सभामुखको भूमिकाका बारेमा आलोचना गरी उनको विकल्प खोज्नुपर्ने कुरा समेत उठाएका थिए । संविधानमा सभामुख हटाउन महाभियोग पारित हुनुपर्छ । महाभियोग पारित गर्न एमालेको १२०, कांग्रेसको ६२ र जसपाको ३२ सांसद हुँदा पुग्छ । तर उपसभामुुख नभएका कारण महाभियोग प्रस्ताव ल्याउन पनि जटिल छ । यस्तो अवस्थामा सभामुखको विकल्प खोज्ने कुरा सहज देखिंदैन । तर प्रधानमन्त्री ओलीले भने एमसीसी पक्षधर नेपाली कांग्रेस र जसपालाई आफ्नो पक्षमा ल्याउनकै लागि शनिबारको सर्वदलीय बैठकमा अधिकांश समय खर्चिएका थिए ।

    एमसीसीकै बहानामा ओलीले कांग्रेस, जसपा र माओवादी केन्द्रको गठबन्धन बन्न नदिने रणनीति अख्तियार गरेका छन् । शनिबारको सर्वदलीय बैठकले उनको त्यो रणनीति उजागर गरेको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधान संशोधनको ललिपप पनि उनले देखाइसकेका छन् । संविधानतः कांग्रेसको महाधिवेशन भदौसम्म हुनैपर्छ । तर संविधान संशोधन गरेर कार्यकाल थप्ने प्रस्ताव समेत देउवासमक्ष ओलीले राखिसकेको कांग्रेसकै एक नेताले बताए ।  

    आइतवार, बैशाख ५ २०७८१२:३४:४३
    सम्बन्धित समाचार