Logo
  • सोमवार, चैत्र ३० २०७७Apr 12 2021

कम्युनिष्ट पार्टीलाई तीन टुक्रा बनाएकोमा ओलीलाई गर्ब छ

कम्युनिष्ट पार्टीलाई तीन टुक्रा बनाएकोमा ओलीलाई गर्ब छ

  • 5.2K
    SHARES

  • कम्युनिष्ट पार्टीलाई तीन टुक्रा बनाएकोमा ओलीलाई गर्ब छ

    थोमस बास्तोला 

    प्रधानमन्त्री तथा एमालेको एउटा गुटको नेतामा सीमित भएका केपी ओलीले कसरी दुई तिहाई बहुमतको पार्टीलाई तीन टुक्रा पारे ? यसमा उनी कसरी दुरुपयोग भएका छन् त ? अब उनी कसरी अगाडि बढ्नेछन् ? ओलीको कदमपछिको अबको राजनीति कसरी अगाडि जान्छ, यसबारेमा केही तथ्य राख्न चाहन्छु ।

    १. दक्षिण र पश्चिमको बलियो साझेदारी र भ्रष्टाचारीहरूको खँदिलो लगानीमा सर्वोच्च अदालत (फागुन २३) र केपी ओलीको अहंकार (विगत एक वर्षदेखि मूलतः पुस ५ पछि हालसम्म) एकैसाथ प्रयोग गरेर दुइतिहाई जनमत प्राप्त गरेको नेकपालाई एकै झोंक्कामा तीन टुक्रा पारिदियो ।

    २. यत्रो जनमत भएको पार्टीलाई यति सजिलैसँग विभाजित गर्न र समाप्त गर्न पार्टी प्रमुख र सरकार प्रमुख भएकाले स्वयं ओलीलाई प्रयोग–दुरूपयोग–उपयोग नगरी सम्भव थिएन ।

    ३. अब सरकार बन्न नदिने खेल हुनेछ । ओलीभित्र झांगिएको अहंकारले उनलाई जसरी पनि मैले भनेको हुन्छ भन्ने प्रमाणित गर्न चुनावमा जाने अवस्था निर्माण गर्ने वा आफू कुर्सीमा निरन्तर रहने बाहेक अरू सरल र नैतिक बाटो रोज्न दिँदैन । उनले सोचेको कुरा प्रमाणित गर्दै जाने कुरा नै विदेशी प्रभुहरूका निम्ति हितकर छ । 

    ४. कांग्रेस लगायतलाई ओली अलिकति पनि कमजोर भए भने उनी झुक्लान् र फेरि एमाले एक हुने अवस्था आउला भन्नेमा चिन्ता छ । जसपाको खासगरी महतो र ठाकुर खेमाले या त चुनाबमा धकेल्ने या त ओलीको अहंकारलाई प्रश्रय दिने रणनीति देखियो । यसको अर्थ कसरी भूराजनीतिले काम गरिरहेको छ भन्ने स्पष्ट हुन्छ ।

    ५. अब चुनावमा वामपन्थी इतर शक्तिलाई विजय गराउन तदनुरूप एलाइन्स गराउने गरी शक्तिराष्ट्रहरूको चलखेल हुनेछ । चीनले कम्युनिष्ट शक्तिलाई एक बनाउन प्रयत्न गर्नेछ । यस टकरावमा को को कहाँ कसरी प्रयोग हुनेछन्, त्यसको सपाट दृष्य आउन अझै केही समय लाग्नेछ ।

    ६. यस चलखेलको मुख्य नायक र कर्ता बन्न सकेकोमा नै ओलीलाई गर्व छ । उनी कम्युनिष्ट पार्टीको अध्यक्ष हुन् भन्ने कुरा केवल कुर्सीबाहेक बाँकी आदर्शमा कहीँ उनलाई भेटिँदैन, उनले करिब सबै बिर्सिसकेको देखिन्छ । 

    ७. तर पनि उनको समूहका प्रिय साथीहरू यस कुरामा पनि गुट मात्र देख्छन् । किनकि तिनको आँखामा पट्टी छ, पेट असूर हुने गरी भरिएको छ, कानमा ओलीको व्यङ्गात्मक प्रस्तुति गुञ्जायमान छ । उनीहरू यति एकोहोरिएका वा एकोहोरिएजस्तो गरेका वा लल्यालुलुक भएका छन् कि ुओली कदमहरूको बारेमा तिनको आफ्नै चेतना र अन्तर्मनलाई प्रश्न गर्ने हिम्मत समेत तिनमा छैन वा बचाउ गर्नुपर्ने बाध्यात्मक ड्युटीले तिनहरूलाई सोच्ने फुर्सद नै छैन ।

    ८. यस गम्भीर अवस्था र राजनीतिक परिवेशमा हामीले देश विदेशमा जहाँ रहेका छौँ, विवेक बोलौँ, तर्कसङ्गत छलफल, बहस र अभियानहरू चलाऔँ । जसले गर्दा षडयन्त्रकारीहरू पराजित हुनेछन् ओली सच्चिनेछन् या त सक्किनेछन्  फेरि नयाँ परिवेशमा एमाले सही ठाउँमा आउनेछ र पुनः राष्ट्रनिर्माणका लागि समाजवादी पार्टीहरूको बीचमा सहकार्य, एकतासहितका दृश्यहरू देखिनेछन् । हाम्रा सकारात्मक पहलकदमी र गतिविधिको औचित्य यहीँनेर छ ।

    ९. हामी जहाँ छौँ, वैचारिक अभियानलाई सकेको, जानेको र सम्भव हुनेसम्मको तहमा विकसित गरौँ  । सुसंगठित प्रयत्नले भ्रममा रहेकालाई भ्रममुक्त गर्नेछ र नियोजित रूपमा गलत मनसाय भएकालाई निस्तेज पारिदिनेछ ।

    हालः साउदर्न इलिनोइ युनिभर्सिटी, अमेरिका

     

     

    मंगलवार, चैत्र १० २०७७०८:५७:२८
    सम्बन्धित समाचार