Logo
  • मंगलवार, बैशाख २८ २०७८May 11 2021

एमालेभित्रको विवादले परिवारमै फुटः श्रीमान एउटा गुटमा, श्रीमती अर्कैतिर

एमालेभित्रको विवादले परिवारमै फुटः श्रीमान एउटा गुटमा, श्रीमती अर्कैतिर

  • 135.0K
    SHARES

  • एमालेभित्रको विवादले परिवारमै फुटः श्रीमान एउटा गुटमा, श्रीमती अर्कैतिर

    काठमाडौं । सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि नेकपा(एमाले)का अध्यक्ष केपी ओलीले नेतृत्वमा भएका नाताले सबैलाई एकताबद्ध बनाएर लानुपर्नेमा बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहलाई पेल्ने नीति अवलम्बन गरेपछि पार्टी विभाजनको दिशामा उन्मुख छ ।

     ओली प्रधामन्त्री र पार्टी अध्यक्ष भएका नाताले उनले नै एकताको लागि फराकिलो हृदय बनाउनुपर्ने हो । सर्वोच्चको फैसलाले माधवकुमार नेपालहरु त पराजीत मानसिकता लिएरै एमालेमा रहेका हुन् ।

    सबैलाई समेट्ने जिम्मेवारी त अध्यक्षकै हो । तर अध्यक्ष ओलीमा त्यो फराकिलोपन देखिएन । उनले फागुन २८ मा प्रधानमन्त्रीको सरकारी निवासमा गुटको भेला बोलाएर त्यसैलाई केन्द्रीय कमिटीको बैठक भनी केन्द्रीय सदस्य मनोनीत गर्नेदेखि नेताहरुको जिम्मेवारी खोस्ने काम गरे । जसका कारण नेपाल–खनाल समूह समानान्तर भेला गर्न बाध्य भएको छ । बिरालालाई थुनेजस्तो ब्यवहार ओलीले देखाएपछि एमाले विभाजनको संघारमा छ । ओलीले सांसद पदबाट कारबाही गरे पनि माधव नेपालहरु उनीसँग नझुक्ने तहमा पुगिसकेका छन् ।

    माधव नेपाल र झलनाथसहितका नेताहरुलाई ढोका थुनेर ओलीले एमाले छाडेर जान बाध्य बनाउँदैछन् । पार्टी स्पष्टरुपमा दुई कित्तामा विभाजन हुँदा कतिपय नेता कार्यकर्ताको घरपरिवार पनि फुटेको छ । श्रीमान–श्रीमती मध्ये एकजना ओलीतिर त अर्को माधव नेपालतिर लागेका छन् । पार्टी विभाजित हुँदा श्रीमान–श्रीमती नै अलग अलग पार्टीमा हुने अवस्था आएको छ ।

    एमालेको उपाध्यक्ष भए पनि एकता अभियानको अध्यक्ष भएका वामदेव गौतमकी श्रीमती तुलसा थापा ओलीतिर खुलेकी छन् । उनी ओली समूहले बोलाएको संसदीय दलको बिहीबारको बैठकमा पनि सहभागी थिइन् । शनिबारको  बैठकमा पनि सहभागी भइन् । वामदेव गौतम पनि शनिबारको संसदीय दलको बैठकमा चाहिँ गएका छन् ।  यद्यपि उनी ओलीले फागुन २८ गते गरेको निर्णयको बिरोधमा छन् । उनले ओलीले एमाले पनि सक्न लागेको भन्दै सार्वजनिक अभिब्यक्ति दिन पनि छाडेका छैनन् ।

    दावा लामा ओलीको मन्त्रिपरिषदमा युवा तथा खेलकुद मन्त्री छन् । तर उनकी श्रीमती कुमारी मोक्तान माओवादी केन्द्रमै छिन् । सर्वोच्च अदालतको फागुन २३ को फैसलाअघि नेकपा हुँदा पनि उनी ओली प्रचण्ड–माधव समूहमै थिइन् । श्रीमान संघीय सरकारमा मन्त्री भए पनि उनी आफ्नो अडानबाट बिचलित हुन नसक्ने भन्दै नेकपा एक हुँदा पनि ओली समूहमा आउन इन्कार गर्दै अडिग रहेकी थिइन् । फागुन २३ को फैसलाले एमाले–माओवादी केन्द्र ब्यूँतिएपछि त कानुनी रुपमै उनी एमालेमा आउन सक्ने अवस्था समाप्त भएको छ ।

    त्यसैगरी, बागमती प्रदेशसभाका सांसद बसन्त मानन्धर नेपाल–खनाल समूहका नेता हुन् । तर उनकी श्रीमती इन्दिरा पन्त ओली समूहमा लागेकी छन् । वामदेव पत्नी तुलसासँग निकट पन्त श्रीमान लागेको गुटमा नलागी ओली समूहतिरै सक्रिय छन् । पन्त माधव नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा उपस्थित भए पनि तुलसा थापासँग ओली समूहमा पनि सक्रिय रहेकी छन् ।  

    आफ्नो लेखनीमार्फत् ओलीको आलोचना गर्ने झलक सुवेदीको परिवारमा पनि फुट आएको छ । उनकी श्रीमती लक्ष्मी कार्की राष्ट्रपति विद्या भण्डारीको सल्लाहकार भएकाले उनी ओली समूहमा छिन् भने सुवेदी माधव नेपाल समूहमा छन् । सुवेदी विशेषतः घनश्याम भूसालहरुसँग निकट छन् । लक्ष्मी कार्की २०४६ को जनआन्दोलनको चर्चित नाम हो । त्यसपछि गुमनाम भएकी उनलाई राष्ट्रपति भण्डारीले १ बर्षअघि सल्लाहकारको जिम्मेवारी दिएकी छन् । 

    ओली समूहले रामेछाप जिल्लाको सचिव बनाएका पुरुषोत्तम कडरिया र उनकी श्रीमती ज्योति शर्मा पनि फरक फरक समूहमा छन् । लामो समयदेखि नेपाल–खनाल समूहमा लागेका कडरियाले जिल्ला सचिव पाउने भएपछि कित्ता परिवर्तन गरेका थिए । तर श्रीमानले कित्ता परिवर्तन गर्दैमा आफुले गरेको नसम्झनू भन्दै ज्योति शर्माले सामाजिक संजालमा आफू नेपाल–खनाल समूहमै रहेको उल्लेख गरेकी छन । शर्मा अखिलको राजनीतिबाटै आएकी हुन् ।

    ओली समूहले ११ सय केन्द्रीय सदस्य बनाउँदा मनोनीत भएकी कमला बोहरा र उनका श्रीमान कमल बस्नेत पनि अलग अलग समूहमा लागेका छन् । बोहरा ओली समूहमा छिन् भने बस्नेत वामदेव गौतमको एकता अभियानमा छन् । बोहरालाई ओलीले कन्चनपुरको भूमि आयोगको अध्यक्षको नियुक्ति पनि दिएका छन् ।  

    त्यसैगरी, एमालेका तर्फबाट पाँचखाल नगरपालिकाको उपमेयर पदमा उम्मेदवार भएकी पूर्वअखिलकी नेतृ भक्तकुमारी लामा माधव नेपालको समूहमा सक्रिय छन् । उनका पति पत्रकार सन्दीप राई ओली समूहमा क्रियाशील छन् । पाँचथरका राई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङका प्रेस सल्लाहकार हुन् ।

    त्यसैगरी, प्रेस चौतारीका उपाध्यक्ष विश्वमणि सुवेदीको परिवारमा पनि बिभाजन आएको छ । श्रीमान सुवेदी नेपाल–खनाल समूहमा छन् । उनी वामदेव गौतमको एकता अभियानको सचिवालयमा छन् । सुवेदीकी श्रीमती सतिदेवी उप्रेती ओली समूहमा खुलेकी छन् । उनलाई ओली समूहले बारा–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष बनाएको छ ।

    युवासंघकी उपाध्यक्ष क्रान्ति बुर्लाकोटी र उनका पति डा.सन्तोष पौडेल पनि फरक फरक गुटमा लागेका छन् । ओली गुटमा लाग्ने सर्तमा तत्कालीन स्वास्थ्य मन्त्री भानुभक्त ढकालले उनलाई राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसु बनाएको चर्चा एमालेबृत्तमा छ । सन्तोष पौडेलका पिता कास्कीका पूर्व जिविस सभापति पुण्य पौडेल पनि ओली समूहमा लागेका छन् ।  

    रौतहटका देवराज न्यौपाने र आरती भण्डारीको परिवारमा पनि फुट आएको छ । तनहुँकी आरतीले माधव नेपालसँग निकट न्यौपानेसँग विवाह गरेकी थिइन् । तनहुँमा किरण गुरुङको गुटमा आवद्ध उनले केही दिनअघि सामाजिक संजालमा लामो स्टाटस लेख्दै ओली समूहलाई समर्थन गरेकी थिइन् ।

    त्यसैगरी एमाले स्थायी समिति सदस्य बेदुराम भुसालका दाजु एमाले अर्घाखाँचीका पूर्व पार्टी सचिव पिताम्बर भूसाल माधव नेपाल समूहमा छन् भने उनकी पत्नी प्रदेश सभासद जाल्पा भूसाल ओली समूहमा सक्रिय छिन् । पिताम्बर भूसाल भूमिकास्थान नगरपालिकामा एमालेका तर्फबाट मेयरका प्रत्यासी थिए ।  

    आइतवार, चैत्र ८ २०७७०१:३९:००
    सम्बन्धित समाचार