Logo
  • सोमवार, चैत्र ३० २०७७Apr 12 2021

प्रतिनिधिसभा बिघटन गर्नु गलत थियोः मन्त्री रायमाझी

प्रतिनिधिसभा बिघटन गर्नु गलत थियोः मन्त्री रायमाझी

  • 25.5K
    SHARES

  • प्रतिनिधिसभा बिघटन गर्नु गलत थियोः मन्त्री रायमाझी

    काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा बिघटन गर्नु गलत कदम भएको बताएका छन् । नेपाल निजामती कर्मचारी संगठनको  उपत्यका प्रदेश कार्यसमितिको आयोजनामा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा उनले प्रतिनिधिसभा बिघटन गर्नुलाई गलत कदमको संज्ञा दिएका हुन् ।

    नेकपा निकट(साबिक एमाले) निजामती कर्मचारी संगठन विभाजित भएको छैन । संगठनको अध्यक्ष लगायतका केही पदाधिकारी बाहेक केन्द्रीय कमिटीमा माधव नेपाल निकट कर्मचारीहरुको बाहुल्यता छ । उक्त कार्यक्रममा संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले विभागीय मन्त्रीलाई नबोलाई ऊर्जामन्त्री रायमाझीलाई प्रमुख अतिथिका रुपमा बोलाएका थिए ।

    मन्त्री रायमाझीले ओली निकट कर्मचारीहरुको मात्र संगठन होला भन्ने ठानेर सम्बोधनको सुरुवातमै लड्डु खाएको प्रसंग निकाले । रायमाझीले नेकपा माधव–प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले लड्डु खाएको बिषय उठाएपछि संगठनका उपाध्यक्ष जीवन भण्डारीले बीचमै प्रतिवाद गर्दै भने–‘मन्त्रीज्यू के बोल्दै हुनुहुन्छ, यहाँ लड्डु खानेहरु पनि छन्, खुवाउनेहरु पनि छन्, कर्मचारीको कार्यक्रममा कर्मचारीसँग सम्बन्धित बिषयमा मात्र कुरा गर्नुस् । केपी ओलीले चालेको कदम प्रतिगमन भनेर आन्दोलनमा जाने जीवन भण्डारीहरु पनि यहाँ छन् । ख्याल गर्नुस् ।’ भण्डारीले यसो भनेपछि हलबाट आधी सहभागीहरु उठेर हिंडेका थिए ।

    भण्डारीले बीचमै यसरी प्रतिवाद गरेपछि मन्त्री रायमाझी कालोनिलो भए । भाइ भाइ भन्दै मन्त्री उनलाई शान्त बनाउन लागे । भण्डारीलाई थामथुम पार्न भवानी खतिवडा, रामचन्द्र अधिकारीहरु लागे ।  

    संगठनका ओली समर्थक  पदाधिकारी र केन्द्रीय सदस्यहरु मन्त्रीको सम्बोधनको प्रतिवाद गर्ने जीवन भण्डारीमाथि आक्रमण गर्न दौडिए । जिल्ला समन्वय समिति काठमाडौंको हलमा भएको कार्यक्रममा जीवन भण्डारीलाई आक्रमण गर्न उत्रिएको टोलीलाई मन्त्री रायमाझीले नै रोके । र, भने–‘उहाँ(भण्डारी)ले भनेको कुरा सही हो । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा बिघटन गर्ने कदम गलत नै थियो, गलतलाई गलत नै भन्नुपर्छ । उहाँले ठीक भन्नुभएको छ । म त ओली समर्थक मात्र हुनुहोला भनेर तपाईहरुको लागि बोलेको थिएँ । तर संगठन फुटेको रहेनछ, नफुट्नुस्, जुट्नुस्, तपाईहरु सही हुनुहुन्छ । ओलीको कदम गलत छ ।’

    मन्त्री रायमाझीले ओलीको कदम गलत भएको भन्ने बिषयलाई नै प्राथमिकता दिएर बोलेपछि संगठनका अध्यक्ष देवकोटा सहितका ओली समर्थकहरु नै आश्चर्यमा परे । संगठनका अध्यक्ष केदार देवकोटाले उक्त कार्यक्रममा विभागीय मन्त्रीका रुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नालाई बोलाउन चाहेका थिए । तर उनी विवाद हुने भएपछि गएनन् । उनी बुझेर नै उक्त कार्यक्रममा गएका थिएनन् । तर रायमाझीले बुझ्दै नबुझी जाँदा विवादमा परेका छन् ।   

    शनिवार, फाल्गुण २२ २०७७११:५८:१०
    सम्बन्धित समाचार