Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राजमार्गमा जबर्जस्ती निकासी कर असुली, रोशन चौधरीको प्रहरीदेखि अदालतसम्म सेटिङ


    बुधबार, पुष ९ २०८२
    9.1K
    Shares
    रोशन चौधरी र राजमार्गमा जबर्जस्ती निकासी कर असुल्न रोकिएको कवाडी बोकेको ट्रक
    नेपाल फेस
  • ८ मिनेट पाठ
  • काठमाडौं । नेपालको इतिहासमा डन भन्ने शब्दले चक्रे मिलन, राजु गोर्खाली, दीपक मनाङ्गे, पर्शुराम बस्नेतहरुलाई मात्र जनाउँथ्यो । उनीहरुको काम बेरोजगार युवाहरुलाई बटुलेर हप्ता असुलीदेखि ठेक्कापट्टा कब्जा गर्ने रहेको थियो ।

    अन्तर्राष्ट्रिय मुद्राकोषले सम्पत्ति शुद्धीकरणमा नेपालले मुद्दा चलाएन भन्ने गुनासो गर्दा यिनै गुण्डाहरुबिरुद्ध मुद्दा दर्ता गरी देखाउने गरेका थिए । अहिले प्रायः सबै गुण्डा नेता भएकाले गुण्डागर्दी पेशा बन्द भई युद्ध सरदारको युग सुरु भएको छ ।

    भारतीय नागरिक बाबुनन चौधरी कलवार नेपालमा खाली सिसी पुराना कागज जस्तै कवाडी बटुली आफ्नो जीवन धान्न आएका थिए । बिहार, सितामढी जिल्लाका उनका घरमा २ छोरामध्ये रोशन चौधरीले कवाडी काममा नक्कली भ्याट बिल बनाएर अरबौं रुपैयाँ करछली गरेका थिए ।

    यो पनि पढ्नुहोस:

    राजस्व अनुसन्धान बिभागले नक्कली भ्याट बिलमा २५ करोड रुपैयाँ जरिवाना लगाउनेगरी मुद्दा दर्ता गरेपछि रोशनले पेशा परिवर्तन गरे । र, उनले एक सय ५० मोटरसाइकल चलाउने ३ सय भन्दा युवाको एक गिरोह खडा गरे । काठमाडौं उपत्यकाभित्र हुने जुनसुकै कवाडीको ठेक्का हुन नदिने र आफूले सस्तो दररेटमा कहिले चन्द्रागिरी नगरपालिका त कहिले धादिङको धुनिबेसी नगरपालिकाको ठेक्का लिने गर्दैआएका छन् ।

    रौतहट जिल्ला प्रशासन कार्यालयले बाबुनन चौधरीको नागरिकता विबरण पठाएको तर गृहमन्त्रालयले निर्णय नगरेको

    काठमाडौं उपत्यकाबाट बाटो हुँदै जाने जुनसुकै नगरपालिकाका कवाडी बोकेको गाडी, राँगाको हाड–सिङ बोकेको गाडीबाट जबर्जस्ती निकासी कर लिने गर्न थाले । तर एउटा नगरपालिकाबाट उत्पादन भएको जुनसुकै सामानको कर अर्को स्थानीय तहले लिन नपाउने र त्यस्तो कर असुली गर्न रोक्न गृहमन्त्रालयले २०८१ कात्तिक १२ गते सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । तर त्यो निर्देशनबिपरीत रोशन चौधरीको आर एण्ड आर भालचन्द्र ट्रेड कन्सर्नले राजमार्गमा निकासी कर गैरकानुनी रुपमा असुलिरहेको छ । प्रहरीलाई सेटिङ गरी जबर्जस्ती निकासी कर असुली गर्ने छुट भालचन्द्रले पाएको छ ।

    यसैबीच, सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँल नेतृत्वको इजलासले कवाडी कर अनिवार्य रुपमा तिर्नुपर्ने, एउटा नगरपालिकाले कर लिइसकेपछि अर्को पालिकाले लिन नपाउने फैसला २०८१ भदौमा गर्यो । त्यसपछि रोशन चौधरीले धुनिबेसी नगरपालिकाको ठेक्का बार्षिक ३ करोड रुपैयाँ दिनेगरी लिए । र, काठमाडौं उपत्यकाभित्र कुनै पनि नगरपालिकामा ठेक्का लगाउन दिएनन् । नगरपालिकाले कवाडीको ठेक्का लगाउन खोज्दा जिल्ला अदालत र उच्च अदालतबाट अन्तरिम आदेश ल्याएर सबै स्थानीय निकायलाई कर उठाउनबाट रोक लगाएका छन् ।

    ललितपुर महानगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शंकरापुरी, बुढानीलकन्ठ नगरपालिकाले कवाडीको ठेक्का लगाउन सकेका छैनन् । जसका कारण रोशन चौधरीले धुनिबेसीमा बसेर काठमाडौैंका यी पालिकाबाट कवाडी संकलन गरी गएका गाडीबाट दैनिक ३० लाख रुपैयाँका दरले उठाउने गरेका छन् ।

    रोशन चौधरीले अर्थात् बार्षिक करिब डेढ अर्ब रुपैयाँ राजमार्गमा जबर्जस्ती असुली गरिरहेका छन् । रोशन चौधरीको गिरोहले कवाडी बोकेका ट्रकसँग जबर्जस्ती निकासी कर असुली गरेको, नदिए जे पनि गर्ने धम्की दिएका भिडियोसमेत नेपालफेसले प्राप्त गरेको छ । ढुवानीकर्ताहरुको सुरक्षाका कारण उक्त भिडियो नराखिदिन अनुरोध गरिएकाले राखिएको छैन ।

    यो पनि पढ्नुहोस्ः

    बार्षिक डेढ अर्ब निकासी कर गैरकानुनी रुपमा असुली, सरकारले रोक्न दिएको निर्देशन प्रहरीले टेरेन

    रोशन ग्याङले काठमाडौं, ललितपुरका धर्मकाँटा छेउमा बसी धुनिबेसीको रसिदमा गैरकानुनी रुपमा कर उठाउने गरेका छन् । प्रहरी प्रशासन सबै रोशनको सेटिङमा मौन रहँदैआएका छन् ।

    रोशन अहिले एउटा युद्ध सरदारको रुपमा काम गरिरहेका छन् । जेनजी आन्दोलनमा आगो लगाउनेमा अधिकांश रोशनको ग्याङका मानिसहरु रहेको प्रहरीले एकीन गरेको छ । तर, प्रहरीमा सेटिङ मिलाउने काम नेपाल प्रहरीका पूर्व महानिरीक्षक दीपक थापाले गरेकाले काठमाडौं, ललितपुरदेखि धादिङको प्रहरीले गैरकानुनी कर असुली हुँदा पनि मौन रहँदैआएका छन् । भारतमै अपहेलित बिहारका चौधरीलाई नेपालका अदालतले गैरकानुनी असुली गर्न बाटो खुलाई युद्ध सरदार जन्माउने कार्यमा टेवा पुर्याएको छ ।

    नेपालमा सबै निकायमा सेटिङ गरी दैनिक ३० लाख गैरकानुनी निकासी कर रोशन चौधरीका बाबु बाबुनन चौधरीको भारतीय नागरिकतासमेत नेपालफेसलाई प्राप्त भएको छ ।

    जग्गा खरिदमा हुन्डीको रकम

    भारतीय नागरिक बाबुननले रौतहटको साविक धर्मपुर गाविस–१ बाट ३२३०८७–१४ नम्बरको नागरिकता लिएको पाइएको छ । जबकि बाबुनन चौधरीको नाममा बिहार सरकारको राजस्व एवं भूमिसुधार बिभागबाट जारी भएको जग्गाधनीपूर्जा (जम्मावन्दी पंजी प्रति)ले उनी भारतीय नागरिक हुन् भन्ने पुष्टि हुन्छ । तसर्थ बाबुनन चौधरी र उनका छोराहरुमाथि नक्कली नागरिकता लिएकोमा कानुनी प्रक्रिया अगाडि बढाउनुपर्नेमा नेपालका अदालतदेखि प्रहरीले उनीहरुलाई दैनिक गैरकानुनीरुपमा ३० लाख निकासी कर असुल्न छुट दिएको छ ।

    त्यही नक्कली नागरिकताका आधारमा बाबुनन चौधरीका छोरा रोशन चौधरीले पनि रौतहटबाट नागरिकता लिई काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा करोडौं मूल्यका ११ कित्ता जग्गा खरिद गरेका छन् । उनले ती जग्गा खरिद गर्दा तिरेको रकम अबैध हुन्डीमार्फत् लिएको छानबिन गर्दा खुल्ने स्रोत बताउँछ । रोशन चौधरीका बाबुछोराले इन्द्रेणी हार्डवेयर एण्ड सेनेटरी वेयर प्रा.लि. आकाशगंगा इन्टरप्राइजेज प्रा.लि. लगायतका थुप्रै फर्म दर्ता गरी नक्कली भ्याट बिल प्रयोग गरी ठूलो रकम राजस्व छली गरेको उजुरीमा राजस्व अनुसन्धान बिभागले छानबिन गरिरहेको छ । स्रोतका अनुसार राजस्व अनुसन्धानमा पनि रोशन र बाबुननले सेटिङ गरी अनुसन्धान रोक्न सफल भएका छन् ।

    नागरिकता छानबिन नै अड्कियो, गृहमन्त्रालयसम्म सेटिङ

    बाबुनन चौधरीको भारत, बिहारको जग्गाधनी पूर्जा र नेपालमा जिल्ला प्रशासन कार्यालय रौतहटबाट झुटा बिबरण पेश गरी लिएको नागरिकता

    बाबुनन र उनका छोरा रोशन चौधरीले झुटा बिबरण पेश गरी रौतहट र काठमाडौंबाट बंशजको आधारमा नागरिकता लिई बिभिन्न फर्म दर्ता गरेकाले छानबिन गरी कानुनबमोजिम कारबाही गर्न माग गर्दै गृहमन्त्रालयमा उजुरी परेको थियो । गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय रौतहटमा बाबुनन चौधरीको नागरिकताको विवरणसहितको फाइल २०८१ माघ ७ गते पठाए पनि अहिलेसम्म पनि गृहले उक्त फाइलमा निर्णय गरेको छैन । गृहमन्त्रालयमा समेत पैसाकै बलमा झुटा विवरण पेश गरेको नागरिकताका बारेमा निर्णय हुनबाट बाबुनन र रोशन चौधरीले रोक्दैआएका छन् ।

    रोशन चौधरीसहित ५ जनाबिरुद्ध पक्राउ पूर्जी जारी, सबै फरार

    प्रहरीदेखि अदालतसम्म सेटिङ गरी राजमार्गमा दैनिक ३० देखि ४० लाख निकासी कर गैरकानुनीरुपमा जबर्जस्ती असुल्दैआएका बाबुनन चौधरी र रोशन चौधरीसहित ५ जनालाई प्रहरीले खोजी गरिरहेको छ ।

    जिल्ला प्रहरी परिसर ललितपुरले आइतबार चौधरीसहित ५ जनाकै बिरुद्ध पक्राउ पूर्जी लिइसकेको छ । रोशन चौधरीसहित ५ जनाले जर्बजस्ती निकासी कर असुली गर्न खोज्दा नदिएपछि कुटपिट गरेपछि उनीहरुका बिरुद्ध पक्राउ पूर्जी जारी भएकोा ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी होबिन्द्र बोगटीले बताए । उनले भने–‘अभद्र ब्यवहारमा उनीहरुबिरुद्ध पक्राउ पूर्जी जारी भएको हो । खोजतलास भइरहेको छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार