बाबुराम दाहाल र अग्निप्रसाद खरेल
काठमाडौं । महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएका छन् । खरेलले राजीनामा दिएका समाचार आज बिहानदेखि नै संचारमाध्यममा आइरहेका छन् । खरेलसँग राजीनामाका बारेमा प्रतिक्रियाका लागि पटक पटक प्रयास गर्दा पनि उनले मोवाइल रिसिभ गरेनन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार महान्यायाधीवक्ता खरेलले प्रधानमन्त्री केपी ओलीकै आग्रहमा राजीनामा दिएका हुन् । उनले यसअघि नै झापामा चुनावमा उम्मेदवार हुन लागेकाले फागुन १५ भित्र राजीनामा दिने कुरा आफ्ना निकटस्थहरुसँग भन्दै आएका छन् ।
बालुवाटार स्रोतका अनुसार खरेललाई रक्षा मन्त्री बनाउनका लागि महान्यायाधीवक्ताबाट राजीनामा गराउन लागिएको हो । महान्यायाधीवक्तामा प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहाललाई नियुक्ति गर्ने तयारी छ ।
२०७७ असोज २८ मा उपप्रधानमन्त्री इश्वर पोखरेललाई विनाविभागीय मन्त्रीका रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा लगिएपछि रक्षामन्त्री खाली छ ।
यद्यपि महान्यायाधिवक्ता अग्नि खरेलले आफूले पदबाट राजीनामा नदिएको बताएका छन् । खरेलले आफ्नो र सरकारको बदनाम गराउनका लागि दुष्प्रचार गरिएको बताएका छन् ।