काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)माथि लगाएको प्रतिबन्ध हटाउने भएको छ । आज बिहान साढे १० बजे बोलाइएको मन्त्रिपरिषद बैठकले विप्लवको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउँदैछ । विप्लवसँग वार्ता गर्नका लागि मन्त्रिपरिषद बैठकले वार्ता समिति समेत गठन गर्न लागेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।
हरेक सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्दैआएको थियो । प्रधानमन्त्री केपी ओली सोमबार कंचनपुरको कार्यक्रममा गएका कारण आज मंगलबारका लागि बैठक बोलाइएको छ । आजको मन्त्रिपरिषदको बैठकले विशेष निर्णय गर्ने तयारी गरेको चर्चा सोमबारदेखि नै हुँदैआएको थियो । त्यो विशेष निर्णय भनेको विप्लव माओवादीको प्रतिबन्ध हटाउने र वार्ता समिति बनाउने रहेको बालुवाटार स्रोतको दाबी छ ।
एकातिर विप्लवसँग वार्ता गर्नका लागि उक्त पार्टीमाथि लागेको प्रतिबन्ध हटाउन लागेको सरकारले अर्कोतिर सोही पार्टीका नेता धर्मेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतले रिहा गरेपछि पनि पुनः पक्राउ गरेको छ । बाँस्तोलालाई सोमबार सर्बोच्चले रिहा गरेलगत्तै प्रहरीले पक्राउ गरी काभ्रे जिल्लामा पठाएको छ ।