Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • जेनजी मन्त्रीलाई सचिवले फनफनी घुमाए, स्वास्थ्य मन्त्रालयमा बर्षौंदेखि काजमा बस्नेहरूकै राज


    बुधबार, मंसिर १० २०८२
    3.2K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमातहतका महाशाखादेखि बिभागीय प्रमुखहरुको खटनपटनमा सचिव डा. विकास देवकोटा हावी भएका छन् । सचिव देवकोटाकै सेटिङमा बिभागीय प्रमुख र महाशाखा प्रमुखको सरुवा भइरहेको छ ।

    स्वास्थ्य मन्त्रालय अन्तर्गत लामो समय काम गरी सचिवसम्म भएकी जेनजी मन्त्री डा. सुधा गौतम पनि सचिव देवकोटाको प्रभावमा पर्दा महत्वपूर्ण महाशाखा र बिभागको नेतृत्वमा कमजोर कार्यक्षमता भएकाहरुलाई जिम्मेवारी दिइएको छ ।

    स्वास्थ्य मन्त्रालयको बेथिति कतिसम्म छ भने महाशाखा प्रमुखहरु बर्षौदेखि काजमा राखिएको छ । पब्लिक हेल्थ समूहको दरबन्दीमा पेडियाट्रिक समूहकालाई काजमा महाशाखा प्रमुख राखिएको छ । दरबन्दी अनुसारको जनशक्ति पर्याप्त हुँदाहुँदै काजमा अर्कै समूहको प्रमुख राख्नु पनि भ्रष्टाचार नै हो । तर स्वास्थ्य मन्त्रालयमा सचिव देवकोटाको सेटिङमा काजका महाशाखा प्रमुखहरुकै राज चल्दैआएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पब्लिक हेल्थ सर्भिसको दरबन्दी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाको प्रमुखमा ४ बर्षदेखि कान्ति बाल अस्पतालका बिशेषज्ञ चिकित्सक डा. कृष्ण पौडेल काजमा कार्यरत छन् । सो पदको जिम्मेवारी लिने योग्यता पुगेका पब्लिक हेल्थका दर्जनौं चिकित्सक हुँदाहुँदै उनलाई काजमा राखिएको छ ।

    मन्त्रालयमा दरबन्दी अनुसारको महाशाखा प्रमुख नराखी कान्ति बाल अस्पतालका एक विशेषज्ञ चिकित्सकलाई काजमा ४ बर्षदेखि राख्नु एकातिर निजामती सेवा नियमावलीबिपरीत हो । अर्कोतिर बिरामीलाई एक बिशेषज्ञ चिकित्सकको सेवाबाट बिमुख गराउनु पनि हो । ३ महिनाभन्दा बढी काजमा राख्न पाइँदैन ।

    त्यस्तै, जनरल हेल्थ सर्भिसको दरबन्दी हुनुपर्ने स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको प्रमुखमा वीर अस्पतालका रेडियोलोजिष्ट डा. सरोज शर्मा छन् । उनी पनि १ बर्षभन्दा बढी समयदेखि महाशाखा प्रमुख छन् ।

    जनरल हेल्थ सर्भिसका सो पदका लागि थुप्रै जनशक्तिलाई जिम्मेवारी नदिई यसअघिका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले रेडियोलोजिष्टलाई दिएका थिए । जेनजी सरकारकी स्वास्थ्य मन्त्री डा. सुधा गौतमले पनि काजमा कार्यरत तिनै शर्मालाई महाशाखा प्रमुखमा निरन्तरता दिएकी छन् ।

    त्यसैगरी, नरदेवी आयुर्वेद अस्पतालमा दरबन्दी भएका आयुर्वेद चिकित्सक पुष्पराज पौडेललाई सचिव देवकोटाले मन्त्रालयमा सरुवादेखि ठेक्कापट्टाको बिचौलियाका रुपमा परिचालन गरेको आरोप छ । उनी स्वास्थ्य मन्त्रालयमा काजमा बसेको ५ बर्ष भइसकेको छ ।

    योजना तथा अनुगमन शाखाका उपसचिवलाई पेण्डुलम बनाएर सचिव देवकोटाले आयुर्वेदका चिकित्सक(कविराज)पौडेललाई हर्ताकर्ता बनाएका छन् । दरबन्दीका उपसचिवलाई जिम्मेवारीबिहीन जस्तै पारी सचिवले पौडेललाई काजमा राखी सुशासनको खिल्ली उडाउँदैआएका छन् ।

    डा. देवकोटाको सेटिङमा मन्त्री गौतमले स्वास्थ्य सेवा बिभागको महानिर्देशकदेखि ब्यवस्थापन महाशाखाको प्रमुखमा डमी प्रमुख बनाएको आरोप छ । सचिव देवकोटाको सेटिङमा औषधि उपकरणको ठेक्कादेखि बिभिन्न दबाब दिएपछि स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. टंक बराकोटीले राजीनामा दिएका थिए ।

    बराकोटीले अढाइ बर्ष अवधि बाँकी हुँदै राजीनामा दिएपछि रिक्त पदमा १२ औं तहका बरिष्ठ डा. श्रीकृष्ण श्रेष्ठलाई महानिर्देशक बनाउनुपर्नेमा सचिव देवकोटाको इशारामा नाच्ने डा. केशरबहादुर ढकाललाई मन्त्री गौतमले नियुक्त गरेकी छन् । यसअघि नै ब्यवस्थापन महाशाखाको प्रमुखमा अति नै सोझा प्रकृतिका केशव पण्डितलाई सचिवले लगिसकेका छन् ।

    ढकाल र पण्डित कार्यक्षमता कमजोर भएका भनेर चिनिन्छन् । औषधि उपकरण खरिददेखि सरुवाको सेटिङ आफैं गर्न सचिव देवकोटाले बिभाग र ब्यवस्थापन महाशाखाका प्रमुखमा एसम्यान र निर्णय क्षमता नै नभएकाहरुलाई प्रमुख बनाएको आरोप छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार