Logo
  • शनिवार, फाल्गुण १५ २०७७Feb 27 2021

आन्तरिक राजस्वमा महानिर्देशक अझै खालीः मैनालीको सरुवा नहुँदै होहल्ला

आन्तरिक राजस्वमा महानिर्देशक अझै खालीः मैनालीको सरुवा नहुँदै होहल्ला

नेपाल फेस

१, फाल्गुण २०७७
  • 9.3K
    SHARES

  • आन्तरिक राजस्वमा महानिर्देशक अझै खालीः मैनालीको सरुवा नहुँदै होहल्ला

    दीर्घराज मैनाली र रामप्रसाद आचार्य

    काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनालीलाई सरुवा गरिएको समाचार मंगलबार सबै मिडियाले लेखे । तर उनको बिहीबारसम्म पनि आन्तरिक राजस्व विभागको महानिर्देशकमा सरुवा भएको छैन । उनी राजस्व अनुसन्धान विभागकै महानिर्देशकका रुपमा काम गरिरहेका छन् । आन्तरिक राजस्व विभागको महानिर्देशकमा पठाउनका लागि सबैभन्दा पहिला अर्थमन्त्रालयमा सरुवा हुनुपर्छ ।

    प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागबाट मन्त्रिपरिषदले अर्थमन्त्रालयमा सरुवा गरेपछि अर्थले उनलाई आन्तरिक राजस्व विभागको महानिर्देशकमा पठाउने हो । तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव नै लगेको छैन, काज सरुवा पनि भएको छैन ।

    मन्त्रिपरिषदले निर्णय नै नगरेको अवस्थामा मैनालीलाई महानिर्देशकमा सरुवा गरिएको बिषय समाचारमाध्यमले लेखे ।

    अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले आन्तरिक राजस्व विभागको महानिर्देशकमा कसैलाई पनि नपठाइएको बताए । अर्थमन्त्रालयले पठाउने हो, अहिलेसम्म कसैलाई पनि खटाइएको छैन, उनले भने ।  
    आन्तरिक राजस्व विभागको महानिर्देशक विनोदबहादुर कुँवरको २०७७ पुस २१ मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा सरुवा भएपछि उक्त पद रिक्त छ । 
    मैनालीलाई आन्तरिक राजस्व विभागको महानिर्देशकमा सरुवा गर्न प्रधानमन्त्री केपी ओलीले नै जोडबल गरेका छन् । उनको सरुवा आन्तरिक राजस्व विभागमा हुने र राजस्व अनुसन्धान विभागमको महानिर्देशकमा रक्षा मन्त्रालयका सहसचिव रामप्रसाद आचार्यलाई पठाउने तयारी भइरहेको छ । आचार्य रक्षा मन्त्रालयको ब्यवस्थापन महाशाखा प्रमुख छन् । उनले यसअघि गृहमन्त्रालय अन्तर्गत मोरङ र काठमाडौं जस्ता महत्वपूर्ण जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरिसकेका छन् । उनी बिराटनगरकै भएकाले प्रधानमन्त्री केपी ओलीको रोजाइमा परेको चर्चा छ ।

    दीर्घराज मैनालीले राजस्व अनुसन्धान विभागमा ३३ महिना नेतृत्व सम्हाल्दा ३० अर्ब रुपैयाँ भन्दा बढी बिगो दाबी गरी अदालतमा मुद्दा दायर गरेका छन् । मैनाली २०७५ जेठ ७ मा राजस्व अनुसन्धान विभागको महानिर्देशकमा सरुवा भएका थिए । नक्कली भ्याटबिल प्रयोग गरी राष्ट्रिय अपराध गर्ने गिरोह पत्ता लगाई उनले दोषीलाई मुद्दा दायर गरेका छन् ।

    नक्कली भ्याटबिलको बारेमा मैनालीकै नेतृत्वमा अपरेसन गरी अनुसन्धान सुरु गरिएको थियो । राजस्व अनुसन्धान विभागमा देखाएको यही क्षमताले गर्दा प्रधानमन्त्री ओली उनलाई आन्तरिक राजस्व विभागमा पठाएर कर छली गर्नेहरुको दोहोलो काढ्ने पक्षमा छन् ।  

    शनिवार, फाल्गुण १ २०७७०९:०९:३७
    सम्बन्धित समाचार