Logo
  • बिहिवार, माघ ८ २०७७Jan 21 2021

images

निजामती अध्यादेश आउने चर्चा, कस कसलाई हुन्छ फाइदा ?

निजामती अध्यादेश आउने चर्चा, कस कसलाई हुन्छ फाइदा ?

नेपाल फेस

२६, पौष २०७७
  • 17.6K
    SHARES

  • निजामती अध्यादेश आउने चर्चा, कस कसलाई हुन्छ फाइदा ?

    काठमाडौं । प्रतिनिधिसभा भंग नभएसम्म संघीय निजामती सेवा ऐन पारित गर्न नसकेको सरकारले अध्यादेशमार्फत् संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरेको छ ।

     प्रतिनिधिसभा भंग नहुँदै संघीय निजामती सेवा ऐन राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भइसकेको थियो । तर प्रतिनिधिसभाबाट पारित गर्ने बिषयमा विभागीय मन्त्री हृदयेश त्रिपाठीले अत्तो थापे । अहिले प्रतिनिधिसभा पनि भंग भइसकेको छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट त्रिपाठीको सरुवा भइसकेको छ ।  

    संघीय निजामती सेवा ऐनमा दल निकट टे«ड यूनियनप्रति कठोर भएकाले यस अगाडि संसदबाट पारित हुन सकेको थिएन । अवकाश हुने बेलामा नायबसुब्बालाई बढुवा गर्ने विगतको प्रावधान पनि ऐनमा हटाइएको छ । लामो समयदेखि राज्य व्यवस्था समितिमा अड्किएको सो ऐन २०७७ असार १५ गते पारित भएको थियो ।

    ऐन पारित भएपछि तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले नै असहमति जनाउँदै सार्वजनिक रुपमा विरोध गरेका थिए । जसका कारण संसदबाट सो ऐन पारित हुन सकेको थिएन । त्रिपाठीले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेशले खटाउन सक्ने ब्यवस्था ऐनमा राख्न जोडबल गरेका थिए । तर प्रशासकहरुले स्थानीय तहमा संघको प्रतिनिधि हुनैपर्छ भन्ने अडान राख्दैआएका छन् । 

    मन्त्री र राज्यब्यवस्था समितिको तानातानमा परी संसदबाट पारित हुन नसकेको ऐन प्रतिनिधिसभा भंग गरेको मौका पारी अध्यादेशमार्फत् ल्याउन लागेको स्रोत बताउँछ । जुन ऐनमा निजामती कर्मचारीको अवकाशको उमेरहद ६० वर्ष बनाउन लागिएको छ । ६० वर्ष उमेरहद बनाउँदा अवकाशको मुखमा रहेका केही सचिव र सहसचिवहरुलाई फाइदा पुग्नेछ ।

      अध्यादेशले गर्दा जागिर अवधि थपिनेहरुमा कर्णाली प्रदेशका प्रमुख सचिव चन्द्रमान श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका गोपी मैनाली, गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपाल, सूचना तथा संचार प्रविधि मन्त्रालयका सचिव हरि बस्याल हुन् । यिनीहरु सबैको जागिर अवधि दुई वर्ष थपिनेछ । अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनी, प्रधानमन्त्री कार्यालयका डा.तीर्थराज ढकाललाई पनि फाइदा पुग्नेछ । यी सचिवहरु प्राय सबै आगामी असारभित्र अवकाश हुने सूचीमा छन् । 

    त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव मधुसुदन अधिकारी, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव माधव बेल्बासेलाई पनि फाइदा पुग्नेछ । उनीहरु पनि यही असारभित्र अवकाश हुनेछन् । 

    साठी वर्षे लागु हुँदा सचिव बढुवाको सूचीमा रहेका सहसचिवहरुलाई भने बेफाइदा हुनेछ । उनीहरुको बढुवा २ वर्ष पर धकेलिनेछ । सहसचिव बढुवाका आकांक्षी उपसचिव हुने लाइनमा रहेका शाखा अधिकृतहरुलाई पनि उमेरहद बढाउँदा बढुवा हुने समय पनि पर सर्नेछ । अवकाशको मुखमा रहेका र उमेरहद ५८ को नजिक रहेका सचिवहरु सकेसम्म अध्यादेशबाट निजामती सेवा ऐन ल्याउने र उमेरहद ५८ बाट ६० वर्ष बनाउन पहल गरिरहेका छन् ।

    दुई वर्ष अवधि जागिर बढाउन पाइने भएकाले ५८ वर्षको नजिक रहेका शाखा अधिकृतदेखि सहसचिवसम्म पनि ६० वर्षे प्रावधान राखेर अध्यादेश ल्याउन लबिङ गरिरहेका छन् । 

    आइतवार, पौष २६ २०७७०८:२१:११
    सम्बन्धित समाचार