Logo
  • शनिवार, फाल्गुण १५ २०७७Feb 27 2021

प्रधानमन्त्री ओलीका अमर्यादित अभिब्यक्तिः हतास मनस्थितिको उपज

प्रधानमन्त्री ओलीका अमर्यादित अभिब्यक्तिः हतास मनस्थितिको उपज

माधव पौडेल

२०, पौष २०७७
  • 18.4K
    SHARES

  • प्रधानमन्त्री ओलीका अमर्यादित अभिब्यक्तिः हतास मनस्थितिको उपज

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाई बहुमत प्राप्त नेकपारुपी घरमा आगो झोसेर खरानी बनाएपछि त्यही घसेर अहिले आफ्नै सहयोद्धाहरुमाथि बिषबमन गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाएका छन् । प्रधानमन्त्री ओलीका शनिबार र आइतबारका भाषण सुन्दा उनी कतिसम्म असहिष्णु रहेछन् भन्ने छर्लङ्ग भएको छ । मुलुकको प्रधानमन्त्रीले आफ्नै सहयोद्धाको मृत्युको कामना गर्दै शहीद भएको भए श्रद्धान्जली दिनुहुन्थ्यो भन्नसम्म बाँकी राखेनन् । पार्टीको बहुमतले दिएको निर्देशन नमानी आफ्नो पद संकटमा परेपछि संसद नै भंग गरेका प्रधानमन्त्री ओली अहिले पिलो निचोरिएको, भेट्नु कुहिएर झरेको फलको संज्ञा दिन पछि परेका छैनन् । 

    २०६४ को संविधानसभा निर्वाचनमा माओवादीलाई कम आँक्दा जिल्लास्तरीय नेता विश्वदीप लिङ्देनसँग उनी पराजीत भएका थिए । त्यो कुरालाई पनि उनले हेक्का राख्नुपर्छ । माओवादी केन्द्रसँग नमिलेको भए एमालेको हैसियत कांग्रेस बराबर हुने त समानुपातिक मत परिणाम हेरे पनि प्रष्ट भइहाल्छ । माओवादीसँग नमिले बहुमत नआउने कुरा घामजत्तिकै छर्लङ्ग देखेरै उनी रातारात एकता गर्न पुगेको जगजाहेर छ । माओवादी एक्लै हुँदा त ऊसँग नमिले सत्तारोहण असम्भव देखेर घाँटी जोड्न पुगेका ओली एमालेको आधा शक्तिसहित पूर्वप्रधानमन्त्री र पार्टीको नेतृत्व गरिसकेका माधवकुमार नेपाल र झलनाथ खनालसमेत गएको अवस्थामा बहुमत ल्याउने हवाई कल्पनामा रमाइरहेका छन् । उनी अति तल्लोस्तरमा उत्रिएर पिलो र कुहिएको भेट्नुसँग नेकपाका नेताहरुलाई तुलना गरिरहेका छन् । उनको यही दम्भ र अहंकारले उनको समूह आगामी चुनावमा नराम्रो परिणाम बेहोर्नुपर्ने छ । यद्यपि उनी चुनाव नै नगरी २–४ बर्ष सत्तामा बसिरहने मृगतृष्णामा छन् ।

    अमेरिका र भारतले एमसीसी पास गर्ने गरी आफूलाई सत्तामा राखिराख्ने आशामा उनी छन् । कम्तीमा २ बर्ष चुनाव नगरी सत्तामा टिक्ने मनसुवा उनको छ । चुनाव घोषणा मात्र गरिएको हो, गर्नका लागि होइन भन्ने त ओलीनिकट नेताहरुका अभिब्यक्तिबाटै बुझ्न सकिन्छ ।

     ओली कामचलाउ नै भए पनि देशका प्रधानमन्त्री हुन् । अरु भन्दा उनी जिम्मेवार हुनुपर्छ । तर उनी नै सबैभन्दा बढी गैरजिम्मेवार अभिब्यक्ति दिंदै हिंडेका छन् । निर्वाचन आयोग र सर्वोच्च अदालतको बिषयमा उनले दिएका अभिब्यक्तिले पनि उनको गैरजिम्मेवारीपनलाई उदांगो बनाएको छ ।  

    निर्वाचना आयोगले निर्णय नै नगरी नेकपा र सूर्य चिह्न आफूले नै पाएको, आफू नै आधिकारिक भएको भन्दै सवैधानिक आयोगको क्षेत्राधिकारमा पनि हस्तक्षेप गर्न थालेका छन् । निर्वाचन आयोगले उनले झुटो बोलेको भनेर खण्डन नै गर्नुपरेको छ । 

    प्रतिनिधिसभा विघटनबारेमा आइतबार सर्वोच्च अदालतलाई पठाएको जवाफमा पनि उनले अदालतले यो मुद्दा हेर्नै मिल्दैन भनेर स्वतन्त्र न्यायपालिकामाथि नै प्रहार गरेका छन् । असंवैधानिक रुपमा बिघटन गरेको प्रतिनिधिसभा पुनस्र्थापना अदालतबाट हुने भय उनमा ब्याप्त रहेको उनको जवाफबाट पनि देखिन्छ । प्रधानमन्त्रीका निकट नेकपा नेता सुवास नेम्वाङदेखि पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश सबैले प्रतिनिधिसभाको बिघटन असंवैधानिक भएको टिप्पणी गरिसकेका छन् । तर उनी संविधानमा हुँदै नभएको प्रतिनिधिसभा बिघटनको बिषयमा अदालत प्रवेश गर्नै नहुने भन्दै आएका छन् । अदालतलाई पठाएको जवाफमा पनि उनले त्यही कुरा दोहोर्याएका छन् ।

    भीम रावलले बोल्दै नबोलेको बिषयमा एक अनलाइनले प्रकाशित गरेको समाचारका आधारमा पनि प्रधानमन्त्रीले भाषण गरेका छन् । जुन समाचार लेख्ने अनलाइनले समेत खण्डन गरिसकेको छ ।

    ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा बिघटन गरेको बिषयमा सबै तह र तप्काले बिरोध गरेपछि उनमा थप भय देखिएको छ । उनका पछिल्ला अभिब्यक्ति त्यही भयका उपजका रुपमा लिइएको छ । अदालतमा विचाराधीन बिषयमा उनले जसरी प्रतिनिधिसभा पुनस्र्थापना हुनै नसक्ने अभिब्यक्ति दिएका छन्, त्यो उनभित्र रहेको हतासाको अभिब्यक्ति हो । 

    सोमवार, पौष २० २०७७०८:१४:३३
    सम्बन्धित समाचार